निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलन ’हाइज्याक’, मध्यरातमा मागियो प्रधानमन्त्रीको राजीनामा

जेनजी आन्दोलन ’हाइज्याक’, मध्यरातमा मागियो प्रधानमन्त्रीको राजीनामा

983
SHARES

काठमाडौं – जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुदन गुरुङ उग्र बनेका छन्। उनको समूहले नै पदभार ग्रहण गरेकी दिन प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ।

मध्यराति बालुवाटार पुगेर गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेको हो।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारका सदस्य समेत सहभागी नाराबाजीका क्रममा कार्कीको राजीनामा मागिएको थियो।

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा सुशीला कार्की गत शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी हुन्। तर, गुरुङले जसरी कुर्सीमा राख्यो त्यसरी थुत्ने धम्की समेत दिएका छन्।

शहीद परिवारको माग सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने उनले चेतावनी दिए।

कार्कीले काठमाडौं महानगरका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको चर्चा थियो।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार शपथ गराउने तयारी छ। तर, सुदनको समूह आफूहरूसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ।

सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएरै आक्रोश पोखेका छन्। सुदनका समर्थकहरूले आफूहरूको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए।

यद्यपि गुरुङले नै आन्दोलन हाइज्याक गरेको अर्को समूहको आरोप छ। त्यसयता जेनजी समूहको खास नेतृत्व को? भन्नेमा भाँडभैलो देखिएको थियो। यही बीचमा घाइते र मृतकका परिवारले गुरुङलाई नेता भएकाले जिम्मा लिन भनेयता उनी भड्किएका छन्।

जेनजी आन्दोलनका बारेमा काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भाँडभैलो नै मच्चिएको छ। आफूलाई आन्दोलनको अगुवा दाबी गरेका सुदन गुरुङले पत्रकार सम्मेलन गरेका थिए।

पत्रकारहरूसँग चर्काचर्की परेपछि सुरु भएको विवाद कुटाकुटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको ’बा’लाई हटाएर ७३ वर्षको ’आमा’लाई ल्याएर कसरी परिवर्तन भयो? भन्ने प्रश्नमा गुरुङले आक्रोशित हुँदै जवाफ फर्काएपछि कुटाकुटको अवस्था सिर्जना भएको हो।

गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट बाहिर निस्कनै नदिने समेत बताएका छन्। गुरुङलाई जेनजी आन्दोलन ’हाइज्याक’ गरेको आरोप लागिरहेको छ।

आन्दोलनको बेला गुरुङले आन्दोलनको नेता तथा आयोजक आफू नभई स्वयंसेवकका रूपमा मात्रै सडकमा आएको बताएको भिडियो सार्वजनिक भइसकेको छ।

भदौ २३ गतेदेखि भूमिगत रहेका जेनजी आन्दोलनका अगुवा युवा मिराज ढुङ्गानाले आफू सुरक्षित रहेको बताएका छन्।

जेनजी आन्दोलनका वास्तविक नेता मिराज कहीँकतै नदेखिएपछि उनलाई कैद गरिएको भन्दै सार्वजनिक गर्न सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो।

सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश दिँदै उनले आफूलाई कसैले कैद नगरेको बताए।

समाचार शेयर गर्नुहोस्
983
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.