निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनीजी प्रदर्शनमा लुटपाट मच्चाउनेहरूको भागाभाग

जेनीजी प्रदर्शनमा लुटपाट मच्चाउनेहरूको भागाभाग

1.2k
SHARES

काठमाडौँ – जेनीजी प्रदर्शनका क्रममा लुटपाट मच्चाउनेहरूको भागाभाग हुन थालेको छ। सामाजिक सञ्जालमार्फत चोरीमा संलग्नहरूको फोटो तथा भिडियोहरू धमाधम सार्वजनिक हुन थालेसँगै लुटेराहरू भूमिगत हुन थालेका छन्।

कतिपयले भने लुटेर लगेका सामानहरू सम्बन्धित व्यक्ति र संस्थालाई नै बुझाउन थालेको प्रहरीले जनाएको छ। प्रहरीले लुटपाटमा संलग्न तथा लुटपाटका समान खरिद बिक्री गर्नेलाई कडा कारबाही हुने चेतावनी दिएको छ।

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रिएकाहरू स्वयम् सामाजिक सञ्जालकै कारण फन्दामा परेका छन्। भ्रष्टाचार मुक्त मुलुक हुनुपर्ने तथा सुशासन कायम गर्नुपर्ने माग राखेर प्रदर्शनमा होमिएका युवाहरू आफैँले भने कुर्सी देखि थाल सम्म चोर्न भ्याए।

प्रदर्शनका क्रममा देशका सरकारी कार्यालयबाट करोडौँका समानहरू चोरी भएका छन्। राष्ट्रपति कार्यालय देखि प्रहरी चौकी सम्मका सामानहरू चोरी भएका छन्।

जनजीवन सामान्य बनेसँगै विभिन्न निकायहरूले लुटिएका सामानहरू फिर्ता ल्याउन उर्दी नै जारी गरेका छन्। सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै मालसामान फिर्ता गर्न तथा चोरीमा संलग्नहरूको सूचना दिन भनेको छ।

नयाँ बानेश्वर स्थित संसद् भवनबाट टेबल कुर्सी देखि फोटोकपी मेसिन सम्मका सामान चोरी भएको उपसचिव अधिराज राईले जानकारी दिए।

राष्ट्रपति कार्यालयबाट पनि कम्प्युटर, ल्यापटप, कुर्सी लगायतका सामानहरू लुटपाट भएको छ। राष्ट्रपति कार्यालयको प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाले पनि एक सूचना जारी गर्दै फिर्ता गर्न भनेको छ।

यदि कुनै माध्यमबाट उक्त सामानहरू पुगेको भए बुझाउन तथा लुटपाटमा संलग्नहरूको बारेमा सूचना दिन भनिएको छ।

सूचना दिनेहरूको नाम गोप्य राखिने शाखाले जनाएको छ। लुटपाट तथा चोरीमा संलग्न कर्मचारी तथा दलका सदस्यता लिएकाहरूलाई पनि कारबाही गर्ने भनिएको छ।

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.