निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलनमा ७३ जनाको मृत्यु, चार जनाको राजकीय सम्मानका साथ अन्त्येष्टि

जेनजी आन्दोलनमा ७३ जनाको मृत्यु, चार जनाको राजकीय सम्मानका साथ अन्त्येष्टि

938
SHARES

काठमाडौं – भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको छ। जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम सकिएको छ।

पोस्टमार्टम भएका सबै शव परिवारले बुझिसकेका छन्। हालसम्म फोरेन्सिक विभागमा पुगेका शवमध्ये ७ वटा पूर्ण जलेको अवस्थामा छन्। केही दिनपछि ती शवको पोस्टमार्टमको पनि प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार जेनजी प्रदर्शनका क्रममा देशभर २ हजार ३१६ जना घाइते भएका छन्। जसमध्ये हाल २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका चार जनाको मङ्गलवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मृतकहरूको पोस्टमार्टम गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दिउँसो शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा ४ जनाको अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झन्डा ओढाएर शहीदहरूलाई सम्मान प्रकट गरे भने सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गर्‍यो।

शवयात्रामा मृतकका आफन्त, जेनजी आन्दोलनका अगुवा, सर्वसाधारणसमेत सहभागी थिए। उनीहरूले शहीदहरूप्रति सम्मान भाव प्रकट गर्दै शहीदको रगत खेर नजाओस् भन्दै खबरदारी गरे।

आन्दोलनमा ज्यान गुमाएका ६ जनाको शव भने नेपाली सेनाले गृह जिल्ला पुर्‍याएको छ। उदयपुरमा दुई जना र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा १/१ जनाको शव पठाइएको नेपाली सेनाले जनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निःशुल्क रूपमा शव पठाउने निर्णय गरेअनुसार नेपाली सेनाले हेलिकोप्टर मार्फत शव पुर्‍याएको हो।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

अन्तरिम सरकारले राष्ट्रिय शोक घोषणा गर्दै बुधवार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिनुका साथै शहीदहरूको सम्मानमा सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भनिएको छ।

समाचार शेयर गर्नुहोस्
938
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.