काठमाडौं — जेनजी पुस्ताले अन्तरिम सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भए आन्दोलन फेरि ब्युँतिने चेतावनी दिएका छन्। यो परिवर्तनपछि पनि वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसके आफूहरू आन्दोलनमा उत्रिने जनकपुरका जेनजी युवा राजु शाहले चेतावनी दिए।
जेनजी आन्दोलनले प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि राखेको छ। आन्दोलनका मागअनुसार अन्तरिम सरकारले काम गर्नुपर्ने दबाब जेनजीहरूले दिएका छन्। प्रदेश संरचना खारेज गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ, तर अहिले संसद् छैन।
विघटित संसदमा पनि प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठेको थियो। जेनजी पुस्ताले प्रदेश संरचना दलका नेता र कार्यकर्ता पाल्नकै लागि भएको आरोप लगाउँदै आएको छ। जनकपुरका जेनजी पुस्ताका राजु शाहले प्रदेश सरकारको काम देखिन नसकेको बताए।
एन्टी करप्सन मुभमेन्ट, अर्थात् भ्रष्टाचार विरोधी आन्दोलनले सत्ता परिवर्तन भए पनि छानबिन सुरु छैन। भ्रष्टाचार छानबिन आयोग गठनबारे सरकार अझै छलफलमै रहेको भन्दै जेनजी युवा आदर्श शाहले अहिलेको अन्तरिम सरकारले पनि भ्रष्टाचार नगर्ने दिशामा सचेत हुने अपेक्षा व्यक्त गरे।
अहिलेको अन्तरिम सरकारले गर्ने निर्णयले जनताको अवस्थामा सुधार ल्याउनुपर्ने जेनजी प्रवेश दाहालले बताएका छन्।
दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले पुराना राजनीतिक दलहरूलाई पुनः सक्रिय हुन नदिने चेतावनी दिए। जेनजी आन्दोलन पुराना दलप्रतिको आक्रोशको परिणाम भएको बताउँदै उनले लुटपाट र आगजनीमा संलग्न हुनेभन्दा बढी, यस्तो अवस्था सिर्जना गर्नेहरूलाई कारबाही गर्नुपर्ने धारणा राखे। लामो समयदेखि राज्यसत्तामा रहेर देशलाई थला पार्ने तानासाही प्रवृत्ति ढाल्न जेनजी पुस्ता अघि बढेको उनको भनाइ छ।
सुनारले अहिलेको अन्तरिम सरकार पनि समावेशी हुनुपर्ने माग अघि सारे।
सरकारले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको विवरण चाँडै सार्वजनिक गर्ने बताएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन गर्ने क्रममा विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए।
काठमाडौं मात्र नभई देशभर ठुलो क्षति भएको भन्दै उनले क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्ययोजना रहेको बताए।
साथै, उनले अब फागुनमा हुने निर्वाचनबाट चुनिएर आउने सांसदहरूले सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनमै प्रवेश पाउने स्पष्ट पारे। यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनलाई संसद् बैठक सञ्चालन गर्नका लागि भाडामा लिएको थियो। तर जेनजी आन्दोलनका क्रममा सो भवन ध्वस्त भएको छ।
सरकारले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा परेका सवारीसाधन, उपकरण र फर्निचरलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपार्ने भएको छ।
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले जलेर वा ध्वस्त भएका सम्पूर्ण सामग्रीलाई सिंहदरबारबाट सम्मेलन केन्द्रको पछाडिपट्टि सार्ने र त्यहाँबाट लिलामी वा नष्ट गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवनलगायतका सरकारी तथा निजी भवनमा आगजनी भएको थियो।
गृह मन्त्रालयका अनुसार देशभर २६३ सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४२ कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। साथै, ८२ प्रहरी कार्यालय पूर्ण रूपमा र १२४ आंशिक रूपमा ध्वस्त भएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.