काठमाडौं — संविधान दिवसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओली सार्वजनिक भएनन्। सैनिक मञ्च टुँडिखेलदेखि राष्ट्रपति कार्यालय शीतल निवाससम्म दुवै अनुपस्थित रहे।
नेपाली कांग्रेसका सभापति देउवा सैनिक अस्पतालमा उपचाररत छन्। कांग्रेस नेता मिन विश्वकर्माका अनुसार देउवाको टाउकोमा १२ टाँका लागेको छ। बोल्न र हिँडडुल गर्न सक्ने अवस्थामा रहेका देउवाले अस्पतालको शय्याबाटै संविधान दिवसको शुभकामना दिए।
गत भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमै जेनजी आन्दोलनको नाममा भएको कुटपिटका क्रममा देउवा घाइते भएका थिए। पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा फेरि प्रधानमन्त्री बन्ने आशामा दिन गन्दै बसेको बेला आफ्नै निवासमा आक्रमण सहनु परेको हो।
२०४८ सालदेखि २०७९ सम्मका आमनिर्वाचनमा लगातार विजयी हुँदै आएका देउवा आफ्नै घरमै असुरक्षित बन्न पुगे। उद्धार गरी ज्यान जोगाउनुपर्ने अवस्था आयो।
नेपाली कांग्रेसको स्थापना कालदेखि नै पार्टीभित्र नेतृत्व सङ्घर्ष रहँदै आएको छ। बिपी कोइरालाले सुरु गरेको पार्टी देउवा गुटसम्म आइपुग्दा आन्तरिक प्रतिस्पर्धा मर्न दिएको छैन। नेताहरूको अभिव्यक्तिमा पनि देउवामाथि ‘समान अवसर’ को नारा दोहोरिने गर्थ्यो।
यतिबेला भने देउवा बाह्य आक्रमणको शिकार बने। सरकारका राजनीतिक नियुक्तिमा आफूनिकटलाई मात्रै अवसर दिएको आरोप कांग्रेस नेताहरूले नै लगाउँदै आएका थिए। देउवा पनि पार्टीभित्र अर्को व्यक्तिलाई अघि सार्न तयार थिएनन्। संसदीय दलको नेतृत्वसमेत उनले छोड्न चाहेनन्। आफ्ना विश्वासपात्रलाई पनि अगाडि सार्न नचाहेका देउवा अभिभावकको भूमिकाभन्दा सक्रिय राजनीतिमा रमाइरहेका थिए। तर हाल भने घाइते बनेका छन्।
जेनजी आन्दोलनकै नाममा घाइते बनेका देउवाको उपचार अस्पतालमै गर्नुपर्ने अवस्था आयो। यसकै कारण कांग्रेसले आन्दोलनको समीक्षा गर्न पनि एक साता ढिलाइ गर्यो।
शुक्रवार सभापति देउवाको अनुपस्थितिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले भदौ २३ र २४ गतेको प्रदर्शनको समीक्षा गर्यो। बैठकले नेपाल आमाका महान् सुपुत्रहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा संवेदना प्रकट गर्यो। प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा गम्भीरता देखाउन माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्यो। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग पनि गर्यो।
बैठकले सभापति देउवा र कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको अमानवीय आक्रमणको कडा निन्दा गर्यो। निजी निवासमा भएको आगजनी, तोडफोड र लुटपाट को भर्त्सना गर्दै देउवादम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्यो।
भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड, आगजनी र लुटपाटलाई आपराधिक समूहको संलग्नता भएको कांग्रेसको ठहर छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको छ।
बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रपति भवन, सिंहदरबार, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको विराटनगरस्थित निवास, सर्वोच्च नेता गणेशमान सिंहको चाक्सीबारीस्थित निवास, किसुनजीको आश्रम, व्यावसायिक प्रतिष्ठान, ऐतिहासिक स्थल, कांग्रेसका कार्यालयदेखि अन्य लोकतान्त्रिक दलका कार्यालय, नेताहरूको निजी घर–डेरा, सर्वसाधारणका सम्पत्ति लगायत सार्वजनिक तथा निजी संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटबाट खर्बौँ मूल्यको क्षति भएको तथ्य उल्लेख गर्दै घटनाप्रति कडा निन्दा गरिएको छ। दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग पनि गरिएको छ।
नागरिक सरकारको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलन छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरिसकेको छ। आयोगले एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने भने पनि सदस्यहरूको नाम टुङ्गो लागिसकेको छैन।
कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै संविधानको मर्म विपरीत रहेको बताएको छ। यस कदमले लोकतान्त्रिक उपलब्धि धरापमा परेको भन्दै मुलुकको राजनीतिक निकास संविधानभित्रै खोज्नुपर्ने ठहर गरेको छ।
संविधान दिवसको दिन बसेको कांग्रेस बैठकले विशेष परिस्थिति समाधानको बाटो पनि संविधानले नै देखाउने भन्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षार्थ विभिन्न दल र नागरिक समाजसँग परामर्श गरी नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ।
बैठकले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायजस्ता जेनजी पुस्ताले अघि सारेका जायज माग आत्मसात् गर्ने निर्णय गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसले ती मागलाई विधिवत् सम्बोधन गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख छ।
फागुन २१ गते हुने निर्वाचनबारे भने कांग्रेस बैठकले विज्ञप्तिमा कुनै जानकारी दिएको छैन। संसद् विघटनलाई भने असंवैधानिक ठहर गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.