निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

खनाल–घिसिङ सक्रिय, २४ सै घण्टा गुनासो सुन्ने

खनाल–घिसिङ सक्रिय, २४ सै घण्टा गुनासो सुन्ने

924
SHARES

काठमाडौं — जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारका मन्त्रीहरू एक्सनमा उत्रिएका छन्। शनिवार अर्थमन्त्री रामेश्वर खनालले ब्याज अनुदानका लागि रकम निकासा गरे भने ऊर्जा, जलस्रोत, सहरी विकास तथा भौतिक पूर्वाधार र यातायात मन्त्री कुलमान घिसिङले मन्त्रालयमा आकस्मिक बैठक बोलाएर छलफल गरे।

सरकारका मन्त्रीहरूले बिदाका दिन सरकारी सेवा नरोकिने गरी काम गर्ने सङ्केत दिएका छन्। सरकार गठन भएको एक साता पुग्दा पनि मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन। पहिलो चरणमै नियुक्त भएका अर्थमन्त्री खनाल र भौतिक पूर्वाधारमन्त्री घिसिङ भने सक्रिय रूपमा काम देखाउन थालेका छन्।

अर्थ मन्त्रालयले शनिवार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको जनाएको छ।

लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैङ्कमार्फत पाउन नसकेकोमा, रकम निकासा भएसँगै कर्जा विस्तार सहज हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री खनालले शनिवार नै जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको सतुंगलस्थित चौधरी ग्रुपको ‘सिजी डिजिटल पार्क’ अवलोकन गरे। क्षतिग्रस्त संरचना अवलोकन गर्दै उनले आन्दोलनका कारण अर्बौँ रुपैयाँ बराबरको क्षति बेहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

२४ सै घण्टा गुनासो सुन्ने व्यवस्था

ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले २४ सै घण्टा यात्रुको गुनासो सुन्ने र सडक अवरोध तुरुन्तै हटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।

सरकारले दसैँ र तिहारलाई लक्षित गर्दै नागढुंगा–सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनलाई नागढुंगा–सिस्नेरी–सुरुङमार्गमार्फत बाहिर पठाउने र दसैँपछि प्रवेशसमेत गर्न दिने व्यवस्था मिलाइने भएको छ। अहिले सुरुङमार्गलाई परीक्षण सञ्चालनमा ल्याउने तयारी भइरहेको घिसिङले बताए।

जनताको सुरक्षाका लागि नयाँ बसपार्क तथा विभिन्न राजमार्गमा प्रहरी गस्ती बढाउने, प्रहरी सङ्ख्या थप्ने र गृह मन्त्रालयमार्फत निर्देशन दिने तयारी गरिएको छ।

राजमार्गको कमजोर अवस्था र यात्रुवाहक सवारीलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठुला भारबहन सवारी चलाउन नदिने निर्णय गरिएको छ। तर खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर आवागमनको व्यवस्था मिलाइनेछ।

सिंहदरबारमा रङरोगन

जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको सिंहदरबारमा अहिले धमाधम मर्मतसम्भार र रङरोगन सुरु गरिएको छ। आगोले जलेका भित्ताहरू धुने, कालो भाग मेटाउने, झ्यालढोका, टेबुल, कुर्सी, सोफा जस्ता क्षतिग्रस्त फर्निचर हटाउने र मर्मत गर्ने काम भइरहेको छ।

आगजनीमा नष्ट भएका करिब एक हजार सवारीसाधनको व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको छ। सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयले आफ्नै पहलमा काम सुरु गरे पनि बाँकी मन्त्रालयको काम कार्यालयले अघि बढाएको छ।

कैदीहरू धमाधम सम्पर्कमा

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी धमाधम प्रहरी सम्पर्कमा आउन थालेका छन्। कारागार व्यवस्थापन विभागका अनुसार शनिवारसम्म ६ हजार ३२८ जना कैदी सम्पर्कमा आएका छन्। तीमध्ये कारागारतर्फ ५ हजार ९८७ र सुधार गृहतर्फ ३४१ जना रहेका छन्।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट १४ हजार ५५५ जना कैदी फरार भएका थिए। अझै ८ हजार २२६ जना कैदी फरार रहेको विभागले जनाएको छ।

देशभर ३० हजार ६३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्र कैदीबन्दी रहेका छन्।

समाचार शेयर गर्नुहोस्
924
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.