काठमाडौं — जेनजी आन्दोलनले व्यवस्था मात्र परिवर्तन गरेको भन्दै आन्दोलनका क्रममा घाइते भएका र घाइतेका परिवार सरकारसँग रुष्ट बनेका छन्। उनीहरूले भ्रष्टाचार विरुद्ध कारबाही नगरी सरकारले पुरानै अभ्यासलाई निरन्तरता दिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
जेनजी आन्दोलन परिवर्तनका लागि, सुशासन र पारदर्शिताको पक्षमा तथा भ्रष्टाचारको विरोधमा सुरु भएको हो। तर भ्रष्टाचारीलाई कारबाही गरिहाल्नु पर्नेमा कुनै कदम देखिएको छैन। जेनजी आन्दोलनको बलिदानलाई सरकारले बेवास्ता गरेको भन्दै घाइते परिवार सरस्वती रावलले भनिन्,“हाम्रो बलिदानी खेर जाने अवस्था आयो भने म फेरि पनि गोली खान तयार छु।”
उनले हाल जेनजीको नाममा विभिन्न समूह बनेर व्यक्तिगत लाभ खोज्ने प्रवृत्ति देखिएको आरोप लगाइन्। “जेनजीको नाममा दुई–चार वटा समूह देखिएका छन्। आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको छ,” उनले भनिन्।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पुराना दलका नेताहरू फेरि टाउको उठाउन थालेको भन्दै प्रतिवाद गर्न आह्वान गरे। “हामीलाई नक्कली जेनजी र सक्कली जेनजी भनेर विभाजन गर्न खोजिएको छ। म मन्त्री बनेको छैन, अहिलेको मन्त्रिपरिषद्मा कसैलाई पद दिएको पनि छैन। राष्ट्रका लागि योगदानमै लागेको छु,” गुरुङले बताए।
संविधान दिवसको अवसरमा आफू राष्ट्रपति भवन शीतल निवासमा कुनै समारोहमा नगएको स्पष्ट पार्दै उनले थपे, “पुरानै दलका पुरानै नेताहरू फेरि शिर उठाएर नहिँडुन् भनेर मैले कांग्रेस महामन्त्री गगन थापालाई समेत भनेको छु।”
जेनजी नेपाल नामक समूह बनाएका नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्द पन्थीले अवस्था जस्ताको त्यस्तै छ, व्यवस्था मात्र परिवर्तन भएको बताए। जेनजीको बलिदानले ल्याएको भावना सरकारले आत्मसात् गर्न सक्नुपर्छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले संसद् विघटनलाई असंवैधानिक ठहर गरे पनि नेता शेखर कोइरालाले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलनले क्षतिग्रस्त कोइराला निवासको अवलोकनका क्रममा उनले पार्टीका नेता–कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशनसमेत दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिसकेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.