निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलनपछि पुराना दलहरूमा नेतृत्व सङ्कट

जेनजी आन्दोलनपछि पुराना दलहरूमा नेतृत्व सङ्कट

790
SHARES

काठमाडौं — जेनजी आन्दोलनका कारण पुराना राजनीतिक दलहरूभित्र पार्टीको पुनर्संरचना गर्न दबाब बढ्दै गएकाे छ। युवा पुस्ताले राजनीतिक दलका नेताहरूलाई किनारा लगाएउने संकेत दिएपछि दलहरू ‘सच्चिने कि सक्किने’ भन्ने दोसाँधमा पुगेका छन्।

जेनजी आन्दोलनको भावना बुझेर जनतामा भरोसा जगाउनुपर्ने माग दलभित्र उठेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने मत तीव्र रूपमा बढ्दै गएको छ।

सोही दबाब थेग्न नसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटीहरू भङ्ग गर्ने प्रस्ताव गरेका छन्। प्रचण्डको महाधिवेशनमार्फत पुनः अध्यक्ष बनेर आउने योजनाअनुसार प्रस्ताव आएको दाबी पनि गरिएको छ।

पदाधिकारी बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति, नातावाद–कृपावाद र सत्तामा बस्नेहरूले गरेको अनियमितता अन्त्यको मागसहित जेनजी आन्दोलन उठेको हो। आन्दोलनको २७ घण्टामै एमाले र कांग्रेस सत्ता च्युत भए तर दलहरूले सच्चिने कुनै सङ्केत देखाएनन्। भ्रष्टाचार समेत कम भएन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैतिसौँ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २८ हजार ५५४ उजुरी परेको छ। अघिल्लो वर्षसम्मको समेट्दा कुल उजुरीको सङ्ख्या ३७ हजार २६ पुगेको आयोगले जनाएको छ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा २९ हजार ७०३ वटा उजुरी फर्छ्योट भएको उल्लेख छ। मन्त्रालयगत, निकायगत प्रगति ८०.२ प्रतिशत रहेको आयोगको विवरणमा उल्लेख छ।

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ६७८ उजुरीमध्ये ६१७ फर्छ्योट भएका छन्। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी २ हजार ३४६ उजुरीमध्ये १ हजार ८६७ फर्छ्योट भएका छन्।

स्थानीय तहको शिक्षामा अत्यधिक अनियमितता भएको उजुरी आयोगमा परेको छ। ४ हजार १७३ उजुरीमध्ये ३ हजार ४७५ फर्छ्योट भएका छन्। आयोगको विवरणअनुसार अनियमितता नभएको निकाय पाउन कठिन देखिएको छ।

जताततै भ्रष्टाचार फैलिएपछि उठेको आन्दोलनले राजनीतिक दललाई सच्चिने अवसर दिएको छ। तर, दलहरू घुमिफिरी उही नेतृत्वलाई बोकेर हिँडिरहेका छन्। शीर्ष नेताहरू सजिलै नेतृत्व हस्तान्तरण गर्न तयार देखिएका छैनन्।

कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग

नेपाली कांग्रेसभित्र पनि नेतृत्व परिवर्तनको माग उठेको छ। महामन्त्री गगन थापाले जेनजी आन्दोलनको भावना अनुसार पार्टीलाई पुनर्गठन गर्नु अपरिहार्य रहेको बताए। पार्टीलाई जस्ताकोतस्तै राखेर टिकाउन नसकिने भएकाले आन्दोलनमा व्यक्त भावना अनुसार पार्टी सञ्चालन हुनुपर्ने उनको धारणा छ।

प्रतिनिधि सभा विघटनपछि निर्वाचनको मिति घोषणा भएको छ, जसलाई लोकतान्त्रिक व्यवस्था अनुसारको शासन पद्धति बहाल गर्ने अवसरका रूपमा हेरिएको छ।

तर विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका एमाले र कांग्रेस भने प्रतिनिधि सभा विघटन भएकोमा दुःख व्यक्त गरिरहेका छन्। यी दलहरू जनतामा भरोसा जगाउन नसके आगामी चुनावमा फर्किन कठिन हुने देखिन्छ।

एउटै दलका नेताहरू फरकफरक धारणा सार्वजनिक गरिरहेका कारण कांग्रेसभित्र आधिकारिक धारणा पाउन कठिन भएको छ। यो अवस्था सभापति शेरबहादुर देउवा घाइते भएर अस्पतालमा उपचाररत रहँदा आएको नेताहरूको तर्क छ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति देउवामाथि साङ्घातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तनको कुरा गर्नु गलत भएको टिप्पणी गरे। उनले सभापति देउवाको घाउ निको नभएको अवस्थामा नेतृत्व परिवर्तनको बहस गरेर नुन छर्ने काम भएको आरोप लगाए।

क्षतिको विवरण सार्वजनिक

कांग्रेसले भदौ २४ गतेको आगजनीमा केन्द्रीय कार्यालयमा मात्रै १० करोड रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उक्त दिन केन्द्रीय कार्यालयमा भएको आगजनीमा १० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

विवरण अनुसार ३६ केन्द्रीय नेताको घरमा आगजनी र तोडफोड भएको छ। देशभर कांग्रेसका ४८ वटा पार्टी कार्यालय भवन र १३२ नेताको घरमा आगजनी भएको विवरण पनि कांग्रेसले सार्वजनिक गरेको छ।

आगजनीमा पार्टी सभापति देउवाको बुढानीलकण्ठ निवास, उपसभापति पूर्णबहादुर खड्काको सुर्खेतस्थित निवास, महामन्त्री गगन थापाको काठमाडौं रातोपुल निवास, विश्वप्रकाश शर्माको झापा निवास र ललितपुरको डेरामा समेत क्षति पुगेको छ।

त्यस्तै, कोषाध्यक्ष उमेश श्रेष्ठको चितवनस्थित घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषास्थित घर, पूर्वपदाधिकारी शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत नेताको घरमा पनि आगजनी भएको विवरण कांग्रेसले सार्वजनिक गरेको छ।

मोरङको कोइराला निवास तथा ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको नाममा खोलिएको आश्रममा समेत आगजनी भएको जानकारी कांग्रेसले दिएको छ।

समाचार शेयर गर्नुहोस्
790
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.