निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मन्त्रिपरिषद् विस्तार, सङ्गीता मिश्रा आउट

मन्त्रिपरिषद् विस्तार, सङ्गीता मिश्रा आउट

780
SHARES

काठमाडौं — जेनजी आन्दोलनको बलमा बनेको सरकारले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएपछि अब ८ सदस्यीय भएको छ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा भदौ ३० गते तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

राष्ट्रपति पौडेलले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपक्षी विकास मन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई शपथ गराए।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष नाम सिफारिस गरेकी थिइन्। मन्त्री बन्ने लिस्टमा रहेकी सङ्गीता मिश्रा भने आउट भएकी छन्। विवादमा परेपछि मिश्राको शपथ ग्रहण रोकिएको छ। उनको नाम काटिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने आकाङ्क्षामा अतिरिक्त सचिवबाट राजीनामा दिएकी मिश्राले भने अन्ततः आफ्नो पद पनि गुमाउनुपरेको छ।

यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन्।

मन्त्रिपरिषदमा फेरबदल पनि गरिएको छ। अर्थमन्त्री खनाललाई सङ्घीय मामिला मन्त्रालयको जिम्मेवारी थप दिइएको छ। गृहमन्त्री अर्यालसँग रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अब नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ।

आविष्कार वैज्ञानिक पुन, टेलिभिजनकर्मी खरेल, पूर्वन्यायाधीश सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक परियार नयाँ मन्त्री बनेका हुन्।

गत भदौ २७ गते कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। शपथग्रहण समारोहमा यो पटक विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि उपस्थित भए।

समाचार शेयर गर्नुहोस्
780
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.