काठमाडौं — जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने म्यान्डेटसहित भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार दोस्रो पटक मन्त्री थपेकी हुन्।
यससँगै मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ। यद्यपि, प्रधानमन्त्री कार्कीले अझै परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी आफ्नै हातमा राखेकी छन्। उनले भदौ ३० गते नियुक्त भएका मन्त्रीहरू रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारीमा फेरबदलसमेत गरेकी छन्।
अर्थमन्त्री खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिएको छ भने गृहमन्त्री अर्याललाई कानुन मन्त्रालयबाट हटाइएको छ। अब उनी गृह मन्त्रालयको मात्र जिम्मेवारीमा रहनेछन्।
कानुन मन्त्रालय भने सोमबार नियुक्त भएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले सम्हाल्ने भएका छन्। कुलमान घिसिङको तीनवटा मन्त्रालय यथावत् राखिएको छ।
सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व पाएका छन्। पत्रकारितामार्फत प्रश्न गर्ने भूमिकामा रहेकै खरेल अहिले संचारमन्त्रीको ‘हट सिट’ मा पुगेका छन्।
पदभार ग्रहणलगत्तै उनले अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाका मुख्य सार्वजनिक स्थलमा र पाँच महिनाभित्र मुलुकका प्रमुख १० शहरका स्थानमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने पहिलो निर्णयमा हस्ताक्षर गरे।
स्वागत कार्यक्रममा मन्त्री खरेलले जेनजी आन्दोलनको म्यान्डेटअनुसार चुनाव, सुशासन र ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणमा सरकार केन्द्रित हुने बताए।
वैज्ञानिक पुन मन्त्रालयमै बस्ने
विज्ञान, आविष्कार र सामाजिक अभियानका लागि चर्चित डा. महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्। कृषि औजार कारखाना सञ्चालन गर्न आफ्नो आत्मकथा पुस्तक बेच्दै देश दौडाहामा रहेका पुनले अघिल्लो वर्षसम्म आविष्कार केन्द्र सञ्चालनका लागि पाएको अवार्डसमेत लिलामीमा राखेका थिए।
सन २००७ मा एसियाको नोबेल भनिने रोमन म्यागासेसे पुरस्कार पाएका पुनलाई नेपाल सरकारले २०७९ सालमा भवन कीर्ति रत्न पुरस्कारले सम्मान गरेको थियो।
मन्त्री पुनले पदभार ग्रहणलगत्तै अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सल्लाह दिने गरी चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे। पत्रकारको प्रश्नमा पुनले आफू मन्त्रालयमै बस्ने र सरकारी सवारी साधन प्रयोग गर्ने जवाफ दिए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय डा. मदन प्रसाद परियारको जिम्मामा आएको छ। नेपाल, भारत, थाइल्यान्ड र श्रीलङ्कामा ३० वर्षभन्दा बढी समयदेखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कामको अनुभव बटुलेका परियार कृषि क्षेत्रमा स्थापित विज्ञ मानिन्छन्।
पदभार ग्रहणपछि कृषिमन्त्री परियारले मल आपूर्ति तथा व्यवस्थापनबारे धेरै चासो भए पनि “आफूले बुझेर मात्र निर्णय गर्ने” जवाफ दिए।
सिन्हा भावुक
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले कानुन, न्याय तथा संसदीय मामिलासँगै उद्योग र भूमि मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्। २०७३ साल साउन १७ गते सर्वोच्चमा न्यायाधीश बनेका सिन्हा २०८० कात्तिक १५ गते अनिवार्य अवकाशमा गएका थिए।
कानुनी क्षेत्रमा अब्बल मानिने सिन्हाले प्रशासनिक अनुभव पनि सँगालेका छन्। पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलन सम्झँदै भावुक अभिव्यक्ति दिए।
आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पाँच मन्त्रीको नाम सिफारिस गरेको थियो। तर स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. सङ्गीता कौशल मिश्राको नाम विवादमा परेपछि अन्ततः उनको नियुक्ति रोकिएको छ।
प्रधानमन्त्री कार्की मातहत खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेका छन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने लक्ष्य लिएकी छन्। यसअनुसार अब अझै तीन मन्त्री नियुक्त हुन बाँकी छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.