निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नमोबुद्धका पूर्वमेयर टिपी शर्माको निधन

नमोबुद्धका पूर्वमेयर टिपी शर्माको निधन

806
SHARES

काभ्रे : नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ। उपचारका क्रममा धुलिखेल अस्पतालमा मङ्गलवार बिहान ४ बजे शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी गत साउन १० गते बिपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ को बाेर्डिङ्ग डाडामा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका तिमल्सिनाको साउन १० गते नै आकस्मिक रूपमा शल्यक्रिया गरिएको थियो।

त्यसपछि पनि उनको पूर्ण रूपमा होस खुल्न सकेको थिएन भने यसबीचमा थप शल्यक्रिया पनि गरिएको थियो। दुईवटा स्कुटर ठोक्किँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्को स्कुटर चालक घाइते भएका थिए।

नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पूर्वपत्रकार एवं साहित्यकारसमेत हुन्। उनको खाल्डोभित्र नअटेको मान्छे नामक कृति प्रकाशनको क्रममा रहेको छ भने दर्जनौँ कविता प्रकाशित छन्।

शर्माको पार्थिव शरीरलाई मङ्गलवार नमोबुद्ध नगरपालिका कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने नेकपा एमाले नगर कमिटीका सचिव एवं वडा नं २ का पूर्ववडा अध्यक्ष सञ्जीव ढकालले जानकारी दिए।

शर्माले सामाजिक सञ्जालमा साझा गरेको एउटा कविता :

महारथी
—–
—–
रोपेर गएका थिए,
समाजवादको बीउ
प्रजातन्त्रको बिरुवा
– आदर्श
– त्याग
र, निष्ठाको राजनीति
त्यसैले उनीहरु महारथी भए।
हामीहरुले कति हुर्कायौं?
कसरी गोडमेल गर्‍यौ?
समाजवाद
प्रजातन्त्र
र, उनीहरुले रोपेको विरुवा !!
कसरी आत्मसात गर्‍यौ ?
उनीहरुको आदर्श
त्याग
र, निष्ठाको सगरमाथा !??
हामी कहाँ छौं ?
र, के भयौं ?
आफैले गरौं, आफ्नै आत्ममूल्याङ्कन
र, देशको सम्पन्नता ??
(सन्दर्भ:- पुष्पलाल स्मृति दिवस, ७ साउन र विपि स्मृती दिवस,६ साउन)
-७ साउन २०८२

समाचार शेयर गर्नुहोस्
806
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.