निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

टिपी शर्माको निधनमा नमोबुद्ध नगर भावविह्वल

टिपी शर्माको निधनमा नमोबुद्ध नगर भावविह्वल

784
SHARES

काभ्रे – मङ्गलवार बिहान निधन भएका काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिकाका प्रथम नगरप्रमुख टङ्कप्रसाद तिमल्सिना (टिपी शर्मा) को अन्त्येष्टि गरिएको छ। भकुण्डेबेशी जगवैजेश्वर महादेव त्रिवेणिधाममा धार्मिक परम्परा अनुसार शर्माको दाहसंस्कार गरिएको हो।

साउन १० गते बिपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ को बोर्डिङ्ग डाँडामा दुर्घटनामा परी गम्भीर घाइते भएका तिमल्सिनाको उपचारकै क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो।

दुईवटा स्कुटर आपसमा ठोक्किँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्का स्कुटर चालक घाइते भएका थिए। नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुखमा निर्वाचित तिमल्सिना पूर्वपत्रकार एवं साहित्यकार समेत हुन्।

उनको खाल्डोभित्र नअटेको मान्छे नामक कृति प्रकाशनको क्रममा रहेको छ भने दर्जनौँ कविता प्रकाशित छन्। शर्माको पार्थिव शरीरलाई नमोबुद्ध नगरपालिका कार्यालय र नेकपा एमाले नमोबुद्ध नगर कमिटी कार्यालय अगाडि श्रद्धाञ्जलीका लागि राखिएको थियो।

शर्माको पार्थिव शरीरमा नगरमा रहेका सबै राजनीतिक दलका नेता कार्यकर्तादेखि सङ्घीय सांसदहरूले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।

शर्माको निधनमा नमोबुद्ध नगर भावविह्वल बन्यो। जनप्रतिनिधिदेखि कर्मचारीहरू शोकमग्न बने। राजनीतिक दलका नेता कार्यकर्ताले शर्माको पथमा अगाडि बढ्ने प्रण गरेको नेकपा एमाले नमोनबुद्ध नगर कमिटीका सचिव एवं वडा नं २ का पूर्ववडा अध्यक्ष सञ्जीव ढकालले बताए।

नेपाल पत्रकार महासङ्घ काभ्रेपलान्चोक शाखाका पूर्व सदस्य, अग्रज पत्रकार, राजनीतिज्ञ एवं नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टि.पी. शर्मा तिमल्सिनाको असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ काभ्रेले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै शोक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना व्यक्त गरेको छ। काभ्रेली पत्रकारिता क्षेत्रमा शर्माले पुऱ्याएको योगदान सदा स्मरणीय रहने महासङ्घ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले निकालेको शोक वक्तव्यमा उल्लेख छ।

नमोबुद्ध नगरका नगर प्रमुख कुन्साङ लामा सहित नेकपा एमालेका पूर्वसांसद गोकुल बास्कोटा, नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ, प्रदेश सांसद रत्न ढकाल, एमाले नेता रेशम लामा, नेपाली कांग्रेसका पूर्वसांसद शिवप्रसाद हुमागाईँ, नेपाल बार काभ्रेका पूर्व अध्यक्ष रमेश हुमागाईँ, भूमि आयोग काभ्रेका सदस्य ईश्वरी ओझा, नेकपा माओवादी केन्द्र काभ्रेका अध्यक्ष भोला अर्याल लगायतका नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरे। शर्माका श्रीमती र दुई छोरा छन्।

नमोबुद्धका पूर्वमेयर टिपी शर्माको निधन

समाचार शेयर गर्नुहोस्
784
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.