निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी विद्रोह : भट्टराईको राजीनामा, प्रचण्ड तयार, देउवा र ओली अडानमा

जेनजी विद्रोह : भट्टराईको राजीनामा, प्रचण्ड तयार, देउवा र ओली अडानमा

1.1k
SHARES

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि देशको शासन प्रणालीमा आएको उतारचढाव र राजनीतिक पुनर्संरचनाले भट्टराईलाई अध्यक्ष पद छाड्ने निर्णयमा पुर्‍याएको पार्टीले जनाएको छ।

उनले वर्तमान केन्द्रीय समितिलाई विघटन गरी उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको पनि जानकारी गराइएको छ।

यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीको आगामी विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका हुन्।

सञ्चारकर्मीले नेतृत्व परिवर्तनबारे प्रश्न गर्दा उनले “त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म पुग्दा सबै कुरा हल हुन्छ” भन्ने जवाफ दिए।

अन्य ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)माथि पनि जेनजी आन्दोलनपश्चात् नैतिक दबाब सिर्जना भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत रहेकाले डिस्चार्ज नभएसम्म नेतृत्व हस्तान्तरणबारे बहस नगर्न आग्रह गरेका छन्।

तर पार्टीभित्रका केही युवा नेताहरूले तत्काल राजीनामाको माग गर्दै दबाब बढाइरहेका छन्। कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाको समूहले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरेका छन् भने देउवानिकट नेताहरूले यो अभियानले पार्टी विभाजनसम्म पुर्‍याउन सक्ने दाबी गर्दै आएका छन्।

यही परिस्थितिमा कोइराला र थापाबीच भेटवार्ता भएको छ। कांग्रेसभित्र देउवानिकट नेताहरू प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएका छन् भने कोइराला र थापा पक्षका नेताहरू पार्टीको नेतृत्व परिवर्तन गरेर तत्काल फागुन २१ मा तोकिएको निर्वाचन तयारीमा जुट्नुपर्ने दबाब बढाइरहेका छन्।

जेनजी आन्दोलनले बालुवाटार छोडेर भाग्न बाध्य भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने नेतृत्व छाड्ने मनस्थितिमा छैनन्। ७४ जनाको मृत्यु भएको आन्दोलनमा कलङ्कको टिका लागेका ओलीले अहङ्कारीको आरोप खेपिरहेका छन्। उनले पार्टी बैठक नबोलाई एक-एक नेतासँग वार्तालापलाई प्राथमिकता दिएका छन् र तत्काल पदत्याग गर्ने मनस्थितिमा नरहेको देखिन्छ।

आफूलाई नयाँ शक्ति भनेर प्रस्तुत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हिरासतमा रहेका अध्यक्ष रवि लामिछानेको विकल्प नदिने स्पष्ट अडान लिएको छ। सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेले हिरासतबाटै पार्टी सञ्चालन गरिरहेको नेतृत्वले जनाएको छ।

रास्वपाले असोज ७ र ८ गते सम्पन्न केन्द्रीय समितिको बैठकपछि विज्ञप्ति जारी गर्दै आगामी राजनीतिक दिशाबारे निर्णय सार्वजनिक गरेको छ। विज्ञप्तिमा भनिएको छ, पार्टीले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने र त्यस बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन समेतबारे विस्तृत छलफल गरिनेछ।

भदौ २४ गते नख्खु कारागारलगायत अन्य स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको सम्भावित संलग्नता भए–नभएको विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि भएको छ।

विज्ञप्तिमा भदौ २३ र २४ गतेको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन रोक लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराइने उल्लेख गरिएको छ।

साथै, वि.सं. २०४६ सालयता उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने, जेनजी आन्दोलनका क्रममा नेताहरूको निवासमा भेटिएका अवैध नगद तथा चल–अचल सम्पत्तिको सत्यतथ्य छानबिन गर्न पनि आग्रह गरिने विज्ञप्तिमा भनिएको छ।

नयाँ पुस्ता र जेनजी उमेर समूहका युवाहरूसँग संवाद तथा सहकार्य गर्न पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको र फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि पार्टीको वाचापत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति बनाइएको जानकारीसमेत विज्ञप्तिमा समावेश छ।

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.