निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलनमा तेस्रोलिंगी : सरकारसँग परिवर्तनको अपेक्षा

जेनजी आन्दोलनमा तेस्रोलिंगी : सरकारसँग परिवर्तनको अपेक्षा

अहिले कमिटीहरू गठन गर्दा भाग खोजिएको सुन्दा डाउट लागेको छ। अझ ठुलो जोखिम हुन सक्छ। त्यसैले हामी सबै सचेत हुनुपर्छ, कान ठाडो पार्नुपर्छ।

778
SHARES

काठमाडौं – भदौ २३ गतेको ऐतिहासिक प्रदर्शनमा बद्री पुन (दिलु बुदुजा) काठमाडौँको गोङ्गबु क्षेत्रमा थिए। सो दिन जेनजी आन्दोलनमा व्यापक सहभागिता भएको उनले स्मरण गरे। बेलुकीपख गोली चल्न थालेपछि उनलाई असाध्यै दुख लाग्यो र भोलिपल्ट अप्रिय घटना हुन्छ भन्ने अड्कल काटे।

भदौ २४ गते झन् ठुलो सङ्ख्यामा जनसागर सडकमा उत्रन्छ भन्ने उनलाई लाग्यो। पुनले भने, “यो जायज मागमा हामीले साइडबाट भए पनि सहयोग गर्नुपर्छ। तोडफोडमा विश्वास गर्दिनँ। म आफैँले तोडफोडमा विश्वास नगरे पनि प्रदर्शनमा सहभागीहरूलाई पानीसम्म भए पनि खुवाउन पैसा जम्मा गरेर गएको थिएँ।”

तर प्रदर्शनमा सहभागी युवा जेनजीहरुले उनलाई पानी खुवाउने काम नगर्न भने। उनीहरू भन्थे, “घुसपैठ गरेको भन्ने आरोप आउँछ, पानी नखुवाउनुहोस्। बरु साइडमा बसेर प्रत्यक्षदर्शी हुनुहोस्। किनभने भोलि हामीलाई जे पनि आरोप लाग्न सक्छ, ब्लेम आउन सक्छ। तपाईँहरू हाम्रो उमेरभन्दा बाहिरको मान्छेहरू साइडमा बसेर निगरानी गरिदिनुहोस्।” त्यसपछि पुन पनि सहमत भए र आन्दोलनको प्रत्यक्षदर्शी बने।

मायाको पहिचान नेपालले गरेको छलफल कार्यक्रममा उनले भने, “भोलिको दिनमा आधार बनाउन सकिने दस्ताबेज बन्ने कुरा भए पछि हामी साइडमै बस्यौँ।”

उनले जेनजी आन्दोलनलाई इतिहासमै नभएको दुखद र निर्णायक घटनाका रूपमा स्मरण गरे। सिंहदरबार र संसद् भवन ध्वस्त भएकोमा उनले गहिरो पीडा व्यक्त गरे। नागरिकको मृत्यु भएकोमा दुःख लागेको तर भ्रष्टाचारको प्रतीक संरचना भत्किएकोमा भने उनलाई कुनै पीडा नभएको बताए। “यो समयको माग हो,” उनले भने।

उनका अनुसार युवाहरूले गरेको निर्णय सही थियो। अप्रत्याशित रूपमा आन्दोलन सफल भयो। उनले भने, “२७ घण्टामा यति ठुलो राजनीतिक र सामाजिक प्रगति सम्भव होला भन्ने लागेको थिएन। तर यो नेपाली इतिहासमै कोरिनेछ।”

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको संस्था समावेशी मञ्चका अध्यक्ष समेत रहेका बद्री पुनले जेनजी आन्दोलनलाई समयको माग भएको बताए। उनका अनुसार राजनीतिक दलहरूको आसेपासे र स्वार्थ मात्र बढेको वर्तमान अवस्थामा जेनजी आन्दोलन जनताको असली आक्रोशको प्रतिफल हो।

उनले थपे, “जबसम्म नेपालमा युवाहरू अगाडि आउँदैनन्, तबसम्म वास्तविक परिवर्तन आउँदैन भन्ने मेरो ठम्याइ थियो। २७ घण्टाको आन्दोलनले मलाई आश्चर्यचकित बनायो। सुरुमा मलाई युवाहरूको सङ्घर्ष सफल होला भन्नेमा शङ्का थियो। मलाई लागेको थियो,सामाजिक सञ्जालको समस्या समाधान होला, गाँजिएर बसेको भ्रष्टाचारविरुद्ध आवाज उठ्ने होला, तर वास्तविक सत्ता परिवर्तनसम्म पुग्छ भन्ने मैले कल्पना गरेको थिइनँ।”

उनले बताएअनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र पनि अहिलेका जेनजी आन्दोलनकारीकै उमेर समूहका धेरै सदस्यहरू खटिएका थिए। उनीहरू सक्रिय रूपमा आन्दोलनमा संलग्न भए। पुनले भने, “आन्दोलनमा समुदायका सदस्यहरूको सहभागिता थियो, तर उनीहरूलाई केही अप्रिय घटना भएन। मैले निरन्तर फलोअप गरेको थिएँ।”

जेनजी आन्दोलनको त्रास : रेस्टुरेन्ट सञ्चालकलाई नयाँ मान्छे देख्नेवित्तिकै डर

प्रधानमन्त्री बनेकी सुशीला कार्कीले तेस्रोलिंगी विषयलाई राम्रोसँग बुझेको भन्दै पुनले विशेष खुसी व्यक्त गरे। उनले भने, “थर्ड जेण्डर को हो भन्ने उहाँले बुझ्नुभएको छ। एमआरपीको मुद्दा सर्वोच्चमा फाइल हुँदा बहसमा ल्याएर अन्तिम आदेश दिने काम पनि सुशीला कार्कीकै बेन्चबाट भएको थियो। त्यसकारण म उहाँसँग निकै आशावादी छु।”

तर, उनले सावधानी पनि औँल्याए। “अहिले कमिटीहरू गठन गर्दा भाग खोजिएको सुन्दा डाउट लागेको छ। अझ ठुलो जोखिम हुन सक्छ। त्यसैले हामी सबै सचेत हुनुपर्छ, कान ठाडो पार्नुपर्छ। संविधानमा अक्षर मात्रै लेखियो, तर कार्यान्वयन भएन। अहिले पनि त्यस्तै हुन सक्छ, त्यसमा खबरदारी गर्नुपर्छ,” पुनले भने।

कार्की नेतृत्वको सरकारबाट न्याय पाउने तेस्रोलिङ्गीको आशा

अन्तरिम सरकारलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको ११ बुँदे सुझाव : अवैध सम्पत्ति राष्ट्रियकरणदेखि समावेशी प्रतिनिधित्वसम्म

समाचार शेयर गर्नुहोस्
778
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.