जेनजी आन्दोलनको त्रास : रेस्टुरेन्ट सञ्चालकलाई नयाँ मान्छे देख्नेवित्तिकै डर

जेनजी आन्दोलनको त्रास : रेस्टुरेन्ट सञ्चालकलाई नयाँ मान्छे देख्नेवित्तिकै डर

1k
SHARES

काठमाडौं — जेनजी आन्दोलनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित व्यवसायमा धक्का पुर्‍याएको छ। भदौ २३ र २४ गते दुई दिनसम्म चलेको प्रदर्शन र त्यस क्रममा उत्पन्न त्रासले समुदायका लागि सञ्चालन भइरहेका व्यवसाय जोखिममा परेको देखिएको छ।

लाजिम्पाट–खुर्सानीटार नजिकै मिस्टर गे हेन्डसम उपाधि विजेता विश्वराज अधिकारीले सानो रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। ‘इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट’ उनले विशेष गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी सञ्चालन गरेका हुन्। तर, हालको अस्थिर परिस्थितिले उनलाई निरन्तर असुरक्षित महसुस गराइरहेको छ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट हजारौँ कैदी भागेको खबर आएपछि अधिकारीलाई नयाँ मान्छे देख्ने बित्तिकै त्रास हुने गरेको छ। “१०–१२ हजार कैदी फरार छन् भनिएको छ। त्यसैले रेस्टुरेन्टमा नयाँ अनुहार देख्दा मनमा डर पैदा हुन्छ,” उनले भने।

रेस्टुरेन्ट नजिकै उनले सञ्चालन गरेको पार्लर र सानो डान्स क्लास पनि छ, जहाँ १०–१५ जना युवाहरू अभ्यास गर्दै आएका छन्। तर अधिकारी भन्छन्, “जेनजी आन्दोलनपछि घरबाट बाहिर निस्कनै नसकिने स्थिति छ। स्थिति सामान्य भयो भनेर बाहिर निस्किँदा पनि आर्मीबाट कुटिनुपर्‍यो।”

उनले थप जानकारी दिँदै भने, “प्रदर्शनका क्रममा दुई–तीन जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सेक्सवर्कर कुटिएका छन्। उनीहरूको घटनाको डकुमेन्टेशन भइरहेको छ।”

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पहिचान र अधिकारका लागि सङ्घर्ष थालेको झन्डै तीन दशक पुगिसकेको छ। सन् २००१ मा संस्थागत रूपमा यो अधिकार प्राप्तिको आन्दोलन सुरु भएको हो। त्यस अभियानका संस्थापक हुन् सुनिल बाबु पन्त। तर विडम्बना, अहिले त्यही संस्थाबाट पन्त बाहिरिएका छन्।

“पन्तले सुरु गरेको अभियान अझै पनि निरन्तर छ। पहिचानको अधिकार त पायौँ तर राजनीतिक अधिकारमा समुदायलाई सचेत गराउन सकेनौँ,” अधिकारीले बताए।

उनका अनुसार, जेनजी आन्दोलनले राजनीतिक अधिकारमा सचेतना जगाउने खाँचो देखाइदिएको छ। “आइडेन्टिटीको फाइट गर्दै आउँदा अब पोलिटिकल राइटमा सचेत हुनुपर्ने आवश्यकता रहेछ भन्ने यसले देखायो। २० वर्षसम्म अभियान चलायौँ, तर सामाजिक कामलाई टिकाइराख्न राजनीतिक शक्ति पनि चाहिन्छ। नत्र हाम्रो इस्यु मेनस्ट्रिममा पुग्दैन,” अधिकारीले भने।

अधिकारीले समुदायका मुद्दा राजनीतिक अधिकार अभावकै कारण “हिडन” (लुकाइएका) बनेको बताए। “राजनीति भनेको बिजनेस होइन। राजनीति भनेको मान्छेलाई उठाउने वा पछार्ने शक्ति हो। अहिले सबैभन्दा बढी प्रताडित त जेनजी पुस्ता नै छ,” उनले भने। “यो परिणाम आउनुमा केवल जेनजी पुस्ताको मात्र भूमिका छैन, यसबारे सबैलाई थाहा छ।”

उनले समुदाय भित्रै पनि जेनजी पुस्ताले जेनजी आन्दोलनलाई पूर्ण रूपमा नबुझेको आरोप लगाए। “जनरल कम्युनिटीसँग लड्नका लागि अवेयर हुनुपर्छ। तेस्रोलिंगी पहिचानका लागि ‘जेन नेल’ लगाएर आएका धेरै जना आज फेरि ‘त्यो अधिकार चाहिँदैन’ भन्छन्। हामीले मागेको अधिकार कति समुदायका लागि प्रयोगयोग्य छ, यो पनि प्रश्न उठ्छ,” उनले भने, “हाम्रो एड्भोकेसी कतै ‘लेन्दी एड्भोकेसी’ (नतिजामुखी नभई लेनदेनमुखी) त भएन?”

अधिकारीले सुनिल बाबु पन्त हुँदा संस्थाले गरेका कामहरूको स्मरण गरे। “सन् २०१३ मा हामी आफैँ तेस्रोलिंगीलाई नागरिकता चाहियो भनेर दक्षिणढोका घेराउ गर्न गएका थियौँ। अहिले व्यक्तिगत विचार फरक हुन सक्छ। तर त्यही विचारलाई अगाडि बढाउँदाको परिणाम पो हो कि? वा डोनरको अपेक्षा अनुसार मात्रै अगाडि बढाउँदाको परिणाम पो हो कि?,” भन्दै उनले प्रश्न उठाए, “हाम्रो एड्भोकेसी आखिर लेन्दी मात्रै त भएन?”

समाचार शेयर गर्नुहोस्
1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.