काठमाडौं – काठमाडौँका सुकुम्वासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका तेस्रोलिंगीहरूप्रति संस्थागत रूपमा उपेक्षा भएको गुनासो सार्वजनिक भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद भूमिका श्रेष्ठको असहयोगका कारण विस्थापित तेस्रोलिंगीहरूको बिचल्ली भएको आरोप लागेको हो।
केही दिनअघि मायाको पहिचान नेपालको सम्पर्कमा आएका विस्थापित तेस्रोलिंगीहरू पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तको नेतृत्वमा दशरथ रङ्गशाला पुगेका थिए। त्यहाँ उनीहरूले तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गर्न माग गरेका थिए।
उक्त माग काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत शहरी विकास मन्त्रीसम्म पुगेको थियो। मन्त्री सुनिल लम्सालले यो विषय सांसद भूमिका श्रेष्ठमार्फत आउनुपर्ने बताएका थिए। त्यसपछि तेस्रोलिंगीहरूले सांसद श्रेष्ठसँग सम्पर्क गर्न खोजे। तर, प्रत्यक्ष सम्पर्कको सट्टा सचिवालयमा टिपाउनुपर्ने जानकारी पाएको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका जेनजी अधिकारकर्मी बाबु दुमि राईले बताए।
जुन कुरा सबैलाई थाहा छ, तेस्रोलिंगीहरू बिचल्लीमा परेका छन्। उनीहरू आश्रयस्थलको खोजीमा दशरथ रङ्गशालासम्म पुगेका छन्। त्यही विषयमा आफ्नै समुदायबाट प्रतिनिधित्व गरेको दाबी गर्ने भूमिका श्रेष्ठलाई जानकारी नहुने भन्ने कुरा पत्याउन सकिने आधार छैन, तस्रोलिंगी पीडितहरू बताउँछन्।
राईका अनुसार, जब सुनिल बाबु पन्त र उनले बिचल्लीमा परेका तेस्रोलिंगीहरूका लागि छुट्टै आश्रयस्थलको माग गरे, त्यसलगत्तै सांसद श्रेष्ठको समूह साइबर आक्रमणमा उत्रिएको छ। आफ्नो विगत भुलेर वर्तमानमा समुदायका व्यक्तिहरूले भोगिरहेको सकसमा रमाइरहेको आरोप यतिबेला सांसद श्रेष्ठको समूहप्रति लागिरहेको छ।
तेस्रोलिंगीलाई छुट्टै आश्रयस्थल माग गर्नुलाई समेत वालेन सरकार ढाल्ने जुक्तिका रूपमा चित्रित गरिएको भन्दै राईले सिरक ओढेर समुदायलाई बिचल्लीमा नपार्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत राईले केही व्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले लेखेका छन्, “केही महान् (LGBTIQA+…) का केही भँडुवा, सिरकमुनि बसेर संसारभरिको advocate गर्न खोज्ने, आफ्नो समुदायलाई कसरी सहजता दिने भन्दा पनि कसरी तितरबितर गर्ने, कसरी भण्डाफोर, कसरी १ लाई ज्ञ अनि एआई १०० बनाउने, अर्थहीन, बिना logic कुरा फैलाउने, रक्सी र धुवाको तालमा सुकुम्वासी बस्ती जस्तो गम्भीर विषयलाई मजाकको विषय बनाए।”
उनले तेस्रोलिंगीहरूले कोठा भाडा नपाएको, गाह्रो भएको विषयलाई समेत कतिपयले नाटकको रूपमा चित्रण गरेको आरोप लगाएका छन्। “Free मा कसले दिन्छ? जुन फ्रीमा दे पनि भनेको थिएन,” उनले लेखेका छन्।
राईले सुखसुविधामा बसेर अरूको अप्ठ्यारो र असहजताको मजाक गर्नेहरूलाई कटाक्ष गर्दै अहिले पनि आफूलाई पटक–पटक फोन र सन्देश आइरहेको, “रुम पाएन, बिजोक भयो” भन्ने गुनासो आउने गरेको बताएका छन्। उनले अप्ठ्यारोमा परेका व्यक्तिहरूका लागि तुरुन्तै कोठाको व्यवस्था गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
उनले समुदायभित्र आफूलाई विज्ञ ठान्ने, तर सङ्कटका बेला सिरकभित्रै लुकेर बस्ने, रक्सी र धुवाको संसारमा हराउने, बोल्नुपर्ने ठाउँमा नबोल्ने र अरूले गरेको काममा समेत भाँजो हाल्ने प्रवृत्तिको तीव्र आलोचना गरेका छन्।
“आफू गर्ने हैसियत हराउने अनि अरूले गरेको कामलाई पनि उल्टो लैजाने? सायद यस्ता खालका मान्छे जन्मिएकै यही कर्मका लागि होला,” उनले लेखेका छन्।
विस्थापित तेस्रोलिंगीहरूको व्यवस्थापनका लागि एकातिर पहल भइरहेका बेला अर्कोतर्फ समुदायभित्रबाटै सहयोगको सट्टा अवरोध सिर्जना भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
सङ्कटको घडीमा एकता आवश्यक रहे पनि केही समूह खुलेरै सहयोगमा भाँजो हाल्न सक्रिय देखिएको आरोपले समुदायभित्र नयाँ बहस जन्माएको छ।
सम्बन्धित समाचार :
सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.