भूटानी नेता तथा लेखक बालाराम पौडेलले बेलडाँगी शिविरभित्रको उपस्थिति देशको अनुभूति जस्तै भएको बताएका छन्। भूटान सरकारले गरेको जातीय दमनका कारण शरणार्थी अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले ऐतिहासिक दमनदेखि आन्दोलनको पृष्ठभूमिसम्म स्मरण गरे।
भुटानी साहित्यिक क्षेत्रको प्रवर्द्धन र स्रष्टाहरूको सम्मानका लागि समर्पित ‘द लिटेरारी सोसाइटी अफ भुटान’को पाँचौँ वार्षिक साहित्यिक उत्सव कार्यक्रममा पौडेलले नेपाल सरकारप्रति आशा र विश्वास व्यक्त गर्दै दुई शिविर एकजुट भई साझा आवाज उठाउनुपर्ने र अस्तित्व संरक्षण नै जीवनको सार्थकता हुने बताए।
बेलडाँगी शिविरमा देशप्रेमी, कला–प्रेमी र साहित्य अनुरागीहरूको बाक्लो उपस्थितिमा सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न उत्सवले भूटानी शरणार्थी समुदायको पीडा, पहिचान र सृजनशीलतालाई एकै मञ्चमा उभ्याएको थियो।

कार्यक्रमको विधिवत् उद्घाटन प्रमुख अतिथि भूटानी नेता तथा लेखक बालाराम पौडेल, विशेष अतिथि साहित्यकार प्रज्ञा सुवित्रा वाङ्देल चेली तथा सभाध्यक्ष तिलक राईले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन सत्रको सुरुवातमा संस्थाका सचिव बीरेन्द्र मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरे।
कार्यक्रममा शिविर सचिव सञ्चहाङ सुब्बाले राजनीतिक कारणले भूटानी शरणार्थीहरूलाई दोषारोपण गरिँदै आएको बताए। नक्कली शरणार्थी प्रकरणले वास्तविक पीडितहरूको पहिचान ओझेलमा परेको भन्दै उनले नेपाल सरकारप्रति गम्भीर प्रश्न उठाए।
उत्सवमा साहित्य, कला, मानव अधिकार र समाजसेवाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविर सचिव सञ्चहाङ सुब्बा, हिमाली रोधी सांस्कृतिक परिवारका अध्यक्ष कुमार गुरुङ, एसक्यापका अध्यक्ष नरबहादुर गुरुङ र सचिव नरेश राई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, मानव अधिकार अभियन्ता डमला प्रसाद अधिकारी, गायकहरू बलराम मगर र जंगबहादुर दर्जी, समाजसेवी तथा शिक्षक जेबी भट्टराई, रोहित महत र कविराज मगरले पनि कार्यक्रमको शोभा बढाएका थिए।

दमक, धरमपुर र कमल गाउँपालिका लगायतका क्षेत्रबाट साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दमकबाट साहित्यकार जीवन वेगा, रङ्गकर्मी तथा साहित्यकार चोमु शेर्पा, डोल्मा शेर्पा, करण कुमार र देबु चापागाईँ सहभागी थिए।
धरमपुरबाट मुकुन्द लामिछाने र अनिता लामिछाने तथा कमल गाउँपालिकाबाट राजन चापागाईँ लगायत अनेक स्रष्टाहरूको उपस्थिति रहेको थियो। यसका अतिरिक्त याम थुलुङ, शरण कुमार र शर्मिला गुरुङ जस्ता साहित्यकारहरूले पनि अतिथिका रूपमा आसन ग्रहण गरेका थिए।
शिविरभित्र र बाहिरका यति ठूलो संख्यामा स्रष्टाहरूको उपस्थितिले उत्सवलाई झापा जिल्लाकै एक महत्त्वपूर्ण साहित्यिक कार्यक्रमका रूपमा स्थापित गरेको छ।
“यो उत्सव केवल साहित्यिक जमघट मात्र नभई भुटानी समुदायभित्र रहेका प्रतिभाहरूलाई उजागर गर्ने र कला अनुरागीहरूबीच आपसी समन्वय कायम गर्ने एउटा महत्त्वपूर्ण मञ्च बनेको छ,” साहित्यकार दिल भूटानीले बताए।

यस अवसरमा संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को पाँचौँ अङ्क सार्वजनिक गरिएको थियो। कथा, कविता, गजल र संस्मरणका विविध विधा समेटिएको यस पत्रिकाका प्रधान सम्पादक तिलक राई हुन्। पत्रिकामा दिल भूटानी, अविलाल राई, थिरु घिमिरे ‘विकल्प’, पवित्र सुब्बा, शर्मिला गुरुङ, पुलमाया गुरुङ, वैदिक अत्री, अशोक शर्मा, तिला लेकाली लगायत अनेक रचनाकारका सिर्जनाहरू सङ्कलित छन्।
यस पत्रिकाले भुटानी नेपालीभाषी समुदायको विस्थापन, पहिचान, मातृभूमिको तड्पन र प्रवासी जीवनका विविध आयामलाई साहित्यको भाषामा जीवन्त रूपमा प्रस्तुत गरेको छ। सन् २०२१ मा स्थापना भएको ‘द लिटेरारी सोसाइटी अफ भुटान’ले हरेक वर्ष ‘दियालो’को नयाँ अङ्क प्रकाशन गर्दै आएको छ।
कार्यक्रममा विशेष अतिथि सुवित्रा वाङ्देल चेलीले शिविरकालीन साहित्यिक अभियानले देश र माटोको आवाज जोगाएको उल्लेख गर्दै सरकारको नीतिगत प्रयासप्रति समाधानको आशा व्यक्त गरिन्। उपस्थित वक्ताहरूले यस्ता साहित्यिक गतिविधिले भाषा र संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
बेलडाँगी शिविरजस्तो परिवेशमा साहित्यिक चेतना जागरूक राख्ने प्रयासलाई अतिथिहरूले सराहना गर्दै भविष्यमा थप सक्रियताको अपेक्षा व्यक्त गरे।
साहित्यिक रचना वाचनमा शर्मिला गुरुङ, देबु चापागाईँ, वैदिक अत्री, मुकुन्द लामिछाने र हर्कराज राईले कविता तथा गजल प्रस्तुत गरे। रचना वाचनमा सहभागी अन्य स्रष्टाहरूले पनि आ–आफ्ना कविता, कथा र गजल प्रस्तुत गर्दै उपस्थित श्रोताहरूलाई भावविभोर बनाए।
सांस्कृतिक प्रस्तुति अन्तर्गत साहित्यकार तथा गायिका चोमु शेर्पा, गायक जंगबहादुर दर्जी, गायक दिवास गुरुङ तथा उहाँका साथीहरू दिपशिखा र बुद्धिमाया राई, गायक बलराम मगर र गायक विरेन विश्वाले आकर्षक प्रस्तुति दिएका थिए। कार्यक्रम सञ्चालन साहित्यकार अविलाल राईले गरेका थिए।
बेलडाँगी शिविरमा सन् २०२३ देखि सञ्चालित एलएसबी पुस्तकालय यस उत्सवको स्थायी केन्द्रभूमि बनेको छ। स्थानीय र बाहिरबाट प्राप्त पुस्तकहरूले सुसज्जित यो पुस्तकालयले शिविरका अध्ययनशील पाठकवर्गलाई साहित्यिक चिन्तनको अवसर प्रदान गर्दै आएको छ। संस्थाले यस पुस्तकालयलाई थप समृद्ध बनाउन पाठकवर्गसँग आफ्ना कृति र पुस्तकहरू प्रदान गर्न अपिल गरेको संस्थाका उपाध्यक्ष दिल भूटानीले जानकारी दिए।
सभाध्यक्ष तिलक राईले छैटौँ यात्राको सुरुआतको घोषणा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्रज्ञा सुवित्रा वाङ्देल चेली तथा अन्य स्रष्टाप्रति धन्यवाद व्यक्त गरे। उनले द लिटरेरी सोसाइटी अफ भुटानको उद्देश्य साहित्यमार्फत देशसँगको सम्बन्धलाई सुदृढ गर्नु र सिर्जनात्मक ज्ञानलाई पुस्तान्तरण गर्नु रहेको बताए।
समापनका क्रममा भुटानी नेता तथा लेखकका कृतिहरू तथा ‘दियालो’ पत्रिकाको चर्चा गर्दै साहित्यिक योगदानको महत्त्व उजागर गरियो। आयोजकले ‘दियालो’ नेपाली भाषा, साहित्य र सृजनशीलताको प्रवर्द्धनका लागि महत्त्वपूर्ण पहल भएको उल्लेख गरेका छन्। पत्रिकाभित्र प्रा. डा. गोविन्दराज भट्टराई तथा असमका वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीको स्मरणसमेत समावेश गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.