काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’को सत्तायात्रा सुरुदेखि नै अपजस र विवादकाबीच अघि बढिरहेको छ। जेनजी आन्दोलनको रापतापमा प्रधानमन्त्री बनेका वालेनको इन्ट्री तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गराएर भयो। कसैलाई पनि नछोड्ने सन्देश प्रवाह गर्न वालेन सरकार सुरुमै सफल देखियो।
वालेनको कार्यशैलीसँग तालमेल मिलाउन नसक्ने, काममा सुस्तता देखाउने वा विवादमा पर्ने मन्त्रीहरू पदमुक्त भएका छन्। केही मन्त्री अझै ‘रेडजोन’मा रहेको चर्चा छ।
गृहमन्त्री सुधन गुरुङ र श्रममन्त्री दीपककुमार शाह क्याबिनेटबाट बाहिरिइसकेका छन्। आफूलाई बलियो र निर्णायक प्रधानमन्त्रीका रूपमा स्थापित गर्न वालेनले कठोर शैली अपनाएका छन्।
रक्षा र गृह मन्त्रालय स्वयं आफैँले सम्हालेका प्रधानमन्त्री वालेनले सुरक्षा फौजको तैनाथीमा अव्यवस्थित, भूमिहीन सुकुम्वासी बसोबास गर्ने बस्तीमा डोजर चलाइरहेका छन्। प्रधानमन्त्रीमा उनको इन्ट्रीसँगै देशका विभिन्न क्षेत्रका सुकुम्वासी बस्तीमा भय र त्रासको वातावरण सिर्जना भएको छ।
वालेनको डोजर आतङ्कले बल्खुमा खोटाङका इन्द्रबहादुर राईले जीवन नै त्यागेका छन्। मनोसामाजिक परामर्श नै लिनुपर्ने अवस्थासम्म पुर्याएको भन्दै आलोचना खेपिरहेको वालेन सरकार एकपछि अर्को विवादित विषयमा हात हालिरहेको छ।
सरकारले संविधान, कानुन, नीति–नियमलाई ‘एक्सन ओरियन्टेड’ बनाएको दाबी गरिरहेको छ। ‘गरिब भएर जन्मनु पाप होइन, गरिब भएर मर्नुचाहिँ पाप हो’ भन्ने अभिव्यक्ति दिने गृहमन्त्री सुधन गुरुङ अहिले अपदस्थ भइसकेका छन्।
सुकुम्वासी बस्तीका नागरिकमाथि अमानवीय व्यवहार गरेको आरोप खेपेको वालेन सरकारको सम्पत्ति विवरणलाई लिएर पनि खेदो खन्ने काम भइरहेको छ। सुनैसुनका माला लगाएका तस्बिर सार्वजनिक भएका छन्। जेनजीका समूह नै अहिले ‘वालेन क्याबिनेट सुनैसुनले भरिएको, तर गरिबले धुरुधुरु रुनुपरेको’ भन्दै गीत गाउन थालेका छन्।
प्रधानमन्त्री वालेनको डोजरले सरकारी विद्यालयसमेत भत्काएको छ। विद्यार्थीका कक्षाकोठा क्षतविक्षत बनेका छन्। वालेनको डोजर चल्दा सुत्केरी आमा, शिशु, बिरामी, अशक्त, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र तेस्रोलिंगीहरूको बिचल्ली भएको छ। यद्यपि, काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा नै वालेनले सुकुम्वासी बस्ती भत्काउने चेतावनी दिएका थिए।
उतिबेला डोजर लिएर पुगेका वालेन, स्थानीयवासी खुकुरी र भाला लिएर निस्किएपछि फर्किन बाध्य भएका थिए। अहिले परिस्थिति बदलिएको छ। सुकुम्वासीको नाममा राजनीति गर्दै आएकाहरूको बोली बन्द भएको छ।
सुकुम्वासीहरू भने ‘गरिब होइन, गरिबी हटाऊँ’ भन्दै सडकमा नारा लगाइरहेका छन्। विस्थापित भएका र विस्थापनको त्रासमा रहेका नागरिकले सडकमा उत्रिएर प्रधानमन्त्री वालेनको राजीनामा नै मागेका छन्।
प्रत्यक्ष कार्यकारीको अभ्यासबाट प्रधानमन्त्री बनेका वालेन सत्तापक्ष वा प्रतिपक्षी कसैको मतलब नराखी काम गरिरहेका छन्। रोल्पामा २० जनाको सडक दुर्घटनामा ज्यान जाँदा चासो नै नदिएको आरोप खेपेका प्रधानमन्त्री वालेनले शनिवार बिदाको दिनसमेत विज्ञप्ति जारी गर्न लगाएका छन्।
वालेनले विगतमा जस्तो शक्तिकेन्द्र गुहारेर मात्र सेवाप्रवाह सहज हुने मानसिकताको अन्त्य गराउने सङ्केत पनि दिएका छन्। ‘सिस्टमले काम गर्ने, लाइनमा होइन अनलाइनमा’ जस्ता नारा दिएर प्रधानमन्त्री बनेका वालेनले सोर्सफोर्समा लाग्नेहरूका लागि ढोका बन्द गरिदिएका छन्। जसको प्रत्यक्ष असर रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद वर्षमान पुनमाथि परेको छ।
झन्डै दुई तिहाइ बहुमतको सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउन नेपाली सेनाको पनि सहयोग लिएको छ। सुकुम्वासी बस्ती हटाउँदा सेनाले सुरक्षा ‘ब्याकअप’ दिएको छ। जेनजी आन्दोलनका बेला संसद्, सिंहदरबार र सर्वोच्च अदालत जोगाउन नजिकै रहेको जंगीअड्डा अघि नसरेको देखेका नागरिकले सुकुम्वासी बस्ती हटाउँदा सेना सडकमा देखिनुलाई अनौठो मानेका छन्।
अहिले वालेन महानगर प्रमुख होइनन्, देशको बागडोर सम्हालेका प्रधानमन्त्री हुन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा कमान्ड पनि उनकै हातमा छ। प्रधानमन्त्री वालेनले नेपाली सेनालाई समेत सडकमा उतारेर शासन गरेको आरोप लागेको छ।
तर, नेपाली सेनाले भक्तपुरको मनोहरा बस्ती हटाउने क्रममा आफ्ना प्रतिनिधिको उपस्थिति मात्रै भएको बताएको छ। नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी राजाराम बस्नेतले यसलाई सुरक्षा ‘ब्याकअप’ भन्न नमिल्ने बताएका छन्।
वालेन शासनको त्रासले बल्खुमा राई दाइले ज्यान त्यागेको चर्चा छ। चार छोरी र एक छोराका बुबा राईले ‘वालेनको डोजरले घर ढलेको कसरी हेर्नु?’ भन्दै जीवन त्यागेको स्थानीयहरू बताउँछन्। यद्यपि, उनको मृत्युको वास्तविक कारण भने खुल्न बाँकी छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
वालेनको सुरुवात नै अपजसीया कामबाट भएको टिप्पणी भइरहेको छ। प्रधानमन्त्री बनेको बल्ल एक महिना मात्र भएको छ। घण्टी चुनाव चिह्नको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र किचलो नबढेमा र पार्टीले फिर्ता नबोलाएमा, वालेनले पाँच वर्ष शासन गर्नेछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.