न वैशाख–जेठको चर्को गर्मीले रोक्छ, न पुस–माघको कठ्याङ्ग्रिने चिसोले नै छेक्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँ कटान गाउँकी सरिता राना भने मौसमको कुनै प्रवाह नगरी बारीमा तरकारी टिप्न व्यस्त देखिन्छिन्।
बजार लैजानका लागि उनी अघिल्लो दिन नै तरकारी टिपेर तयारी गर्छिन्। दिनभरि र साँझपख बारीमै व्यस्त रहने सरिता बिहानै पाँच बजे तरकारी बोकेर बजार पुग्छिन्। बजारबाट फर्किँदा हातमा मिहिनेतको कमाइ हुन्छ। त्यही कमाइले जाडो, गर्मी र दिनभरको थकानसमेत क्षणभरमै बिर्साइदिन्छ।
श्रीमानकी आमाले सुरु गरेको तरकारी खेतीलाई सरिताले आजसम्म निरन्तरता दिँदै आएकी छन्। “पहिले सासूले गर्नुहुन्थ्यो, मेरो बिहेपछि मैले साइकलमा बेच्न लैजान थालेँ,” सरिताले भनिन्, “अहिले सासू बारीको काम गर्न सक्नुहुन्न, त्यसैले सबै काम मैले नै गर्दै आएकी छु।”
एक समय परम्परागत धान–गहुँ खेतीबाट परिवारको गुजारा चलाउनै मुस्किल पर्थ्यो। मेहनत उस्तै भए पनि आम्दानी सीमित थियो। तर, तरकारी खेतीले उनको परिवारको आर्थिक अवस्था फेरिएको छ। “तरकारी खेतीबाट वर्षमा एक लाख रुपैयाँसम्म कमाइ हुन्छ। यसैबाट छोरीहरूको पढाइ, घर खर्च चल्छ। बचेको पैसा समूहमा बचत पनि गर्छु,” उनले सुनाइन्।
सरितासँगै अर्को बारीमा रामकुमारी राना पनि तरकारी टिपेर बेच्नका लागि तयारी गरिरहेकी थिइन्। खेती व्यवसायबाट आफ्नो परिवार राम्रोसँग चलेको भन्दै उनले पनि सन्तुष्टि व्यक्त गरिन्।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदाय ऐतिहासिक रूपमा सामाजिक, आर्थिक र शैक्षिक हिसाबले पछाडि पारिएको समुदाय हो। जातीय सीमान्तकरण र लैङ्गिक विभेदको दोहोरो मारमा परेका अधिकांश महिलाहरू भूमिहीन, अशिक्षित र परनिर्भर जीवन बिताउन बाध्य थिए। घरधन्दाबाहेक उनीहरूको भूमिका सीमित थियो। न त घरको निर्णयमा सहभागिता हुन्थ्यो, न त नेतृत्व तहमा पहुँच नै। घर व्यवहार चलाउनेदेखि महत्त्वपूर्ण निर्णय लिनेसम्मका जिम्मेवारी पुरुषकै काँधमा केन्द्रित रहने गर्थे।
२०६३ सालमा कृषि विकास कार्यालयको सहयोगमा नयाँ कटानमा दुई–तीन परिवारले समूह बनाएर तरकारी खेती सुरु गरेका थिए। ती परिवारले नगद आम्दानी गर्न थालेपछि अन्यले पनि सिको गरे। बिस्तारै सिङ्गो गाउँ नै तरकारी खेतीमा होमियो। त्यसपछि नयाँ कटानका राना थारु महिलाहरूको दैनिकी मात्र होइन, जीवनशैली नै बदलिएको छ।
अहिले गाउँका महिलाहरू दिनभरि तरकारी रोप्ने, गोडमेल गर्ने र साँझपख टिपेर बिक्रीका लागि तयारी गर्ने गर्छन्। बिहानै साइकलमा तरकारी बोकेर महेन्द्रनगर बजार पुग्छन्। कोही घरघर र पसलपसल पुगेर बिक्री गर्छन् भने कोही सब्जीमण्डीमा बुझाएर घर फर्किन्छन्। यही उनीहरूको नियमित दैनिकी बनेको छ।

सीमित जग्गा, थोरै बीउ र आधारभूत ज्ञानबाट सुरु भएको तरकारी खेती आज राना थारु महिलाहरूको जीवन परिवर्तनको आधार बनेको छ। सरिता भन्छिन्, तरकारी खेती सुरु गरेपछि घरको सम्पूर्ण जिम्मेवारी आफैले सम्हाल्न थालेकाे छु।
“पहिले त श्रीमानसँग पैसा मागेर घर खर्च चलाउनुपर्थ्यो। धेरै माग्दा कुरा सुन्नुपर्थ्यो,” उनले सम्झिइन्, “कृषि विकास कार्यालयबाट सरहरू आएर तालिम दिनुभयो। त्यसपछि बिस्तारै तरकारी खेती सुरु गर्यौँ। अहिले त राम्रै आम्दानी भइरहेको छ।”
भीमदत्त नगरपालिका–१६ का चेतराम रानाका अनुसार तरकारी खेती र व्यवसायले गाउँका महिलाहरूको आर्थिक, सामाजिक अवस्था र भूमिकामा आमूल परिवर्तन ल्याएको छ। महिलाहरू पुरुषभन्दा कम खर्च गर्ने, तरकारी बेचेर आएको रकम बचत गरेर वर्षभरि व्यवस्थापन गर्ने भएकाले उनीहरू आर्थिक रूपमा अझ सबल बनेका छन्।
“पहिले महिलाहरूले हरेक कामका लागि श्रीमानसँग पैसा माग्नुपर्ने अवस्था थियो, तर अहिले ठ्याक्कै उल्टो छ,” चेतरामले भने, “५० प्रतिशत महिलाले आफूले कमाएर श्रीमानलाई खर्च दिने गरेका छन्। कमाउँछन् र बचाउँछन् पनि।”
तरकारी खेतीले राना थारु समुदायका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाएपछि घरपरिवारदेखि समाजसम्म उनीहरूको जिम्मेवारी र भूमिका फेरिएको नयाँ कटानकै बाबुराम रानाले बताए। तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनको घरमा पनि अधिकांश जिम्मेवारी बुहारीकै काँधमा पुगेको छ।
“पहिले घर चलाउने जिम्मेवारी पुरुषको काँधमा हुन्थ्यो, महिलाहरू घरधन्दामै व्यस्त हुन्थे,” उनले भने, “तर अहिले त्यस्तो छैन। जसले पैसा कमाउँछ, उसैले घर चलाउँछ। मेरो घर व्यवहार सबै बुहारीले नै गर्छिन्। घर चलाउने जिम्मेवारी पनि उनकै छ, निर्णय पनि उनकै चल्छ।”
नयाँ कटानकै कविता रानाले तरकारी खेतीबाट आफू आत्मनिर्भर बनेको बताइन्। पहिले घरमा खानका लागि मात्र तरकारी लगाउने उनी अहिले व्यावसायिक खेतीमार्फत घर खर्च आफैँ चलाउँछिन्। दैनिक दुई हजार रुपैयाँसम्म कमाइ हुने भएकाले आफ्नै समुदायले बनाएको समूहमा मासिक छ हजार रुपैयाँ बचतसमेत गर्छिन्।
“अब त कसैसँग हात थाप्नुपर्दैन,” कविता गर्वका साथ भन्छिन्, “पहिले केही किन्न पर्यो भने अरूसँग माग्नुपर्थ्यो। अचेल आफैँ तरकारी खेती गर्छु, बेचेर आएको पैसा पनि आफैँ राख्छु। खर्चदेखि बचत गर्ने सबै मेरै हातमा छ।”
नयाँ कटानका राना थारु महिलाहरूका लागि तरकारी खेती केवल आयआर्जनको माध्यम मात्र बनेको छैन; यसले उनीहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र निर्णयक्षमता बढाएको छ। खेतबारीमा उम्रिएका हरिया तरकारीसँगै उनीहरूको जीवनमा पनि नयाँ सम्भावनाका पालुवा पलाएका छन्।
आत्मनिर्भरता र आत्मसम्मान

तरकारी खेतीले आर्थिक हैसियत बदलिएपछि महिलाहरू समूह र सहकारीमा मात्रै सीमित छैनन्; उनीहरू उत्पादनदेखि बिक्रीका लागि बजार पुग्ने, आर्थिक निर्णय लिने र नेतृत्व प्रक्रियामा सक्रिय सहभागिता जनाउने तहसम्म पुगेका छन्। यसले उनीहरूको आत्मविश्वास र आत्मसम्मान उल्लेखनीय रूपमा बढाएको छ।
तरकारी खेतीबाट आर्थिक रूपमा सबल भएपछि घरपरिवारदेखि समाजसम्म आफ्नो महत्त्व बढेको नयाँ कटानकी बसन्ती राना बताउँछिन्। “पहिले त सबै कुराका लागि श्रीमान् र ससुरासँग पैसा माग्नुपर्ने हुन्थ्यो। आर्थिक रूपमा कमजोर हुँदा घरमै पनि त्यति महत्त्व पाइँदैनथ्यो,” बसन्तीले भनिन्, “अहिले त कतै केही गर्नुपर्यो भने उद्यमी महिला भनेर बोलाउँछन्। नजानेको कुरा सोध्न आउँछन्। जानेको सिकाउन पाएकी छु। यसले पैसा, सम्मान र सन्तुष्टि सबै दिएको छ।”
नयाँ कटानकै गोमती राना अहिले चारवटा समूहमा बचत गर्दै आएकी छन्। “पहिले त केही किन्नुपर्यो भने श्रीमान्सँग पैसा माग्नुपर्थ्यो,” गोमतीले भनिन्, “अब कसैसँग हात थाप्नु पर्दैन। आफैँले कमाएर आफैँ खर्च गर्न सक्छु। चारवटा समूहमा त बचत नै गर्छु।”
भीमदत्त नगरपालिका–१४ र १६, नयाँ कटानमा झन्डै ४३ परिवार राना समुदायको बसोबास छ। शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा अर्जुनी क्षेत्रबाट विस्थापित भएका उनीहरू अहिले पनि निकुञ्जकै मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका छन्। उनीहरूलाई २०४५ सालमा सट्टाभर्ना गरी नयाँ कटानमा सारिएको हो।
भीमदत्त नगरपालिकाका अनुसार यहाँका ४१ राना थारु परिवारका महिलाहरू व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। उनीहरूले एकल तथा सामूहिक रूपमा उत्पादन, बचत र बजार व्यवस्थापन गर्दै आएका छन्।
यसरी व्यावसायिक तरकारी खेतीमा संलग्न सीमान्तकृत राना थारु महिलाहरूलाई स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा एनएनएसडब्लुए, निड्स नेपाल लगायतका सङ्घसंस्थाले निरन्तर सहयोग गर्दै आएका छन्।
एनएनएसडब्लुएका सामाजिक परिचालक अनिला लावडका अनुसार तरकारी खेतीले यहाँका राना थारु महिलाहरूको आर्थिक तथा सामाजिक जीवनशैली नै परिवर्तन गरिदिएको छ। अहिले महिलाहरू तरकारीबाट आएको आम्दानी बचत गर्दै सहकारी सञ्चालन गर्नुका साथै होमस्टे व्यवसायसमेत गर्दै आएका छन्।
पहिले मौसमी तरकारी खेतीमा सीमित रहेका राना थारु महिलाहरूले संस्थाहरूबाट आईपीएम तालिम, टनेल प्रविधि तथा उन्नत जातका बीउबिजन पाएपछि अहिले मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गरिरहेका छन्। यति मात्र होइन, उनीहरूलाई कृषि पाठशाला तथा तरकारी खेतीसम्बन्धी प्रशिक्षकका रूपमा जिल्लाका विभिन्न स्थानमा बोलाइने गरिएको छ।
“पहिले उहाँहरूले सिजनमा थोरै क्षेत्रफलमा मात्रै तरकारी खेती गर्नुहुन्थ्यो,” अनिला लावडले भनिन्, “बीउबिजन, प्रविधि र नेतृत्व विकाससम्बन्धी तालिम तथा सहयोग पाएपछि अहिले आफैँ प्रशिक्षक बनेर अरूलाई तरकारी खेतीबारे सिकाउन जानुहुन्छ।”
कञ्चनपुरका स्थानीय तहहरूबाट प्राप्त तथ्यांकअनुसार यस वर्ष जिल्लामा व्यावसायिक तरकारी खेतीमा ७४८ राना महिला संलग्न छन्। चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट अनुदानका लागि छनोट भएकामध्ये २८६ राना थारु महिला रहेका छन्। तीमध्ये ६३ परिवार तरकारी खेतीमा र २२३ परिवार बगर खेतीमा संलग्न छन्।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ६,५३६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो। उक्त खेतीमा ठूलो संख्यामा महिलाहरू संलग्न रहे पनि व्यावसायिक तरकारी खेतीमा सीमान्तकृत राना थारु महिलाहरूको यकिन तथ्याङ्क भने उपलब्ध छैन।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरूका अनुसार अनुदानका लागि निवेदन दिने तथा स्थानीय तहमा दर्ता भएका कृषि समूहहरूमा अधिकांश महिलाहरू नै सक्रिय देखिन्छन्। “तरकारी खेती गर्नेहरूमध्ये करिब ७० प्रतिशत थारु तथा राना थारु महिलाहरू नै छन्,” उनले बताए।
“व्यावसायिक तरकारी खेती हेर्दा कृष्णपुर, बेलौरी, पुनर्वास, शुक्लाफाँटा र लालझाडीमा बढी देखिन्छ,” उनले भने, “अन्यत्र पनि खेती छ, तर यी पालिकामा बढी मात्रामा छ। त्यसमा अधिकांश राना थारु महिलाहरू नै संलग्न हुनुहुन्छ। उहाँहरूलाई विभिन्न तालिम, बजारीकरण, कृषि उपकरण, मल तथा बीउबिजनमा कार्यालयले सहुलियत दिँदै आएको छ।”
कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदाय नेपालको सीमान्तकृत समुदाय हो। राष्ट्रिय जनगणना २०७८ अनुसार राना थारु समुदायको जनसंख्या ८३ हजार ३०८ रहेको छ। कञ्चनपुरमा मात्रै ६० हजार २७७ राना समुदायको बसोबास छ। जसमध्ये २९ हजार ७१२ पुरुष र ३० हजार ८६३ महिला रहेका छन्।
तरकारी खेतीबाट आत्मनिर्भर बनेसँगै राना थारु महिलाहरू अन्य समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्। यद्यपि, सबै चुनौती समाप्त भइसकेका छैनन्। सिँचाइको अभाव, बजारको अनिश्चितता र आधुनिक प्रविधिमा सीमित पहुँच अझै पनि उनीहरूका प्रमुख चुनौती बनेका छन्।
महिला सशक्तीकरण

कञ्चनपुरको बेलौरी नगरपालिका–६, ढक्का चाँदरकी रिस्मति चौधरीले पनि अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छन्। पहिले घरमा खान र बढी भएको तरकारी टोकरीमा राखेर बेच्ने उनी अहिले १३ कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएकी छन्।
‘महिला सशक्त, महिला समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत आर्थिक सशक्तीकरणका लागि व्यवसाय विकास योजनासम्बन्धी १८ दिने तालिम लिएपछि उनी व्यावसायिक तरकारी खेतीमा लागेकी हुन्। तालिमले बेमौसमी तरकारी उत्पादन, बजार व्यवस्थापन र व्यवसाय सञ्चालनबारे व्यवहारिक ज्ञान दिएको उनी बताउँछिन्।
“पहिले त केही थाहा थिएन। अलिअलि तरकारी लगाउँथेँ, त्यसलाई टोकरी र साइकलमा बेच्न जान्थेँ,” रिस्मतिले भनिन्, “अहिले त तालिमबाट धेरै कुरा सिकियो। तरकारी पनि बढी लगाउँछु, प्रचार पनि भयो, व्यापारी पनि थोकमै लिन घरमै आउँछन्।”
रिस्मति मात्रै होइन, बेलौरी नगरपालिका–६ का २९ जना महिलाहरू अहिले व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। तालिमपछि उनीहरू आयआर्जनमुखी कृषि व्यवसायमा आकर्षित भएका हुन्।
यस्तै, बेलौरी नगरपालिका–५, शोभा तालकी रिमा चौधरीले मिठाई तथा खाजा पसल सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेकी छन्। आर्थिक सशक्तीकरणसम्बन्धी तालिम र २८ हजार रुपैयाँ बिउँ पुँजी पाएपछि उनले आफ्नै व्यवसाय सुरु गरेकी हुन्।
स्थानीय तहले उनलाई खाजा बनाउन आवश्यक भाँडाकुँडा उपलब्ध गराएको थियो। ‘महिला सशक्त, महिला समृद्ध नेपाल’ कार्यक्रम र बेलौरी नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त व्यवसायबाट अहिले मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनले बताइन्।
“पहिले त घरमा यत्तिकै बस्थ्यौँ,” रिमाले भनिन्, “तालिमपछि केही गरौँ भनेर व्यवसाय सञ्चालन गरियो। अहिले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी भइरहेको छ। स्थानीय तहले आवश्यक भाँडाकुँडा दियो, र कार्यक्रमबाट २८ हजार रुपैयाँ बिउँ पुँजी पायौँ। त्यसले व्यवसाय सञ्चालन गर्न र आत्मनिर्भर बन्न निकै सहयोग गर्यो।”
महिला सशक्त, महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत बेलौरीका महिलाहरूलाई आवश्यकताअनुसार विभिन्न तालिम प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन गरिरहेको आस्मान नेपालका सुदूरपश्चिम संयोजक सृजन नेपाली का अनुसार वडा नम्बर ५ र ८ का ४४ जना महिलालाई मिठाई तथा खाजा बनाउने तालिम दिइएको थियो भने वडा नम्बर ३ र ६ का ५१ जना महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको थियो।
उनका अनुसार महिलाहरूको सशक्तीकरणका लागि बेलौरी नगरपालिकाले तरकारी खेतीको बजारीकरण गर्न हाटबजार सञ्चालनका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसले महिला सशक्तीकरण र उनीहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.