तान्त्रिक टुरले खोल्यो लैङ्गिकताको इतिहास, भत्किदै पश्चिमी भ्रम

तान्त्रिक टुरले खोल्यो लैङ्गिकताको इतिहास, भत्किदै पश्चिमी भ्रम

19
SHARES

टुरिस्टहरूका लागि मात्र होइन, आफूले जिइरहेको जीवनलाई कसरी अझ सार्थक बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्न पनि यो तालिम उपयोगी बन्यो। यसले ज्ञानको स्तर उल्लेखनीय रूपमा बढाइदियो। हाम्रो समुदाय आजको होइन, पहिलेदेखि नै अस्तित्वमा थियो। संसार केवल पुरुष र महिलाको मात्र कथा होइन; विविध लैङ्गिक पहिचान र यौनिकताको पनि आफ्नै इतिहास, संस्कृति र स्थान छ। समावेशितालाई कसरी सहज रूपमा स्वीकार गर्न सकिन्छ भन्ने कुरा तीन दिने तालिमले अत्यन्त स्पष्ट बनायो। किनभने, यस्ता धेरै कुरा थिए, जसबारे सहभागीहरूलाई पहिले जानकारी नै थिएन। तन्त्र हेरिटेज टुर गाइड तालिममा सहभागी एक जनाले आफ्नो अनुभव यसरी सुनाए।

अर्का एक सहभागीले भने, “मन्दिरहरू घुम्दा सेक्सलाई जीवनसँग कसरी जोडिएको रहेछ भन्ने कुरा थाहा पाएँ। लैङ्गिक पहिचानबारे गहिरो रूपमा बुझ्न पाएँ। तेस्रोलिंगी समुदायलाई हाम्रो सभ्यता र संस्कृतिले कति समावेश गरेको रहेछ भन्ने देख्न पाएँ।”

यो ऐतिहासिक सत्य उजागर गर्ने काम पहिलो संविधानसभाका समलिङ्गी सभासद् सुनिल बाबु पन्तले गरे।

तान्त्रिक टुर गाइड तालिमका क्रममा पन्तले लैङ्गिकता सम्बन्धी प्रचलित भ्रम र त्यसको गहिरो वास्तविकताबारे विस्तृत व्याख्या गरे। उनले विशेष गरी आधुनिक समाजमा व्यापक रूपमा प्रयोग हुने ‘सिसजेण्डर’ र ‘ट्रान्सजेण्डर’ जस्ता अवधारणामाथि गम्भीर प्रश्न उठाए।

“लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमा को सिसजेण्डर र को ट्रान्सजेण्डर?” यो प्रश्न आधुनिक, प्रगतिशील र समावेशी जस्तो सुनिन्छ। तर, पन्तका अनुसार यसको बौद्धिक जरा गहिरो रूपमा पश्चिमी चिन्तनमा गाडिएको छ। पश्चिमी अवधारणाअनुसार अधिकांश मानिस जन्मकै आधारमा तोकिएको लिङ्गमा रहन्छन्, जसलाई सिसजेण्डर भनिन्छ। अल्पसंख्यक भने जन्ममा तोकिएको लिङ्गभन्दा फरक पहिचानमा बाँच्ने ट्रान्सजेण्डर हुन्छन्।

यो ढाँचा समावेशी देखिए पनि, पन्तको विश्लेषणमा यसले मूल शक्ति संरचनालाई चुनौती दिँदैन। किनभने, सिस होस् वा ट्रान्स, सुरुवात उही स्थानबाट हुन्छ-जन्मका बेला अरूले तोकिदिएको लैङ्गिकता। अधिकार डाक्टर, राज्य र पितृसत्तात्मक परिवारमा निहित रहन्छ। प्रतिरोध पनि त्यही संरचनासँगको सम्बन्धमा परिभाषित हुन्छ। संरचना भत्किँदैन, केवल आफ्नो दायरा विस्तार गर्छ।

पन्तले स्पष्ट पारे, नेपालसहित धेरै आदिवासी संस्कृतिहरूमा जन्मकै क्षणमा लिङ्गलाई यति कठोर रूपमा कहिल्यै निर्धारण गरिएको थिएन। शारीरिक चिन्हका आधारमा बच्चालाई छोरा, छोरी वा अन्तरलिंगीका रूपमा चिनिन सक्थ्यो। तर, त्यो केवल सुरुवात मात्र थियो; मानव प्रकृतिको अन्तिम सत्य होइन।

व्यक्ति हुर्कँदै जाँदा शरीर, मन, भावना, सामाजिक भूमिका र आध्यात्मिक पहिचानका अनेक आयामहरू प्रकट हुन्छन्। लिङ्ग एकपटक तोकिएर समाप्त हुने वस्तु होइन; यो जीवनसँगै विकसित हुने प्रक्रिया हो। यही कारणले नेपालका परम्परा र तान्त्रिक दर्शनले बहुलैंगिक मार्गलाई विचलनका रूपमा होइन, प्राकृतिक मानव विविधताको अभिन्न अंशका रूपमा स्वीकार गरेका छन्।

कुनै व्यक्ति महिला, पुरुष वा तेस्रोलिंगी पहिचानतर्फ विकसित हुन सक्छ। यी जन्मका विरोधाभास होइनन्; जीवनका निरन्तरता हुन्। यही दृष्टिकोणबाट हेर्दा सिस र ट्रान्सबीचको कठोर विभाजन आफैँ कमजोर हुन थाल्छ।

यदि लिङ्ग शरीर, मन, भावना, समाज र आत्माले निरन्तर आकार दिइरहेको प्रक्रिया हो भने, वास्तवमा स्थिर को छ? को पूर्ण रूपमा पूर्वनिर्धारित छ? पन्तका अनुसार, हामी सबै समयसँगै लैङ्गिक भूमिकासँग संवाद गर्दै, परिवर्तन हुँदै र आफैँलाई पुनर्निर्माण गर्दै बाँचिरहेका छौँ।

पश्चिमी ढाँचाको मूल समस्या यही हो-यसले मानव जटिलतालाई दुई फरक तर सरलीकृत सीमामा बाँधिदिन्छ। परम्परागत पश्चिमी सोचले लिङ्गलाई केवल शरीर रचनामा सीमित गर्छ। जन्मँदा शरीर जस्तो छ, व्यक्ति त्यही हो भन्ने निष्कर्ष निकाल्छ। अर्कोतर्फ, केही तथाकथित प्रगतिशील धारले लिङ्गलाई केवल आत्मपहिचानमा सीमित गर्छ, शरीरबाट अलग्गै।

पन्तका अनुसार, यी दुवै सरलीकरण हुन्। दुवैले मानव विविधताको वास्तविक गहिराइलाई समतल बनाइदिन्छन्। र, फरक तरिकाले, दुवैले ठूला आर्थिक र राजनीतिक संरचनाहरूलाई सेवा गर्छन्।

पहिलो, कठोर लैङ्गिक संक्रमणको वरिपरि विशाल चिकित्सा अर्थतन्त्र निर्माण भएको छ-शल्यक्रिया, जीवनभरको हर्मोन उपचार, र निरन्तर चिकित्सकीय हस्तक्षेप। कतिपयका लागि यी जीवनदायी हुन सक्छन्। तर, प्रणालीगत तहमा यसले निर्भरता र विशाल बजार पनि सिर्जना गर्छ। शरीर निरन्तर चिकित्सा उपभोगको स्थलमा रूपान्तरण हुन्छ।

दोस्रो, पितृसत्तात्मक बाइनरी सोच पूँजीवादका लागि अत्यन्त उपयोगी छ। जन्मद्वारा परिभाषित होस् वा पहिचानद्वारा, दुई स्थिर वर्गमा विभाजित समाजलाई व्यवस्थापन गर्न सजिलो हुन्छ। यसका लागि कानुन, पूर्वाधार र सामाजिक प्रणालीमा कम लगानी आवश्यक पर्छ।

यदि लैङ्गिक विविधताको फराकिलो स्पेक्ट्रमलाई पूर्ण रूपमा स्वीकार गरियो भने, समावेशी नीतिहरू, पुनःडिजाइन गरिएका संस्थाहरू, विस्तारित कल्याणकारी प्रणाली र गहिरो सामाजिक रूपान्तरण आवश्यक पर्छ। बाइनरी प्रणाली (चाहे पुरुष–महिला होस् वा सिस–ट्रान्स) शासनलाई सरल राख्छ र लागत घटाउँछ।

त्यसैले भाषा परिवर्तन भए पनि, अन्तर्निहित संरचना यथावत् रहन सक्छ-नियन्त्रित वर्गहरू, व्यवस्थित जनसंख्या, र सीमित राज्यीय दायित्व।

पन्तले जोड दिए, तेस्रोलिंगी, ट्रान्सजेण्डर व्यक्तिहरूको मर्यादा र अधिकारका लागि सङ्घर्ष वास्तविक, अपरिहार्य र न्यायोचित छ। भेदभाव, हिंसा र बहिष्कारविरुद्ध लड्नैपर्छ। तर, त्यसका लागि प्रयोग गरिने वैचारिक ढाँचाले अनजानमा त्यही दमनकारी संरचनालाई बलियो बनाउनु हुँदैन।

नेपालसँग संसारलाई प्रस्ताव गर्न आफ्नै विशिष्ट दृष्टि छ। नेपालको इतिहास, दर्शन र तान्त्रिक परम्पराले पहिचान जन्ममै स्थिर हुँदैन भन्ने स्वीकार गर्छ। न त यो केवल आत्मघोषणामा सीमित हुन्छ। यो सम्बन्धात्मक छ, विकसित हुँदै जाने प्रक्रिया हो, र भौतिक, ऊर्जात्मक तथा आध्यात्मिक आयामसँग गहिरो रूपमा जोडिएको छ।

लिङ्ग कुनै स्थिर वर्ग होइन; यो निरन्तर चलिरहने प्रक्रिया हो।

पन्तका अनुसार, नेपाललाई समलैंगिक-समावेशी, आध्यात्मिक र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दा, पश्चिमी वर्गीकरणलाई यथावत् आयात गर्नु उपयुक्त हुँदैन। नेपालले आफ्नै ज्ञान प्रणालीबाट नेतृत्व गर्नुपर्छ-जुन कठोर जन्म-निर्धारणबाट सुरु हुँदैन, बाइनरी वर्गीकरणमा समाप्त हुँदैन, र मानव विविधतालाई प्रशासनिक सुविधामा सीमित गर्दैन।

अन्ततः, मूल प्रश्न केही मानिस सिस हुन् र अरू ट्रान्स भन्ने होइन। गहिरो प्रश्न यो हो-हामी किन अझै पनि मानव जीवनलाई यस्ता वर्गीकरणमा बाँधिरहन्छौँ, जसले हामी वास्तवमा को हौँ भन्ने बुझाइलाई सीमित गरिदिन्छ?

लिङ्ग जन्ममा एकपटक दिइने वस्तु होइन। न त यो एक्लै रोजिने निर्णय मात्र हो। यो त त्यस्तो जीवन्त प्रक्रिया हो, जसलाई हामी सँगै बाँच्छौँ, हुर्काउँछौ, अनुभव गर्छौँ र निरन्तर रूपान्तरण गरिरहन्छौँ।

सहभागीहरूले यो तालिमलाई अध्ययन र आत्मविकासको दुर्लभ अवसरका रूपमा लिए। “हामीलाई अझै ग्रो हुने प्लेटफर्म मिल्यो। तीन दिनमै जति ज्ञान हासिल गर्‍यौँ, त्यो आफैँमा ठूलो लर्निङ अवसर हो। नेपालको पुरानो इतिहासमा पनि थर्ड जेण्डरलाई कति सम्मानपूर्वक समेटिएको रहेछ भन्ने थाहा भयो। हरेक परम्परालाई हेर्ने एउटा नयाँ दृष्टिकोण पायौँ,” उनीहरूले सुनाए।

पर्यटन क्षेत्र आफैँमा धेरैका लागि नयाँ थियो। यो तालिमले उनीहरूको सोचको नयाँ ढोका खोलिदियो। “थर्ड आइ खुलेजस्तै भयो। नयाँ ज्ञान प्राप्त गर्‍यौँ। यस्ता विषयलाई कोर्स बुकमै समावेश गर्नुपर्छ। पितृसत्तात्मक समाजको मात्रै चर्चा गर्ने चलन छ, तर हाम्रो इतिहासमा मातृसत्तात्मक अभ्यास पनि रहेछन्। यसको बारेमा सचेतना फैलाउन अत्यन्त आवश्यक छ,” सहभागीहरूले बताए।

कतिपयका लागि त यो खोज झन् चकित पार्ने खालको रह्यो। “गणेश थर्ड जेण्डरको अवधारणाबारे सुनेको पनि थिइनँ। एलजीबीटीआईलाई आधुनिक ट्रेन्ड र प्राइडलाई नयाँ अभियान ठानिन्थ्यो। तर, नेपालमा त इतिहासदेखि नै यस्तो पहिचान रहेछ। यो कुरा धेरैलाई थाहा गराउन जरुरी छ,” उनीहरूले भने।

सजना भडेलका अनुसार, “काठमाडौं आफैँमा कति लैङ्गिक तरलतायुक्त शहर रहेछ भन्ने यो तालिमले देखायो।” काठमाडौँ महानगरपालिकाको सहयोगमा मायाको पहिचान नेपालले गेट नेपालसँगको सहकार्यमा, तान्त्रिक अभ्यासकर्ता तथा इन्द्रेणी पर्यटन एम्बेसडर सुनिल बाबु पन्तको नेतृत्वमा तीन दिने तान्त्रिक तथा सम्पदा भ्रमण गाइड तालिम सम्पन्न भएको हो।

“यो एउटा आँखा खोल्ने सिकाइ अनुभव थियो, जसले लिङ्ग, आध्यात्मिकता र पहिचानबारे नेपालको दर्शनलाई अझ गहिरो रूपमा बुझ्न सहयोग गर्‍यो,” उनले भनिन्।

गेट नेपालमार्फत महिला सशक्तीकरणमा लगभग एक दशक काम गरेपछि, र हाल महिला नेतृत्वको ट्राभल कम्पनी सञ्चालन गरिरहेकी भडेलका लागि यो तालिमले थप स्पष्टता र आत्मविश्वास प्रदान गर्‍यो। “यसले हामीले नेपालको जीवन्त परम्परालाई विश्वसँग कसरी साझा गर्ने भन्ने कुरालाई बलियो बनाउँछ। सरकारी निकाय र पर्यटन क्षेत्रका सरोकारवालाहरूले यी अमूल्य सम्पदाहरूको संरक्षण र दस्तावेजीकरणमा गम्भीर हुनुपर्छ। उचित हेरचाह र जिम्मेवारीका साथ नेपाललाई आफ्नै इतिहास र ज्ञान प्रणालीमा आधारित मातृसत्तात्मक तथा समलैंगिक-समावेशी पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिन्छ,” उनले भनिन्।

अहिलेसम्म पर्यटकहरूलाई घुमाउँदा प्रायः ठूला र चर्चित सम्पदाहरू मात्र देखाइन्थ्यो। साना मन्दिरहरूलाई त व्यक्तिगत रूपमा समेत खासै याद गरिँदैनथ्यो। “अतिथिलाई त झन् देखाउने कुरा परै जाओस्। तर, ती साना मन्दिरभित्र पनि असंख्य कथा लुकेका रहेछन् भन्ने थाहा भयो। त्यसलाई हेर्न, बुझ्न र अनुभव गर्न पायौँ,” सहभागीहरूले बताए।

उनीहरूका अनुसार, यो प्रक्रिया निरन्तर हुनुपर्छ। काठमाडौँभरि मात्र होइन, मनकामनाजस्ता धार्मिक क्षेत्रसम्म यस्तो भ्रमण विस्तार गर्न सकिन्छ। धामी–झाँक्री परम्परालाई समेत पर्यटन उद्योगसँग जोडेर नयाँ प्याकेज विकास गर्न सकिने उनीहरूको विश्वास छ। “नेपालमा मौलिक पर्यटन उत्पादनको खाँचो छ। यस्तो तान्त्रिक, सांस्कृतिक र लैङ्गिक समावेशितामा आधारित पर्यटन साँच्चै उत्कृष्ट उत्पादन बन्न सक्छ,” उनीहरू भन्छन्।

नेपालका मन्दिरहरूका मूर्तिहरूमा केवल पुरुष र महिलाको मात्र चित्रण छैन। त्यहाँ पुरुष–पुरुष, महिला–महिला समलिङ्गी सम्बन्धका दृश्यहरू छन्। तेस्रोलिंगी पहिचानलाई पनि स्पष्ट रूपमा अङ्कित गरिएको छ। शताब्दीयौं पुराना ऐतिहासिक दस्ताबेजहरूले देखाउँछन्,मानिस जन्मँदा बालक, बालिका वा अन्तरलिंगी हुन सक्छ। तर, कतिपय व्यक्तिहरू जन्ममा तोकिएको लैङ्गिकताभन्दा फरक पहिचानसहित जीवन बिताउँछन्। मानव सभ्यताको सुरुवातदेखि नै उनीहरूले छुट्टै स्थान र पहिचान पाएका छन्।

आजजस्तो ‘एलजीबीटीआईक्यूए+’ भन्ने शब्दावली प्रचलनमा थिएन। तर, समलिङ्गी, दुईलिंगी, अन्तरलिंगी र तेस्रोलिंगी पहिचान समाजमा विद्यमान थिए। यही ऐतिहासिक निरन्तरताले आजको अधिकार आन्दोलनलाई आधार दिएको छ।

ब्लु डायमन्ड सोसाइटीले प्रकाशित गरेको ‘बारम्बार सोधिने प्रश्न’ पुस्तिकाले समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी व्यक्तिहरूको परिभाषा र पहिचानबारे स्पष्ट जानकारी दिएको छ। यसै सन्दर्भमा, २०६४ पुस ६ गते सर्वोच्च अदालतले सुनिल बाबु पन्त विरुद्ध नेपाल सरकार रहेको ऐतिहासिक रिटमा पुरुष र महिला मात्र नभई तेस्रोलिंगी पनि हुन्छन्, र उनीहरूलाई समान अधिकार तथा कानुनी पहिचान दिनुपर्ने निर्देशनात्मक आदेश जारी गरेको थियो।

त्यसअघि समुदायसँग आफ्नो अस्तित्व पुष्टि गर्ने सर्वोच्च कानुनी प्रमाण थिएन। उनीहरू पहिचानका भोका थिए। त्यो तिर्खा मेटाउने ऐतिहासिक काम पन्तको साहसले पुरा गर्‍यो। सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालयले २०६९ पुस १६ गते परिपत्र जारी गर्दै ‘अन्य’ पहिचानसहित नागरिकता वितरणको व्यवस्था गर्‍यो। राज्य पहिलो पटक विविध लैङ्गिक पहिचानलाई औपचारिक रूपमा स्वीकार्न तयार भयो।

गृह मन्त्रालयको पछिल्लो अभिलेखअनुसार, निर्वाचनअघिसम्म १,६३५ जनाले ‘अन्य’ पहिचानमा नागरिकता प्राप्त गरिसकेका छन्। नेपालको संविधानले पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई संवैधानिक पहिचान प्रदान गरेको छ। सर्वोच्च अदालतको आदेशबाट सुरु भएको यो यात्रा संविधानसम्म आइपुगेको छ।

अब समुदायको सङ्घर्ष केवल पहिचानमा सीमित छैन। राज्यका नीति निर्माण तहमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने दोस्रो चरणको अभियान पन्तले अघि बढाइरहेका छन्।

पहिचानको अभियानले सहभागिताको ढोका पनि खोलेको छ। समलिङ्गी–तेस्रोलिंगी जोडीहरूको विवाह स्थानीय तहमा दर्ता हुन थालेको छ। लुम्बिनी प्रदेश लोक सेवा आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि आरक्षण व्यवस्था लागू गरेको छ। सरकारी सेवा प्रवेशका लागि नयाँ सम्भावनाका ढोकाहरू खुलेका छन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू राजनीतिमा पनि सक्रिय सहभागी हुन थालेका छन्। शताब्दीयौंदेखि अस्तित्वमा रहेको पहिचान आज कानुन, नीति र सार्वजनिक जीवनमा दृढ रूपमा स्थापित हुँदै गएको छ।

 

 

समाचार शेयर गर्नुहोस्
19
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.