गौतम बुद्ध हिउँले ढाकिएको हिमालयजस्तै हुनुहुन्छ। पर्वत त अरू पनि छन्, हिमाच्छादित पर्वतहरू पनि छन्, तर हिमालय अतुलनीय छ। त्यसको कुनै उपमा छैन। हिमालय त हिमालयजस्तै हो। गौतम बुद्ध त गौतम बुद्धजस्तै हुन्। सम्पूर्ण मानव जातिको इतिहासमा त्यस्तो महिमामय नाम अर्को छैन। गौतम बुद्धले जति हृदयहरूको वीणालाई झङ्कारित गर्नुभयो, त्यति अरू कसैले गरेन। गौतम बुद्धमार्फत जति मानिसहरू जागे र जति मानिसहरूले परम-भगवत्ता प्राप्त गरे, त्यति अरू कसैमार्फत भएन।
गौतम बुद्धको वाणी अद्वितीय छ। विशेष गरी तिनीहरूका लागि, जो सोच-विचार, चिन्तन-मनन र विमर्शका अभ्यस्त छन्।
हृदयले भरिएका मानिसहरू सजिलै परमात्मातर्फ अघि बढ्छन्। तर हृदयले भरिएका मानिसहरू कहाँ छन्? र हृदयले भरिने कुनै उपाय पनि त छैन। हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन। यस्तो आकस्मिक, नैसर्गिक कुरामा भर पर्न सकिँदैन। बुद्धले तिनीहरूलाई चेताए, जसलाई चेताउन सबैभन्दा कठिन छ जो मविचारले भरिएका, बुद्धिवादी, चिन्तन-मननशील छन्।
प्रेम र भावनाले भरिएका मानिसहरू त सहजै परमात्मातर्फ झुक्छन्,उनीहरूलाई झुकाउनुपर्दैन। कसैले नभने पनि उनीहरू आफैँ पुग्छन्; उनीहरूलाई पुर्याउनुपर्दैन। तर त्यस्ता मानिसहरू निकै थोरै छन्, र तिनीहरूको संख्या दिनदिनै घट्दै गएको छ। औँलामा गन्न सकिने जति मात्र छन्।
मानवको विकास मस्तिष्कतर्फ भएको छ। मानिस मस्तिष्कले भरिएको छ। त्यसैले जहाँ जीसस हार्छन्, जहाँ कृष्णको प्रभाव बस्दैन, त्यहाँ पनि बुद्ध हार्दैनन्,त्यहाँ पनि बुद्ध मानिसको अन्तरतम प्राणसम्म पुग्छन्।
बुद्धको धर्मलाई बुद्धिको धर्म भनिएको छ। यसको आरम्भ बुद्धिबाट हुन्छ, अन्त भने बुद्धिमा हुँदैन। सुरु बुद्धिबाट हुन्छ, किनकि मानिस त्यहीँ उभिएको छ। तर यसको अन्त त परम अतिक्रमणमा हुन्छ, जहाँ सबै विचार हराउँछन्, सबै बुद्धिमत्ता विसर्जित हुन्छ,जहाँ केवल साक्षी, मात्र साक्षी मात्र बाँकी रहन्छ। तर बुद्धको प्रभाव ती मानिसहरूमा तुरुन्त अनुभव हुन्छ, जो सोच-विचारमा निपुण छन्।
बुद्धसँगै मानव जातिको एक नयाँ अध्याय सुरु हुन्छ। पच्चीस सय वर्षअघि बुद्धले त्यस्तो कुरा भने, जुन आज पनि अर्थपूर्ण लाग्छ, र आउने शताब्दीसम्म पनि अर्थपूर्ण रहनेछ। बुद्धले विश्लेषण दिए,उनले सूक्ष्म विश्लेषण गरे, त्यस्तो कहिल्यै कसैले गरेन, र फेरि कसैले गर्न सकेन। उनले जीवनका समस्याहरूका उत्तर शास्त्रबाट होइन, विश्लेषणको प्रक्रियाबाट दिए।
मेरो उज्यालोमा नहिँड, किनकि तिमी मेरो उज्यालोमा केही बेर उज्यालो हुनेछौ,त्यसपछि हाम्रो बाटो अलग हुन्छ। मेरो उज्यालो मसँगै रहनेछ, तिम्रो अँध्यारो तिमीसँगै रहनेछ। आफ्नो उज्यालो आफैँ पैदा गर-“अप्प दीपो भव!”
बुद्ध धर्मका पहिलो वैज्ञानिक हुन्। उनको साथमा श्रद्धा र आस्थाको आवश्यकता छैन। उनको साथमा त बुझाइ पर्याप्त छ। यदि तिमी बुझ्न तयार छौ भने, तिमी बुद्धको डुङ्गामा सवार हुनेछौ। यदि श्रद्धा आउँछ भने, त्यो बुझाइको छाया मात्र हुनेछ। तर बुझाइभन्दा पहिले श्रद्धा चाहिन्छ भन्ने बुद्धको माग होइन। बुद्ध भन्छन्, “मैले भनेको कुरा नगर”। उनी भन्छन्-सोच, विचार गर, विश्लेषण गर; खोज, आफ्नै अनुभवबाट पाऊ, अनि विश्वास गर।
बुद्धलाई छोडेर संसारका सबै धर्महरूले विश्वासलाई पहिले राखेका छन्, संसारका सबै धर्महरूमा श्रद्धा प्राथमिक हुन्छ, अनि मात्र अगाडि बढिन्छ। बुद्धले भने, अनुभव प्राथमिक हो, श्रद्धा त्यसपछि आउने कुरा हो। अनुभव हुन्छ भने श्रद्धा आफैँ आउँछ। अनुभव हुन्छ भने आस्था आफैँ जन्मिन्छ।
त्यसैले बुद्ध भन्छन्, आस्थाको कुनै आवश्यकता छैन,अनुभवसँगै त्यो आफैँ आउँछ, तिमीले अलगै ल्याउनुपर्दैन। तिमीले आफैँ ल्याएको आस्थाको मूल्य पनि के हुन्छ? तिमीले ल्याएको आस्थाको पछाडि पनि तिम्रा शङ्का लुकेका हुन्छन्।
यदि तिमी जबरजस्ती विश्वास थोप्न खोज्छौ भने पनि, त्यस विश्वासको पछाडि अविश्वास उभिइरहन्छ। तिमी जति नै दृढ भएर विश्वास गर्न खोजे पनि, त्यो दृढता काँपिरहन्छ, र तिमीलाई थाहा भइरहन्छ जुन कुरा तिम्रो अनुभवमा आएको छैन, त्यसलाई तिमीले चाहे पनि कसरी मान्न सक्छौ? माने पनि, कसरी साँचो अर्थमा मान्न सक्छौ? तिम्रो ईश्वर केवल शब्दहरूको जाल हुनेछ, जबसम्म अनुभवको किरण त्यसमा नझरेको होस्। मुक्तिको अलिकति स्वाद तिमीले नचाखेसम्म तिम्रो मोक्षको धारणा केवल शब्दमै सीमित हुनेछ।
बुद्धले भने- ममाथि विश्वास नगर। म जे भन्छु, त्यसमा विश्वास नगर। सोच, विचार गर, बाँचेर हेर। तिम्रो आफ्नै अनुभवको कसौटीमा सही ठहरियो भने मात्र सही हुन्छ। मेरो भनाइले मात्र के सही हुन्छ र!
बुद्धका अन्तिम वचन हुन्-“अप्प दीपो भव”आफैँ आफ्नो दीप बन। अनि तिम्रो आफ्नै उज्यालोमा जे देखिन्छ, त्यसपछि तिमीले के गर्ने? आस्था नगरी के गर्ने? आस्था त सहज रूपमा आउँछ, त्यसको कुरा उठाउनु नै व्यर्थ हुन्छ।
बुद्धको धर्म विश्लेषणको धर्म हो। तर त्यो विश्लेषणमै अन्त्य हुँदैन, त्यहीँबाट सुरु हुन्छ। अन्ततः परम संश्लेषणमा हुन्छ। बुद्धको धर्म सन्देहको धर्म हो। तर यात्रा सन्देहबाट सुरु हुन्छ, त्यहीँ समाप्त हुँदैन। अन्ततः परम श्रद्धामा पुगेर हुन्छ।
त्यसैले बुद्धलाई बुझ्नमा ठूलो भूल भयो। किनकि बुद्ध सन्देहको भाषा बोल्छन्, त्यसैले मानिसहरूले उनलाई सन्देहवादी ठाने। हिन्दुहरूले समेत बुझ्न सकेनन्, जो सबैभन्दा पुरानो परम्परा भएका मानिसहरू हुन्। बुद्ध अवश्य नै अत्यन्त अनौठा थिए, त्यसैले त हिन्दुहरू पनि बुझ्न सकेनन्। उनीहरूलाई यो मानिस खतरनाक लाग्यो, डर लाग्दो लाग्यो। उनीहरूलाई लाग्यो-यसले धर्मका सबै आधारहरू भत्काइदिन्छ। तर यही मानिस हो, जसले धर्मका आधारहरू पहिलो पटक सही ढङ्गले स्थापना गर्यो।
श्रद्धामा पनि के कुनै आधार राख्न सकिन्छ? आधार त अनुभवमै राख्न सकिन्छ। अनुभवको छायाजस्तै श्रद्धा जन्मिन्छ। श्रद्धा अनुभवको सुगन्ध हो। र अनुभव बिना श्रद्धा अन्धी हुन्छ। अनि जसको श्रद्धासँग आँखा नै छैन, त्यसले तिमीलाई सत्यसम्म कसरी पुर्याउँछ?
बुद्धले ठूलो साहस गरे। बुद्धजस्ता व्यक्तिमा विश्वास गर्नु अत्यन्त सजिलो हुन्छ। उनको उठ्ने-बस्नेमा प्रामाणिकता हुन्छ। उनको प्रत्येक शब्दमा वजन हुन्छ। उनको सम्पूर्ण अस्तित्व नै स्वयंसिद्ध हुन्छ। त्यसमाथि श्रद्धा राख्न सजिलो हुन्छ। तर बुद्धले भने-मलाई आफ्नो बैसाखी नबनाऊ। यदि तिमी लङ्गडा छौ र मेरो बैसाखीको सहाराले हिँड्यौ भने, कति टाढासम्म हिँड्न सक्छौ? गन्तव्यसम्म पुग्न सक्दैनौ। आज म छु, भोलि म नहुन सक्छु, अनि तिमीले आफ्नै खुट्टामा हिँड्नुपर्छ। मेरो उज्यालोमा नहिँड, किनकि तिमी मेरो उज्यालोमा केही बेर उज्यालो हुनेछौ,त्यसपछि हाम्रो बाटो अलग हुन्छ। मेरो उज्यालो मसँगै रहनेछ, तिम्रो अँध्यारो तिमीसँगै रहनेछ। आफ्नो उज्यालो आफैँ पैदा गर-“अप्प दीपो भव!”
यो बुद्धको धम्मपद अनुभवको त्यो उज्यालो कसरी जन्माउन सकिन्छ भन्ने विश्लेषण हो। यहाँ श्रद्धाको कुनै माग छैन, कुनै आवश्यकता पनि छैन। त्यसैले मानिसहरूले बुद्धलाई नास्तिक भने। किनकि बुद्धले यो पनि भनेनन् कि तिमी परमात्मामा श्रद्धा गर।
बुद्धले जति बोले, सबै सङ्कलन नै हुन सकेको छैन। उनी धेरै बोले। तर जहाँ बोल्नु हुँदैनथ्यो, त्यहाँ बोलेनन्। ईश्वरको सम्बन्धमा एक शब्द पनि बोलेनन्। यो जोखिम पनि लिए-मानिसहरूले नास्तिक भन्नेछन्। आजसम्म मानिसहरूले नास्तिक भन्छन्। तर यति ठूलो आस्तिक कहिल्यै भएको छैन।
तिमी कसरी श्रद्धा गर्नेछौ? यदि तिमीलाई थाहा हुन्थ्यो भने तिमी श्रद्धा गर्थ्यौ। तिमीलाई थाहा छैन। यस्तो अज्ञानमा तिमी कसरी श्रद्धा गर्न सक्छौ? र अज्ञानमै तिमीले बनाएको श्रद्धा पनि अज्ञानकै इँटाले बनेको घर जस्तो हुन्छ; त्यसलाई तिमी परमात्माको मन्दिर कसरी भन्न सक्छौ? त्यो तिमीले डरमा बनाएर समातेको सहारा हुन सक्छ। मृत्युले डराएको हुन सक्छ, त्यसैले समातेको हुन सक्छ। यहाँ जीवन हातबाट निस्किँदै गएको जस्तो लागेर स्वर्गका कल्पना बनाएको हुन सक्छ। तर यी कल्पनाहरूबाट, डरमा उभिएका यस्ता धारणाहरूबाट, कहिल्यै कोही मुक्त भएको छ? यही कारणले मानिस अपाङ्ग बनेको छ, यही कारणले ऊ पक्षाघातजस्तै थिचिएको छ। त्यसैले बुद्धले ईश्वरको कुरा गरेनन्।
एच.जी. वेल्सले बुद्धका बारेमा भनेका छन् कि पृथ्वीमा यति ईश्वरीय व्यक्तित्व र यति ईश्वर-विरोधी व्यक्तित्व एउटैमा पाउन कठिन छ-“गॉडलाइक”र“गॉडलेस”! यदि तिमी ईश्वरीय प्रतिभा खोज्न निस्कियौ भने, बुद्धभन्दा बढी ईश्वरीय प्रतिभा कहाँ पाउनेछौ? यति ईश्वर-जस्तो, र फेरि पनि यति ईश्वर-शून्य! उनले ईश्वरको कुरा नै गरेनन्। यस शब्दलाई नै अशुद्ध माने। यसको उच्चारण नै गरेनन्। यसबाट यस्तो नसम्झ कि बुद्ध ईश्वर-विरोधी थिए। उनले उच्चारण गरेनन्, किनकि त्यो परम शब्द उच्चारण गर्न सकिँदैन।
उपनिषद् भन्छन्, ईश्वरको सम्बन्धमा केही भन्न सकिँदैन। बुद्धले त्यो पनि भनेनन्। उनी स्वयं परम उपनिषद् हुन्। उपनिषद् जहाँ समाप्त हुन्छ, त्यहाँ बुद्ध सुरु हुन्छन्। आखिर यति त भने-रोक्न सकेनन् कि ईश्वर निर्गुण हो। तर त्यसो भन्नाले निर्गुण पनि एउटा गुण बन्यो। ईश्वर निराकार हो, तर त्यसो भन्नाले निराकार पनि एउटा आकारजस्तै भयो। तर नबोली रहन सकेनन्। उपनिषद्का ऋषिहरू पनि बोले! मौनमै सम्हाल्नुपर्ने सम्पदा थियो, बोल्दा गुमाइदिए। बन्द मुट्ठी लाखको थियो, खुलेपछि दुई पैसाको भयो। त्यो कुरा यस्तो थियो कि भन्नु नै हुँदैनथ्यो। किनकि तिमी जे पनि भन्छौ, त्यो गलत हुन्छ। “परमात्मा निराकार हो”भन्नु पनि गलत हो, किनकि निराकार पनि एक धारणा हो। त्यो पनि आकारसँग सम्बन्धित हुन्छ,विपरीत भए पनि, सम्बन्धित हुन्छ।
निराकारको अर्थ के हुन्छ? जब अर्थ खोज्न जान्छौ, आकारकै सहारा लिनुपर्छ। निर्गुणको अर्थ के हुन्छ? जब परिभाषा दिन्छौ, गुणकै प्रयोग गर्नुपर्छ। यस्तो निर्गुणता पनि कस्तो निर्गुणता, जसलाई बुझाउन गुण चाहिन्छ! अनि यस्तो निराकार के निराकार, जसलाई बुझाउन आकार चाहिन्छ!
बुद्धभन्दा बढी कसैले बोलेका छैनन्, र बुद्धभन्दा बढी मौन पनि कोही छैन। बुद्धले कति बोले! अनुसन्धानकर्ताहरू भन्छन्-एउटै मानिसले यति बोले, कसरी सम्भव? उनीहरूलाई लाग्छ, धेरै कुरा पछि थपिएको हुनुपर्छ। तर केही पनि थपिएको होइन। बुद्धले जति बोले, सबै सङ्कलन नै हुन सकेको छैन। उनी धेरै बोले। तर जहाँ बोल्नु हुँदैनथ्यो, त्यहाँ बोलेनन्। ईश्वरको सम्बन्धमा एक शब्द पनि बोलेनन्। यो जोखिम पनि लिए-मानिसहरूले नास्तिक भन्नेछन्। आजसम्म मानिसहरूले नास्तिक भन्छन्। तर यति ठूलो आस्तिक कहिल्यै भएको छैन।
बुद्ध महा-आस्तिक हुन्। यदि परमात्माको बारेमा केही भन्न सम्भव छैन भने, मौन भएर इशारा गरेर बुद्धले नै केही भने।
पश्चिमका महान् चिन्तक विट्गिन्स्टाइनले आफ्नो अद्वितीय कृतिट्रेक्टेटसमा लेखेका छन्-जसको बारेमा केही भन्न सकिँदैन, त्यसको बारेमा पूर्ण मौन रहनु उचित हो। “जे भन्न सकिँदैन, त्यो भन्नु नै हुँदैन।”
यदि विट्गिन्स्टाइनले बुद्धलाई देखेका भए, उनी बुझ्थे। यदि बुद्धले विट्गिन्स्टाइनको वचन सुनेका भए, मुस्कुराएर स्वीकार गर्थे। पश्चिममा विट्गिन्स्टाइनलाई पनि नास्तिक भनियो। तर उनी नास्तिक होइनन्। जुन कुरा भन्न सकिँदैन, त्यो नबोल्नु नै राम्रो। बोल्दा बिग्रन्छ, गलत हुन्छ।
लाओत्सेले पनि आफ्नोताओ तेह किङको पहिलो वचनमै भने-सत्य भन्न सकिँदैन, र जे भनिन्छ त्यो असत्य हुन्छ। तर त्यसपछि पनि उनले सत्यका बारेमा धेरै भने। बुद्धले भनेनन्।
तिमी सोध्न सक्छौ—अनि बुद्धले भने के? बुद्धले स्वास्थ्यका बारेमा एक शब्द पनि भनेनन्; केवल रोगको विश्लेषण गरे, निदान गरे, औषधि दिए। बुद्धले भने-म वैद्य हुँ, दार्शनिक होइन। म तिम्रो रोगको विश्लेषण गर्छु, उपचार देखाउँछु,जब तिमी स्वस्थ हुन्छौ, तब तिमी आफैँ बुझ्छौ स्वास्थ्य के हो। म त्यसको बारेमा केही भन्दिनँ।
स्वास्थ्य जानिन्छ, भनिँदैन। रोग हटाउन सकिन्छ, बुझाउन सकिन्छ, बनाइन्छ, उपचार गरिन्छ । रोगका साथ धेरै कुरा गर्न सकिन्छ। तर स्वास्थ्य? जब रोग हुँदैन, त्यहीँ बाँकी रहने अवस्था नै स्वास्थ्य हो। त्यसतर्फ केवल सङ्केत गर्न सकिन्छ-मौनले। इशारा गर्न सकिन्छ-त्यो पनि प्रत्यक्ष होइन, धेरै सूक्ष्म रूपमा।
बुद्धको धर्मलाई शून्य वाद भनिएको छ। उनको धर्म शून्य वाद हो। तर यसबाट यस्तो नसम्झ कि शून्यमै उनको कुरा समाप्त हुन्छ। होइन, त्यहीँबाट त सुरु हुन्छ।
बुद्ध यस्तो उचाइको शिखर हुन्, जसको अन्तिम टुप्पो हामी देख्दैनौ । हाम्रो आँखाले केही टाढासम्म मात्र देख्न सक्छ, त्यसको आफ्नै सीमा छ। हाम्रो घाँटी पनि केही हदसम्म मात्र उठ्न सक्छ, त्यसको पनि सीमा छ। अनि बुद्ध अझै टाढा, अझै टाढा हराउँदै जान्छन्-हिउले ढाकिएका शिखरझैँ, बादलभन्दा पर! उनको प्रारम्भ त देखिन्छ, तर अन्त देखिँदैन। यही नै उनको महिमा हो जसले प्रारम्भलाई नै अन्त ठाने, उनीहरू भूलमा परे। सुरु त प्रारम्भबाटै गर्नुपर्छ; तर जति-जति तिमी माथि उठ्दै जान्छौ, अझ अगाडि, अझ अगाडि देखिँदै जान्छ।
धेरै मानिसहरूले बोलेका छन्। धेरैले मानवका रोगहरूको विश्लेषण गरेका छन्, तर त्यति सटिक रूपमा होइन। धेरैले सुन्दर ढङ्गले कुरा भनेका छन्, गहिरा प्रतीकहरू प्रयोग गरेका छन्। तर बुद्धको भनाइको शैली नै अलग छ, अभिव्यक्तिको तरिका नै फरक छ। जसले एकपटक सुने, ऊ समातियो। जसले एकपटक आँखामा आँखा मिलायो, ऊ फेरि भड्किन सकेन। जसले बुद्धको अलिकति झलक पनि पायो, उसको जीवन रूपान्तरित भयो।
आजभन्दा पच्चीस सय वर्ष पहिले, जुन दिन बुद्धको जन्म भयो, घरमा उत्सव मनाइयो। सम्राट्को घरमा छोरा जन्मिएको थियो, पूरै राजधानी सजिएको थियो। रातभर मानिसहरूले दीप जलाए, नाचे। त्यो उत्सवको क्षण थियो। बुढो सम्राट्को घरमा छोरा जन्मिएको थियो। धेरै दिनदेखिको प्रतीक्षा पूरा भएको थियो। पूरै राज्यको पुरानो अभिलाषा पूरा भएको थियो। मालिक बुढो हुँदै गइरहेका थिए र नयाँ मालिकको कुनै खबर थिएन। त्यसैले बुद्धको नाम सिद्धार्थ राखियो। सिद्धार्थको अर्थ हो-अभिलाषाको पूरा हुनु।
पहिलो दिन, जब दरबारको द्वारमा बाजा बज्दै थिए, सहनाई गुन्जिरहेको थियो, महलमा फूल बर्साइँदै थिए, चारैतिर प्रसाद बाँडिँदै थियो-त्यही बेला हिमालयबाट आएका एक वृद्ध तपस्वी द्वारमा आएर उभिए। उनको नाम असित थियो। सम्राट्ले पनि उनलाई अत्यन्त सम्मान गर्थे। असित कहिल्यै राजधानी आएका थिएनन्। जब कहिल्यै भेट्नु पर्ने हुन्थ्यो, तब शुद्धोदन, सम्राट् आफैँ उनलाई भेट्न जान्थे। उनीहरू बाल्यकालका साथी थिए। पछि शुद्धोधन सम्राट् बने, संसारका कार्यहरूमा व्यस्त भए। असित महान् तपस्वी बने, उनको ख्याति टाढासम्म फैलिएको थियो।
असितलाई द्वारमा देखेर शुद्धोधनले भने, “तपाईँ यहाँ! के भयो? कसरी आउनुभयो? कुनै समस्या छ? भन्नुहोस्।”
असितले भने, “होइन, कुनै समस्या छैन। तिम्रो घरमा छोरा जन्मिएको छ, त्यसका दर्शन गर्न आएको हुँ।”
शुद्धोधनले कुरा बुझ्न सकेनन्। यस्तो शुभ घडीमा असितजस्तो तपस्वी स्वयं आएका थिए। उनी हतारिँदै भित्र गए, नवजात शिशुलाई काखमा लिएर बाहिर आए।
असित झुके, र उनले शिशुको चरणमा आफ्नो टाउको राखे। भनिन्छ-शिशुले आफ्ना खुट्टाहरू असितका जटामा अल्झाइदिए। त्यसपछि मानौँ मानिसका जटामा बुद्धका खुट्टा सधैँका लागि अल्झिए-र मानिस त्यसबाट मुक्त हुन सकेन।
असित हाँस्न थाले, अनि रुन पनि थाले। शुद्धोधनले सोधे, “यस्तो शुभ क्षणमा तपाईँ किन रुनुहुन्छ?”
असितले भने, “तिम्रो घरमा जन्मिएको यो छोरा कुनै साधारण आत्मा होइन ,असाधारण छ। धेरै शताब्दीसम्म यस्ता आत्मा जन्मिँदैनन्। यो तिम्रा लागि मात्र सिद्धार्थ होइन, अनन्त मानिसहरूका लागि सिद्धार्थ हुनेछ। अनेकौका अभिलाषा यसबाट पूरा हुनेछन्। म हाँसिरहेको छु, किनकि यिनको दर्शन पाउन पाएँ। म हाँसिरहेको छु, प्रसन्न छु, कि यिनले मेरो जटामा आफ्ना खुट्टा अल्झायो।यो ठूलो सौभाग्यको क्षण हो।
तर म रोइरहेको छु, किनकि जब यो कली फुल्नेछ, जब यो फूल बन्नेछ, जब यिनको सुवास दिशा-दिशामा फैलिनेछ, र यिनको छायामा करोडौँ मानिसहरूले शान्ति पाउनेछन् त्यस बेला म रहनेछैन। मेरो यो शरीर अब छुट्ने बेला नजिक आइसकेको छ।”
असितले एउटा अत्यन्त अनौठो कुरा पनि भनेका छन्-अहिलेसम्म जन्म–मृत्युको चक्रबाट मुक्त हुने आकाङ्क्षा थियो, त्यो पूरा पनि भयो; तर आज पछुतो लाग्छ। यदि अझ एक जन्म पाइन्थ्यो भने, यस बुद्ध पुरुषका चरणमा बस्ने, यिनको वाणी सुन्ने, यिनको सुगन्ध पिउने, यिनको नशामा डुब्ने अवसर पाइन्थ्यो। आज पछुतो लाग्छ, तर म त मुक्त भइसकेँ। यो मेरो अन्तिम जन्म हो; अब यसपछि फेरि शरीर धारण गर्न सक्दिनँ। अहिलेसम्म सधैँ प्रयास यही थियो-कहिले यो शरीरबाट छुटकारा पाइएला, कहिले जन्म–मृत्युको चक्रबाट मुक्त भइएला… तर आज पछुतो लाग्छ-यदि अलि समय अझ रोकिएको भए…।
यसलाई अलिकति बुझौँ।
बुद्धको फूल फुल्ने बेला असित चाहन्छन्-यदि मोक्ष नै दाउमा लागोस् भने पनि कुनै हानि छैन। त्यसपछि पच्चीस सय वर्ष बितिसके। धेरै प्रज्ञावान् पुरुष जन्मिए, तर बुद्ध अतुलनीय छन्। र उनको अतुलनीयता यसमा छ कि उनले यस युगका लागि धर्म दिए, र भविष्यका युगहरूका लागि पनि धर्म दिए। कृष्णका वचनहरू जति बुझाएर भने पनि, यस युगमा त्यति सान्दर्भिक लाग्दैनन्। समयको दूरी धेरै बढिसकेको छ। कृष्णले जसलाई भनेका थिए, तिनका मन र आज सुन्ने मानिसका मनबीच ठूलो फरक छ।
तर बुद्धका केही वचनहरू यस्ता छन्, मानौँ भर्खरै भनेका हुन्। बुद्धका वचनलाई समसामयिक बनाउनुपर्ने आवश्यकता नै छैन; ती आफैँ समसामयिक छन्, वर्तमानसँगै जीवित छन्। कृष्णको कुरा गर्दा उनलाई आजको युगमा ल्याउनुपर्छ; बुद्धलाई ल्याउनुपर्दैन। बुद्ध त मानौँ यही युगमै उभिएका छन्। यस्तो धेरै शताब्दीसम्म रहनेछ। किनकि मानिसले जुन तरिका बुद्धिको बाटो अँगालेको छ, त्यो अब स्थिर रहनेछ, हराउने छैन। त्यससँगै बुद्धको मार्ग पनि स्थिर रहनेछ।
अन्तमा बुद्ध पूर्णिमाको उपलक्ष्यमा हामी सबैमा मङ्गलमय शुभकामना। बुद्धको चेतना हामी भित्र पनि प्रज्वलित भइरहोस्। अस्तु:
(यो लेख मैले बुद्ध जयन्तीको उपलक्ष्यमा ओशोको हिन्दी प्रवचन “एस धम्मो सनन्तनो”को नेपालीमा रूपान्तरण गरेकी हु।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.