भारत लगत्तै चीन गएका परराष्ट्रमन्त्री खनालले के ल्याए?

भारत लगत्तै चीन गएका परराष्ट्रमन्त्री खनालले के ल्याए?

47
SHARES

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमण सम्पन्न गरेको केही समयपछि जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बुधवार स्वदेश फर्किएका छन्। चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा जुन १५ मा बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग मन्त्री खनालको द्विपक्षीय भेटवार्ता भएको थियो। सो अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन सम्बन्धका सबै पक्षमा गहन तथा उपलब्धिमूलक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच मतैक्य रह्यो मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। नेपालका तर्फबाट ‘एक चीन’ सिद्धान्तप्रति नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीन सरकारको दृढ समर्थन पुनः व्यक्त गर्दै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतामा पूर्ण समर्थन रहने विश्वास व्यक्त गरेको छ।

दुई पक्षबीच पूर्वाधार, सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटल रूपान्तरण, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको जानकारी परराष्ट्र मन्त्रालयले जनाएको छ।

विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने विषयमा जोड दिइएको थियो। भेटवार्तापछि विदेशमन्त्री वाङ यीले आयोजना गरेको रात्रीभोजमा मन्त्री खनाल सहभागी भएका थिए।

भ्रमणका क्रममा मन्त्री खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए। सो अवसरमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण, द्विपक्षीय सहयोग विस्तार तथा दुई देशका राजनीतिक दलहरूबीच सम्पर्क र सहकार्य विस्तारका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।

त्यसैगरी, असार २ गते चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भएको भेटमा नेपाल र चीनबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने र प्राथमिकताका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो।

सोही दिन साँझ बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटघाट गरेका थिए। कार्यक्रममा नेपाल लगानी बोर्डका प्रतिनिधिले ‘नेपालमा लगानी : अवसर, प्रोत्साहन र साझेदारीका सम्भावना’ विषयमा प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी आपसी आर्थिक वृद्धि तथा समृद्धिको नयाँ अध्याय निर्माण गर्न आह्वान गरे। उनले नेपालका आर्थिक सम्भावना र जनसांख्यिकीय सामर्थ्यबारे जानकारी गराउँदै लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

भ्रमणका क्रममा मन्त्री खनालले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए। मन्त्रालयका अनुसार उनले सुशासन, आर्थिक विकास र समृद्धिलाई संस्थागत गर्ने सरकारको प्राथमिकताबारे जानकारी गराउँदै राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका थिए।

दूतावासको कामकारबाहीबारे जानकारी लिँदै उनले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउँदै प्रभावकारी आर्थिक तथा विकास कूटनीति सञ्चालन गर्न, साथै चीनमा रहेका नेपालीहरूको हित संरक्षण गरी प्रभावकारी सेवा प्रवाह गर्न दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए।

त्यसैगरी, नेपाली, चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको छुट्टाछुट्टै भेटमा मन्त्री खनालले नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे धारणा व्यक्त गरेका थिए।

भ्रमणका क्रममा उनले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूप (डागोबा) को अवलोकन पनि गरेका थिए। राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सांस्कृतिक सम्पदा नेपाल र चीनबीचको बहुआयामिक सांस्कृतिक तथा जनस्तरको सम्बन्धको प्रतीकका रूपमा रहेको छ। साथै, यसले नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली शिल्पकर्मीहरूको अन्तर्राष्ट्रिय पहिचान तथा नेपाली वास्तुकलाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

मन्त्री खनालले चीन विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको तिब्बती पठार अनुसन्धान संस्थानको पनि भ्रमण गरेका थिए। सो अवसरमा उनले उक्त संस्थाका गतिविधि तथा त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थाहरूसँग भइरहेको सहकार्यबारे जानकारी लिएका थिए। संस्थाका उच्च पदाधिकारीहरूसँगको अन्तरक्रियामा विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो र फलदायी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिएका थिए।

त्यसैगरी, चीनको पहिलो उच्च प्रविधि तथा राष्ट्रिय नवप्रवर्तन प्रदर्शन क्षेत्रका रूपमा परिचित झोङगुआनछुन विज्ञान पार्कको अवलोकन गर्दै त्यहाँका गतिविधि तथा प्राथमिकताबारे जानकारी हासिल गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार चीनका विदेशमन्त्री तथा उच्च पदाधिकारीहरूसँग भएको भेटघाट र विभिन्न कार्यक्रममा मन्त्री खनालको सहभागिताले मैत्रीपूर्ण तथा बहुआयामिक नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका क्षेत्रमा सहयोग विस्तार र सुदृढीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

मन्त्रालयले छिमेकीलगायत सबै मुलुकसँग स्वतन्त्र, व्यावहारिक र सहयोगात्मक सम्बन्ध विस्तार गर्दै आर्थिक तथा विकास कूटनीति प्रवर्द्धन गर्ने नेपाल सरकारको उद्देश्य हासिल गर्न यस भ्रमणले महत्त्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गरेको छ। मन्त्री खनालको भ्रमणदलमा परराष्ट्र मन्त्रालय तथा बेइजिङस्थित नेपाली राजदूतावासका पदाधिकारीहरू सहभागी थिए।

समाचार शेयर गर्नुहोस्
47
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.