काठमाडौँ – तेस्रोलिंगी महिलामाथि कुटपिट गर्ने भारतीय नागरिक उपचार गराउन सहमत भएका छन्। भारतीय गृह मन्त्रालयसम्मको धाकधम्की देखाएर जिम्मेवारीबाट उम्किन खोजेका अखिल श्रीनिवास अन्ततः पीडितको उपचार गराउन सहमत भएका हुन्। यससँगै कुटपिटबाट घाइते भएकी तेस्रोलिंगी महिला पिंकी राईले उपचारको सुनिश्चितता पाएकी छन्।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले कसैको दबाब, प्रभाव वा पहुँचका आधारमा उपचारको जिम्मेवारीबाट उम्कन नपाइने स्पष्ट पारेपछि भारतीय नागरिक श्रीनिवास उपचार गराउन सहमत भएको प्रहरी स्रोतले जनाएको छ।
श्रीनिवासका प्रतिनिधि घाइते तेस्रोलिंगी महिला पिंकी राईको उपचार भइरहेको काठमाडौँ मोडल अस्पताल पुगेका थिए। डाक्टरहरूको राउन्ड चलिरहेका बेला अस्पताल पुगेका प्रतिनिधिले घाइतेको अवस्था बुझेका थिए।
चिकित्सकका अनुसार घाइते तेस्रोलिंगी महिला पिंकी राईको स्तनमा समेत समस्या देखिएको छ। एमआरआई परीक्षणबाट समेत स्पष्ट रूपमा अवस्था पत्ता लगाउन कठिन हुने भएकाले शल्यक्रिया गरिएको अस्पतालमै थप परीक्षण तथा उपचार गराउनुपर्ने सुझाव चिकित्सकहरूले दिएका थिए।
“घाइतेको अवस्था के छ भनेर हेर्न आएको,” श्रीनिवासका प्रतिनिधिले पहिचानसँग संक्षिप्त प्रतिक्रिया दिएका थिए। अस्पताल पुगेका श्रीनिवासका प्रतिनिधि नेपाली नागरिक थिए। उनले पीडित पक्षसँग घाइतेको उपचार हुनुपर्ने बताएका थिए।
काठमाडौँ मोडल अस्पतालको बेड नम्बर २२७ मा पुगेका उनले घाइतेको आँखामा देखिएको चोट अवलोकन गरेका थिए। तर स्तनभित्रको भाग तल झरेको भन्ने विषय आफूहरूले चिकित्सकबाट मात्र सुनेको बताए।
“त्यो त हामीलाई थाहा हुने कुरा भएन। डाक्टरले नै एमआरआई गर्दा पनि थाहा पाउन नसकिने भनेपछि हामीले अनुमान गरेर हुँदैन,” उनले भनेका थिए।
घाइते राईले उपचार हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताएकी थिइन्। त्यसका लागि पहल गर्ने प्रतिबद्धता श्रीनिवासका प्रतिनिधिले जनाएका थिए।
राई श्रीनिवासको कुटपिटबाट गम्भीर घाइते भएकी हुन्। उनले घटनाको विस्तृत विवरण श्रीनिवासका प्रतिनिधिलाई सुनाएकी थिइन्। शल्यक्रिया गरेर स्तन प्रत्यारोपण गरिएको र त्यही संवेदनशील अङ्गमा कुटपिट भएको उनले बताएकी थिइन्। “उपचार हुनुपर्यो। उसलाई कानुनी कारबाही हुनुपर्यो,” उनले माग राखिन्। “हिजोदेखि गाह्रो भएको छ,” उनले सकिनसकी आफ्नो पीडा सुनाइन्।
अस्पतालमा पुगेका श्रीनिवासका प्रतिनिधिले आफू साथीको छोराको विषय भएकाले आउनुपरेको बताएका थिए। “काम हुन्छ, यतातिर आउनुपर्दा समय बरबाद हुन्छ,” उनी भन्दै थिए।
उनले श्रीनिवासलाई हिरासतबाट मुक्त गराउने जिम्मेवारी आफूले पाएको बताउँदै कुराकानी सुरु गरेका थिए। उनी मङ्गलवार महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पनि पुगेका थिए।
यद्यपि धाकधम्की र रवाफ भने आफूले नभई श्रीनिवासका अन्य साथीहरूले देखाएको उनको भनाइ थियो। पीडित पक्षका अनुसार ती व्यवहार दादागिरी शैलीका थिए।
कुटपिटमा संलग्न भारतीय नागरिकको प्रहरी कार्यालयमै दादागिरी
घटनामा सहजकर्ताको भूमिका निर्वाह गरेका चिलपिल जोनका सञ्चालक तथा मायाको पहिचान नेपालका राजनीतिक अभियन्ता देवेन्द्रबहादुर खत्री र अधिकारकर्मी सामाजिक अभियन्ता अस्मिता भट्टराईले भारतीय गृह मन्त्रालयको शक्ति वा पहुँच प्रयोग गरेर प्रभाव पार्ने प्रयास नगर्न आग्रह गरेका थिए।
“घाइतेको उपचार हुनुपर्यो। तलमाथि भएमा जिम्मेवारी लिनुपर्यो,” भट्टराईले श्रीनिवासका प्रतिनिधिलाई भनिन्, “प्रहरी कार्यालयमा पावर देखाएर उम्कने जुक्ति ननिकाले हुन्छ।”
सामाजिक अभियन्ता भट्टराईको पहलपछि तेस्रोलिंगी महिला पिंकी राईको उपचार गराउन श्रीनिवास सहमत भएका हुन्। यसलाई पीडित पक्षले न्याय प्राप्तिको प्रारम्भिक उपलब्धिका रूपमा लिएको छ।
तेस्रोलिंगी महिला पिंकी राई मायाको पहिचान नेपालकी राजनीतिक तथा सामाजिक अभियन्ता हुन्। उनी गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा “अन्य” पहिचानमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने एक मात्र उम्मेदवार समेत थिइन्।
श्रीनिवासले आइतबार राति होटलमा सेवा दिइरहेकी राईमाथि कुटपिट गरेका थिए। घटनापछि घाइते भएकी राई उपचाररत छन् भने उपचारको जिम्मेवारी स्वीकार गर्न श्रीनिवास सहमत भएपछि पीडितले राहत महसुस गरेकी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.