काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति वि. सं. २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्त्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो।
संग्रहालयमा राखिएको मूर्तिलाई मूल स्थानमा ल्याउन वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल वडा नं. २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनसहित सरोकारवाला कार्यालयका अधिकारीसहित संग्रहालय पुगेका थिए। यस क्रममा पुरातत्त्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठीयार अमर शाक्य, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी सहभागी थिए।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयका प्रमुख अरुणा नकर्मीले बुद्ध मूर्ति हस्तान्तरण गरेकी हुन्।
मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो। यसरी राखिएको मूर्ति वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरियो। हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख डङ्गोल, वडाध्यक्ष महर्जन, जनप्रतिनिधिहरू, सम्पदा अभियन्ताहरू, गुठी खल पुचका प्रतिनिधिहरूले बाजागाजासहित उत्सव गरेका थिए।

उत्सवमा सहभागी कार्यवाहक प्रमुख डङ्गोलले, मूर्तिहरूको सुन्दरता बस्ती र चोकहरूमा हुने बताइन। ‘नेपाल मण्डलभित्रका मूर्तिहरू केवल आकृति मात्र होइनन्। यी हरेक मूर्तिमा प्राण हुन्छ। हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ। यी मूर्तिको संरक्षणका लागि स्थानीयहरू सचेत हुनुहुन्छ। महानगरपालिकाका तर्फबाट हामीले गर्नु पर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ।’
वडा २३ का अध्यक्ष महर्जनले, मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठुलो योगदान पुगेको उल्लेख गरे। राष्ट्रिय संग्रहालयका प्रमुख नकर्मीले, सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बिच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरिन।
सम्पदा संरक्षणकर्मी गणपतिलाल र सञ्जयले, विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए।
चोरिएका मूर्ति तथा कलात्मक बस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो। यस अघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी/पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ। यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरूसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ।

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मंसिर ५ गते पुनःस्थापित गरियो। वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो।
तोरण पुनःस्थापित गराउनु अघि महानगरपालिकाका उपप्रमुख (हाल कार्यवाहक प्रमुख) सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा २३ (कुमारी घर रहेको वडा)का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौतम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए। उनीहरूले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औँठाछाप लगाएर फिर्ता ल्याएका हुन्।
प्राचीन स्मारक ऐन २०१३ को दफा २० (क) मा भएको व्यवस्था अनुसार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको बस्तु संरक्षणको सिफारिसमा सम्बन्धित गुठियारलाई पूर्ववत् स्थानमा राख्ने गरी तोरण फिर्ता गरिएको हो। कुमारी घरको भुईँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फबाट पाँचौँ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार काठको क्षेपु आकृति भएको तोरण १७ देखि १८ औँ शताब्दीमा काठबाट निर्माण भएको हो। यो १०४.५५ सेन्टिमिटरको छ।
महागौरी/पार्वतीको प्रस्तर मूर्ति

२०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरियो। मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ।
चोरी भएको मूर्ति बेलायत पुर्याइएको थियो। त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो। त्यहाँबाट काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याएका थिए।
संग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय संग्रहालयका संग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल र पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत अमृता महर्जनको रोहवरमा संग्रहालयका भण्डारे बिन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.