निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रत्यक्ष कार्यकारी असम्भव : भोटमार्फत माग पुरा गर्न अपिल

प्रत्यक्ष कार्यकारी असम्भव : भोटमार्फत माग पुरा गर्न अपिल

मतदान गर्न फागुन २० सम्म १८ वर्ष पुग्नु पर्ने

636
SHARES

काठमाडौं – सरकार फागुन २१ गते मिति तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा लागेको छ। निर्वाचन आयोगका अनुसार मतदाता नामावली सङ्कलनको काम सुरु भएको छ।

आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका अनुसार २७५ सदस्यीय प्रतिनिधि सभा सदस्य चुन्न फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदान गर्न पाउनेछन्।

मतदाता नामावलीमा नाम दर्ता गर्न भने १८ वर्ष पूरा गर्नैपर्ने छैन। तर मतदान गर्न भने १८ वर्ष पूरा गरिसक्नुपर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्पष्ट पारे।


जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भइसकेको छ। सभामुख र उपसभामुख बाहेक सबै सांसदहरूको पद खारेज भइसकेको छ। आगामी निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेसँगै सभामुख र उपसभामुख पनि पदमुक्त हुनेछन्। फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावबाट निर्वाचित सदस्यहरूमध्येबाट नयाँ सभामुख र उपसभामुख चयन गरिनेछ।

अब आउने निर्वाचनमार्फत निर्वाचित हुने सदस्यहरूमध्येकै एक प्रधानमन्त्री नियुक्त हुनेछन्। त्यसपछि अन्तरिम सरकारले चुनावबाट आउने नेतृत्वलाई पद हस्तान्तरण गर्दै आफ्नो कार्यकाल समाप्त गर्नेछ।

जेनजी आन्दोलनको मुख्य मागअनुसार मतदाता नामावली सङ्कलन सुरु भए पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था तत्काल सम्भव नभएको प्रधानमन्त्री सुशीला कार्कीले स्पष्ट पारेकी छन्।

प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताले उठाएको शासकीय प्रणाली परिवर्तन र संविधान संशोधनको माग पुरा गर्नु अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको कुरा भएको बताउँदै, संवैधानिक प्रक्रियामार्फत संविधान संशोधनको बाटो खोज्नुपर्नेमा जोड दिइन्।

उनले प्रतिनिधिसभाको चुनावमा सहभागी भई जेनजी पुस्ताले उठाएका माग पूरा गर्ने जनप्रतिनिधिलाई निर्वाचित गराउन मतदातासमक्ष आग्रह गरिन्।

सरकारले हालै अध्यादेशमार्फत जेनजी पुस्तालाई मतदानमा सहभागी गराउने व्यवस्था गरिसकेको छ। यसैगरी, विदेशमा रहेका नेपालीलाई समेत मतदानमा सहभागी गराउने विषयमा निर्वाचन आयोगसहित सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिइन्।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने तयारीबारे निरन्तर छलफल भइरहेको र प्रवासी नेपालीलाई मताधिकारको अवसरबाट वञ्चित नगराउने प्रयास जारी रहेको घिमिरेले बताए।

समाचार शेयर गर्नुहोस्
636
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.