काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको नवौँ दिन महानवमीको अवसरमा बुधवार नक्सालस्थित बालमन्दिरमा रहेका नवकन्याहरूको पूजा गरेका छन्।
राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको गोडा धोई टीका लगाई उपहार प्रदान गरे। प्रत्येक वर्ष बडादशैंको महानवमीमा राष्ट्रप्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन रहिआएको छ।
धार्मिक विश्वासअनुसार महानवमीका दिन दुर्गा भगवतीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–आराधना गर्ने परम्परा छ।
मङ्गलवार राष्ट्रपति पौडेलले नक्साल भगवतीको दर्शन गरेका थिए। यसअघि शोभाभगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी र इन्द्रायणी शक्तिपीठमा पूजा गर्दै आए पनि यसपालि भने राष्ट्रपति पौडेल नक्साल भगवतीकै दर्शनमा सीमित भएका छन्।
अन्य शक्तिपीठमा भने भेटी पठाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। दशैंका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुख उपत्यकाका विभिन्न शक्तिपीठमा पुग्ने परम्परा छ।
जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भने यो वर्ष दशैं नमनाउने निर्णय गरेकी छन्। कार्कीको सचिवालयका अनुसार उनी दशैंको समयमा निवास बाहिर निस्किएकी छैनन्। तर, उनले औपचारिक शुभकामना सन्देश भने जारी गरेकी छन्।
आफ्नो सन्देशमा प्रधानमन्त्री कार्कीले नेपालसहित संसारभर छरिएका नेपाली भाषीलाई बडादशैंले सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्य ल्याओस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। साथै, पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने कामना पनि गरेकी छन्।
प्रधानमन्त्री कार्कीले यसपालि टिका–जमरा नलगाउने घोषणा गर्दै देशवासीलाई पनि टिका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी छन्।
“बडादशैं प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने चाड भए तापनि, हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा हाम्रासामु ताजै छ। तसर्थ यस वर्ष प्रधानमन्त्रीले आफूले बडादशैंको टिका–जमरा नलगाउने र देशबासीलाई समेत टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध गरिएको छ,” शुभकामना सन्देशमा उल्लेख छ।
भदौ २३ र २४ गते भएको युवापुस्ताको आन्दोलनमा ७५ जनाले ज्यान गुमाए। कार्कीले शुभकामना सन्देशमार्फत तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन गर्ने कटिबद्धता दोहोर्याएकी छन्।
सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गरेकी छन्।
प्रधानमन्त्री कार्कीले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्न सबै नेपालीलाई सङ्कल्पबद्ध भई योगदान गर्न अपिल गरेकी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.