काठमाडौं – बडादशैं नेपालीहरूको राष्ट्रिय चाडको रूपमा मनाइँदै आएको छ। यो पर्व नेपालको संस्कृति र परम्पराको रूपमा स्थापित छ। दशैं राग–द्वेषलाई बिर्सेर आपसी प्रेम, सद्भाव र भ्रातृत्व बढाउने चाड पनि हो।
एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै एक अर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो यो। वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो।
भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिले सबै नेपालीलाई स्तब्ध बनाएको छ। होनहार युवा–युवतीहरूले सहादत प्राप्त गरे। राष्ट्रिय सम्पदा र ऐतिहासिक सामग्री–सम्पत्ति नष्ट भए। देशले अपूरणीय क्षति व्यहोर्नु पर्यो।
यस्तो राष्ट्रिय शोकको घाउ पुरिन र त्यसबाट बाहिर निस्किन गाह्रो परिरहेको अवस्था छ। वस्तुतः मानव जीवन सहजता, असहजता, आपत्–विपत् र धैर्य–सुझबुझको सङ्गम हो।
प्रतिकूलता भित्र अनुकूलता देख्ने र ल्याउने साहस मानिसबाट नै हुने हो। नवीन आशा र विश्वासका साथ सहज वातावरण बनाउँदै सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता हो। यसका लागि सम्बद्ध सबैको सकारात्मक भूमिका अपरिहार्य छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको शुभकामना सन्देश जारी गर्दै समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्। “विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण होस्” पौडेलले शुभकामना सन्देशमा लेखेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालसहित संसारभर छरिएका नेपाली भाषीलाई बडादशैंले सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्य ल्याओस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। साथै, पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने कामना पनि गरेकी छन्।
प्रधानमन्त्री कार्कीले यसपालि टिका–जमरा नलगाउने र देशवासीलाई पनि टिका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी छन्।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले धैर्यताका साथ सामाजिक सद्भाव कायम राख्दै, भड्किलो प्रतिस्पर्धाले होइन, आ–आफ्नो गच्छे अनुसार शान्त प्रकृतिले शुभकामना आदान–प्रदान गर्दै दशैं मनाऔँ भन्ने आग्रह गरेका छन्। बडादशैंले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी शुभकामना व्यक्त गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.