काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिवार र आइतबार मुलुकका विभिन्न स्थानमा मनसुनी वायु थप सक्रिय भई भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शुक्रवार साँझ जारी गरेको मौसमी बुलेटिनमा आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा, साथै लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्न सक्ने चेतावनीसमेत दिएको छ।
अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिवार बिहानदेखि थप सक्रिय हुने पूर्वानुमान गरिएको छ। सोमबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुनेछ।
शनिवार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग धेरै स्थानमा, बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।
शनिवार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ भने बाँकी प्रदेशमा साधारणतया बदली हुनेछ। यी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग धेरै स्थानमा, बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साथै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
आइतबार राति कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ। यी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
देशका धेरै स्थानमा मुसलधारे वर्षा हुने भएकाले जनसाधारणलाई उच्च सतर्क रहन, सम्भावित जोखिम क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आधिकारिक निकायले जारी गर्ने सूचनालाई पालना गर्न आग्रह गरिएको छ।
उच्च सतर्कता अपनाउन सबैमा प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले देशभर उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेकी छन्। जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि अत्यधिक सक्रिय रहने देखिएको छ। यस अवधिमा कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ।
विभागको अलर्टअनुसार मनसुनी वर्षाका कारण नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्दै जान सक्ने र खतरा तहको आसपासमा पुग्ने सम्भावना देखिएको छ। त्यस्तै, मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने ससाना खोलानालाहरूमा समेत आकस्मिक खहरे, भेल र बाढी आउन सक्ने चेतावनी दिइएको छ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन तथा कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाभित्र बग्ने ससाना नदी–नालामा समेत आकस्मिक रूपमा पानीको सतह बढ्ने अनुमान गरिएको छ।
यस परिस्थितिलाई मध्यनजर गरी ती स्थानमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्कीले सचिवालयले आग्रह गरेको हो। सम्भावित डुबान हुने क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित र अग्लो स्थानमा सार्ने पूर्वतयारी गर्न भनिएको छ।
गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र गम्भीर बिरामीलाई सुरक्षित स्थानमा सार्ने विशेष तयारी गर्नुपर्नेमा जोड दिइएको छ। साथै, आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
यसबाहेक विपद् पूर्वतयारी, प्रतिकार्य र उद्धारमा संलग्न हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई आ–आफ्नो जिम्मेवारी उच्च सक्रियताका साथ पूरा गर्न भनिएको छ।
सुरक्षा निकायका उद्धारकर्मीहरू, स्वयंसेवकहरू, गैरसरकारी संस्थाहरू, आपत्कालीन कार्य सञ्चालन केन्द्रका अधिकारीहरू तथा आवागमन सुचारु गराउने निकायहरूलाई समेत उच्च सतर्कताका साथ विपद् पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत र पुनर्स्थापना कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले सबै सरोकारवालालाई मिलेर विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान पुर्याउन विशेष आह्वान गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.