निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरकारी संरचना पुरानै, कार्यशैली सुधारले विपद्‌ व्यवस्थापन प्रयास प्रभावकारी

सरकारी संरचना पुरानै, कार्यशैली सुधारले विपद्‌ व्यवस्थापन प्रयास प्रभावकारी

करिब १,५०० मिटर तटबन्ध कटान, १० करोड रुपैयाँभन्दा बढी क्षति

287
SHARES

काठमाडौं – अविरल वर्षाले पूर्वदेखि मध्यसम्मका नदी नियन्त्रण संरचनामा ठुलो क्षति पुर्‍याएको छ। सम्बन्धित निकायहरूले तत्काल मर्मत–पुनर्निर्माण कार्य सुरु गर्न तयारी थालेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनतालाई जोखिम क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा नदी कटान, डुबान र बाढीका कारण ठुलो भौतिक क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।

प्रारम्भिक अनुमानअनुसार करिब १,५०० मिटर तटबन्ध कटान भई जम्मा १० करोड रुपैयाँभन्दा बढी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। झापाको कन्काई नदी गौरीगञ्ज–२ मा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान भएको छ। होकलबारी गाउँका करिब ११४ घर र बारी डुबानमा परेका छन्।

करिब ५०० हेक्टर धानबालीमा क्षति पुगेको छ। झापा गाउँपालिका–२ को कुवाडीमा पनि करिब २०० मिटर तटबन्ध कटान भई २५ हेक्टर खेतमा क्षति पुगेको छ। अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ रहेको छ।

मेची नदीले ठाउँ–ठाउँमा रहेका स्पर संरचनाहरूमा क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमान अनुसार क्षतिको लागत ५० लाख रुपैयाँ बराबर रहेको छ। बाढीका कारण विराटनगर महानगरपालिका–६ र १२ का बस्तीहरू डुबानमा परेका छन्। करिब ७५ घरधुरी प्रभावित भई अस्थायी रूपमा स्थानान्तरण गरिएको छ।

कमला नदीको पूर्वी किनारमा सिराहा नगरपालिका–१७ पटेरुवास्थित तटबन्ध क्षतिग्रस्त भएको छ। अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ रहेको छ।

रौतहटको लालबकैया नदीले मौलापुर नगरपालिका–१ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाएको छ। करिब १०० हेक्टर धान खेतमा क्षति पुगेको छ। बौदीमाई गाउँपालिकामा १२० मिटर तटबन्ध बग्दा २०० हेक्टर धान खेतमा क्षति पुगेको र करिब २०० घर र गोठहरू डुबानमा परेका छन्। अनुमानित क्षति ६० लाख रुपैयाँ बराबरको रहेको मन्त्रालयले जनाएको छ।

महोत्तरीको रातो नदीले बलवा नगरपालिका–२, १० र ११ का बन्चौरी, लेउरी, भल्नी र भगवतीपुर क्षेत्रमा करिब ३९० मिटर तटबन्ध बगाएको छ। लोहरपट्टी नगरपालिका–६ मा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारा क्षेत्रमा २० मिटर, र जलेश्वर नगरपालिका–१, ४ र ७ का बखरी र खैरामा ८० मिटर तटबन्ध कटान भएको छ।

रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान गरेको छ, जसका कारण सदरमुकाम जलेश्वर पनि बाढीको जोखिममा परेको छ। अनुमानित क्षतिको लागत करिब ८ करोड रुपैयाँ रहेको छ।

सिँचाइ प्रणालीका बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित रूपमा फर्काउने कार्य समयमै सम्पन्न भएको छ। हेड रेगुलेटर, अन्डरस्लुइस, मूल नहर र शाखा नहरका गेटहरू समयमै सञ्चालन गरिएकाले ठुला क्षति भएका छैनन्।

झाँज सिँचाइ प्रणालीको ब्यारेजभन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइडबन्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबानमा परेको छ। सुनसरी–मोरङ, बाग्मती र नारायणी सिँचाइ आयोजनाको सिञ्चित क्षेत्रमा रहेका साना खोलाले खेती योग्य जमिन कटान गरेको प्रारम्भिक अनुमान गरिएको छ।

सुनकोशी नदीमा आएको बाढीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणाधीन बाँध स्थल डुबानमा पारेको छ। कफर ड्यामसहितका संरचनाहरूको अवस्था हालसम्म यकिन हुन बाँकी रहेको छ।

इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बाग्मती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू घटेका छन्। ती घटनासम्बन्धी विस्तृत विवरण सङ्कलन भइरहेको र अद्यावधिक तथ्याङ्क प्राप्त हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

यो पनि : दुई दिनको वर्षाले ४० जनाको ज्यान लियो

अविरल वर्षाका कारण दुई दिनदेखि अवरुद्ध भएका सडकहरू क्रमिक रूपमा सुचारु हुँदै गएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा धादिङ, नुवाकोट र दक्षिणकाली हुँदै हेटौँडातर्फका सडक खण्डहरूमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको जनाएको छ।

विगत दुई दिनदेखि लगातार वर्षा भएपछि काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने, काठमाडौं–नुवाकोटतर्फ जाने, र दक्षिणकाली हुँदै हेटौँडा जाने सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको प्रशासनले जनाएको थियो।

हाल मौसममा सुधार आउँदै गएपछि पहिरो पन्छाउने काम अघि बढेको छ। धादिङ, नुवाकोट, मकवानपुर र चितवनका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त सूचनाअनुसार सडकमा एकतर्फी सवारी सञ्चालनको तयारी भइरहेको छ।

सडकमा यात्रुहरूको चाप बढ्न थालेकाले सुरक्षाको मूल्याङ्कनपछि आवागमनलाई एकतर्फी रूपमा खुला गरिएको प्रशासनले जनाएको छ। सवारी सञ्चालनका क्रममा सडकमा खटिएका सुरक्षाकर्मी, ट्राफिक प्रहरी र स्थानीय प्रशासनको निर्देशनलाई गम्भीरतापूर्वक पालन गर्न अनुरोध गरिएको छ।

साथै, सडकमा दिइएका ट्राफिक सङ्केत, इसारा र सूचना बोर्डहरूलाई ध्यानपूर्वक हेरी सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। प्रशासनले सचेत गराएको छ, “सडकहरूमा अझै पनि केही स्थानमा पहिरोका अवशेष रहेका छन्। आवश्यक सतर्कता अपनाई मात्र यात्रा गर्नुहोस्।”

आवश्यक सतर्कता र सक्रियता

जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले निरन्तर वर्षा र बाढी–पहिरोको जोखिम बढेसँगै आवश्यक सतर्कता र सक्रियता देखाएको छ।

मौसमविद्को चेतावनीपछि प्रमुख राजमार्गहरू बन्द गरिए भने प्रधानमन्त्री कार्यालयले सतर्कता सूचना जारी गर्दै सबै सुरक्षा निकायलाई उच्च तयारीमा रहन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ), ट्राफिक प्रहरी र नेपाल प्रहरीले सडकमा माइकिङ गर्दै नागरिकलाई सचेत गराएका छन्। आवश्यक निरीक्षणका लागि टोलीहरू विभिन्न स्थानमा खटाइएका छन् भने सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार सामग्रीसहित तयारी अवस्थामा खटिएका छन्।

मोबाइल कलमै चेतावनी बज्ने प्रविधि पनि सक्रिय गरिएको छ, जसले आपत्कालीन अवस्थामा जनतालाई तुरुन्त सूचना उपलब्ध गराउनेछ।

सरकारी संरचना पुरानै भए पनि कार्यशैलीमा आएको सुधारले यसपटकको विपद्‌ व्यवस्थापन प्रयासलाई प्रभावकारी बनाएको देखिन्छ। बाढी–पहिरो जस्ता प्राकृतिक विपत्ति रोक्न नसकिए पनि यस किसिमको तयारीले सरकार साँच्चै नागरिकको सुरक्षाका लागि जिम्मेवार रूपमा काम गरिरहेको सन्देश दिएको छ।

वरिष्ठ पत्रकार बबिता बस्नेतका अनुसार, “यस पटकको विपद्‌ व्यवस्थापन एकदमै राम्रो भयो। सरकारको तर्फबाट यो भन्दा बढी गर्ने ठाउँ खासै थिएन जस्तो लाग्छ।”

विपद्‌का बेला केही व्यक्तिहरूले सरकारी संयन्त्रसँग समन्वय गरेर सुझाव र निर्देशन दिएका प्रसङ्गबारे बस्नेत लेख्छिन्, “जहाँसम्म सुदन गुरुङले सरकारी अधिकारीलाई निर्देशन दिए भन्ने कुरा छ, हामीले निर्देशन र सुझावलाई छुट्टाएर बुझ्नुपर्छ। राम्रो सुझाव जसले जसलाई दिए पनि हुन्छ। त्यहाँसम्म उनको पहुँच कसरी भयो भन्ने कुरामा, हिजो पनि एकथरीको पहुँच थियो नै, उनीहरूले त्यसलाई कसरी सदुपयोग वा दुरुपयोग गरे भन्ने मात्रै हो।”

उनका अनुसार, “प्राकृतिक विपत्तिका लागि पहिल्यै पनि ती संरचनाहरू थिए, तर अहिलेझैँ किन काम गरेनन्? गर्दै नगरेका होइनन्, गरे तर ती कामहरू सुरक्षा निकायको मात्रै जिम्मा झैँ सीमित थिए। अहिले भने सबै निकायले संयुक्त रूपमा जिम्मेवारी बोध गरेका छन्। यस पटक मल्टिपल एप्रोच अपनाइएकाले उद्धार र राहत कार्य सहज भएको हो। यस किसिमको समन्वयले ठुला जनधन क्षतिहरू रोक्न सहयोग पुर्‍याएको छ।”

बस्नेत थप्छिन्, “विपत्ति अझै टरेको छैन। मुलुकका विभिन्न क्षेत्रमा अझै पानी परिरहेको छ, पहिरोको जोखिम त्यतिकै छ। सचेत रहौँ, सुरक्षित रहौँ।”

यद्यपि, देशका विभिन्न पहाडी र तराई क्षेत्रहरूमा निरन्तर वर्षा भइरहेको हुँदा जोखिम अझै समाप्त भएको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनले उच्च सतर्कतामा रहँदै जनतालाई सचेत रहन अनुरोध गरिरहेका छन्।

समाचार शेयर गर्नुहोस्
287
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.