निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फागुन २१ को निर्वाचनमा सहभागी हुन कार्तिक ३० भित्र दल दर्ता अनिवार्य

फागुन २१ को निर्वाचनमा सहभागी हुन कार्तिक ३० भित्र दल दर्ता अनिवार्य

220
SHARES

काठमाडौं — आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयबद्ध रूपमा अघि बढाउँदै निर्वाचन आयोगले विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले अबको ठिक पाँच महिनापछि हुने निर्वाचनका लागि कानुनी, प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र बनाएको जनाएको छ।

आयोगका अनुसार राजनीतिक दल दर्ताको कार्यक्रम मङ्सिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। तर, चुनावमा भाग लिन इच्छुक दलहरूले कार्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिएर तयार हुनुपर्नेछ। कार्तिक मसान्तपछि प्रमाणपत्र नलिएका दलले यसपटकको निर्वाचनमा भाग लिन पाउने छैनन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार प्रत्यक्ष निर्वाचित हुने प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने समानुपातिक प्रणालीका लागि मङ्सिर १५ गतेदेखि अधिकृत कार्यालय सञ्चालनमा आउनेछ।

आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त राजनीतिक दलहरूले पुस १८ र १९ गते उम्मेदवारहरूको बन्दसूची पेस गर्ने तालिका तय भएको छ। उम्मेदवारहरूले फागुन ३ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसार गर्न पाउनेछन्। त्यसपछि मतदानको दिन अर्थात् फागुन २१ गतेसम्म ‘मौन अवधि’ रहने व्यवस्था आयोगले गरेको छ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि दुवै निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) का मतपेटिका सङ्कलन गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।

निर्वाचन तयारीलाई कानुनी रूपमा सहज बनाउन सरकारले अध्यादेशमार्फत निर्वाचनसम्बन्धी कानुन संशोधन गरी कार्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्न सकिने व्यवस्था मिलाएको छ। आयोगका अनुसार फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै हर्क साम्पाङलगायतले पनि निवेदन दिएका छन्। यद्यपि दसैँ बिदा भएका कारण हालसम्म नयाँ दल दर्ता भएको छैन।

प्रवक्ता भट्टराईका अनुसार आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउनेछन्। साथै, आयोगले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत कार्यतालिकाअनुसार समय समयमा परामर्श तथा छलफल गर्ने तयारी गरेको छ।

आयोगमा दर्ता दलहरूमध्ये नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ। महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र चुनावमा जाने निर्णय गरिसकेको र अन्य दलहरूसँग पनि निरन्तर संवाद भइरहेको बताए।

समाचार शेयर गर्नुहोस्
220
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.