काठमाडौं — सिंहदरबार जलाएको आरोपमा मौन रहेका काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) आफूविरुद्ध उजुरी परेपछि अन्ततः मुख खोल्न बाध्य भएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै, सिंहदरबारमा लागेको आगो निभाउन महानगरले सक्दो प्रयास गरेको दाबी गरेका छन्।
बालेनले लेखेका छन् “यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो?” र “तीन दिनसम्म जलेको हेरेर बस्यो?” जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। उनले भनेका छन्, “यस्ता प्रश्न र आरोपको स्पष्टीकरण दिन आवश्यक पनि छैन, हरेक नागरिकले सूचनाको हक प्रयोग गरेर महानगरबाट जानकारी लिन सक्थे। तर पनि गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।”
उनका अनुसार गत भदौ २४ गतेको घटनामा देश नै अस्तव्यस्त थियो, “त्यो दिन राज्य नै ठप्प थियो, सरकार थिएन, सुरक्षा संयन्त्र निष्क्रिय थियो। प्रहरीले आफ्ना चौकीसम्म जोगाउन सकेका थिएनन्। यस्तो पूर्ण अराजक अवस्थामासमेत काठमाडौं महानगर आफ्नो दायित्वबाट पछि हटेको थिएन।”
उनले भनेका छन्, “त्यो रातदेखि हाम्रो टिमले आगो निभाउने, घाइतेहरूको उपचार गर्ने, बिरामीका लागि खाना, औषधि र रगतको व्यवस्था गर्ने, लास व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न निकायसँग समन्वय गर्ने काममा दिन–रात खटिएको थियो। जिउज्यानको जोखिम मोल्ने सबैप्रति म सम्मान व्यक्त गर्दछु।”
सिंहदरबारमा लागेको आगोका बारेमा उनले भनेका छन् “दमकल पठाउने प्रयास गरिएको थियो, तर आन्दोलनकारीको अवरोधका कारण जान सकेन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै भए पनि हुलले काम गर्न दिएन। भिड शान्त भएपछि २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो।”
उनले भनेका छन्, “हामी कुनै आरोपबाट भाग्दैनौँ, जिम्मेवारीबाट त अझै होइन।” हाल काठमाडौं महानगरसँग न्युरोडमा दुई, बालाजुमा दुई र रामहिटीमा एक गरी पाँच वटा दमकल सञ्चालनमा छन्। ती दमकलमा १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी ४४ जनाको टोलीले तीन सिफ्टमा काम गर्छ। एक सिफ्टमा बढीमा तीन जना मात्र दमकल सञ्चालनमा खटाइन्छन्।
बालेनले भदौ २३ देखि २८ गतेसम्म दमकलले विभिन्न स्थानमा ५५ भन्दा बढी पटक आगो निभाउने कार्य गरेको विस्तृत विवरण पनि सार्वजनिक गरेका छन्। उनका अनुसार संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिल्लीबजार कारागार, सर्वोच्च अदालत, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक विभाग, एनसेल डाटा सेन्टर, भाटभटेनी सुपरमार्केट र निजी घर तथा गोदाममा दमकल पुगेका थिए।
त्यस्तै, सेनासँगको सहकार्यमा हिल्टन होटेललगायत स्थानमा उद्धार कार्य भएको उनले उल्लेख गरेका छन्। स्वास्थ्यकर्मी, औषधि र घाइतेहरूको व्यवस्थापनबारे पनि उनले विस्तृत विवरण दिएका छन्। उनका अनुसार सङ्घीय सरकारले घोषणा गर्नुअघि नै काठमाडौं महानगरले अस्पतालसँग समन्वय गरी घाइतेहरूको निःशुल्क उपचार, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था, रगत सङ्कलन, बिरामी र कुरुवालाई निःशुल्क खाना तथा आवास व्यवस्था गरेको थियो।
“अपरेसनका क्रममा अभिभावक नभएका बिरामीहरूको ‘इनफर्म्ड कन्सेन्ट’मा समेत नगर प्रहरीले हस्ताक्षर गरेर जिम्मेवारी लिएको थियो,” उनले लेखेका छन्। “लास व्यवस्थापनका लागि परिवारलाई सहयोग र शव घरसम्म पुर्याउने जिम्मेवारीसमेत महानगरले लिएको थियो।”
बालेनले जनतालाई अफवाहमा नपर्न आग्रह गरेका छन्। “प्रिय आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी, तपाईँहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य निष्कर्ष निकाल्ने विश्लेषक र अफवाह फैलाउनेहरूबाट सावधान रहनुहोस्,” उनले लेखेका छन्।
उनले मिडियालाई पनि जिम्मेवार बन्न आग्रह गरेका छन्। “कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनतालाई सही जानकारी पाउने अधिकार छ।”
बालेनले लेखेका छन् “हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौँ। मलाई जस चाहिएको छैन, तर आगो निभाउने, घाइतेको उपचार गर्ने र जनताको सेवा गर्नेहरूलाई कम्तीमा सम्मानका दृष्टिले हेर्नुहोस्। सत्य बुझौँ, अफवाह नफैलाउनुहोस्, र सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ। देशलाई अहिले एकता र सत्यको खाँचो छ, हल्ला र झूटको होइन।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.