निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फागुन २१ को चुनाव, तिहारअघि सर्वदलीय बैठक

फागुन २१ को चुनाव, तिहारअघि सर्वदलीय बैठक

416
SHARES

काठमाडौं — निर्वाचन आयोगले तिहारअघि नै फागुन २१ गतेको चुनाव सफल पार्न सर्वदलीय बैठक बोलाउने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनबारे छलफल गरेपछि आयोगले तिहारअघि नै सर्वदलीय बैठक बोलाउने तयारी गरेको हो।

चुनावको तालिका सार्वजनिक भइसके पनि दलहरूबीच समन्वय हुन नसकेको अवस्थालाई चुनौतीका रूपमा लिँदै आयोगले सर्वदलीय बैठक बोलाउनेबारे छलफल गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूसँग तिहारअघि नै छलफल गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री कार्कीसँग निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेको हो। आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलहरूको सहयोगबारे छलफल भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता भट्टराईका अनुसार निर्वाचनका लागि आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनबारे पनि छलफल भएको छ।

प्रधानमन्त्री कार्कीसँगको छलफलपछि आयोगले विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न तथा त्यसका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेको छ।

छलफलमा प्रधानमन्त्री कार्कीले घोषित मितिमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउने कार्य नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै, यसका लागि सरकारको तर्फबाट समेत अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाइन्। उनले निर्वाचन आयोगलाई सरोकारवालाहरूसँग समन्वय गरेर निर्वाचन कार्यतालिकाअनुसारका कामहरू सघन रूपमा अगाडि बढाउन आग्रह गरिन्।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको प्रारम्भिक आङ्कलन प्रस्तुत गर्दै, आयोगले निर्वाचन पूर्वतयारीका लागि कार्यतालिका स्वीकृत गरिसकेको र सो अनुसारका कार्य योजनाबद्ध रूपमा अघि बढ्ने बताए।

उनले निर्वाचनको प्राविधिक पक्षका अलावा सरोकारवालाहरूसँगको समन्वय र सहकार्यका कार्यहरू पनि आवश्यक हुने उल्लेख गर्दै, त्यसका लागि सरकारको तर्फबाट समेत अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर ज.व.रा.ले निर्वाचनका क्रममा आइपर्न सक्ने सुरक्षा चुनौती र समाधानका उपायहरूबारे आयोगको धारणा प्रस्तुत गरेका थिए। विदेशमा मतदान गर्ने विषयमा गर्नुपर्ने कार्यका सम्बन्धमा पनि छलफल भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने नयाँ दलले कात्तिक ३० गतेभित्र दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ। निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मङ्सिर १ देखि १० गतेसम्म तय गरिएको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन भई मतदाता नामावली सङ्कलन कार्य भइरहेको आयोगले जनाएको छ। भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका कारण संसद् विघटन भएपछि फागुन २१ गते नयाँ प्रतिनिधि सभा सदस्य चुन्न निर्वाचन घोषणा गरिएको हो।

समाचार शेयर गर्नुहोस्
416
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.