काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली राजदूत र नियोग प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा सरकार ऐतिहासिक जिम्मेवारी बोकेर अघि बढिरहेको बताएकी छन्।
उनले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको बलिदानी आन्दोलनले देशलाई नयाँ धरातलमा उभ्याएको उल्लेख गर्दै आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरिन्।
सयौँ घाइते अझै पनि उपचाररत रहेको बताउँदै उनले भनिन्, “जेन–जी पुस्ताको आन्दोलनले हामीलाई वास्तवमै एउटा नयाँ युगको थालनी गराएको छ। उनीहरूको अपेक्षाहरू सम्बोधन गर्न हामी अहोरात्र खट्नुपर्ने समय आएको छ।”
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार अवसर र चुनौती दुवैको सामना गर्दै लोकतन्त्र र समतामूलक समृद्धिको मार्गमा देशलाई सुदृढ बनाउने जिम्मेवारीमा रहेको स्पष्ट पारिन्। २०८२ फागुन २१ मा आम निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व बोकेको सरकार निर्वाचनको मिति नजिकिँदै जाँदा सम्पूर्ण तयारीमा जुटिरहेको छ।
उनले नयाँ पुस्ताले पारदर्शिता, सुशासन, रोजगारी सृजना र प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेको जनाउँदै भनिन्, “यी अपेक्षाहरू कुनै अप्राप्य होइनन्, जनताले आफूले अनुमोदन गरेको सरकारबाट जबाफदेही शासनको अपेक्षा गर्नु स्वाभाविक हो।” प्रधानमन्त्री कार्कीले सुशासन स्थापना र पारदर्शी प्रशासन निर्माणमा कुनै पनि प्रकारको सम्झौता सह्य नहुने भन्दै सबै नियोग प्रमुखहरूलाई आफ्नो इमान, कर्तव्य र राष्ट्रहितप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिइन्।
उनले जेनजी आन्दोलनका मागहरूलाई आत्मसात् गर्दै बनेको वर्तमान अन्तरिम सरकारप्रति देशका नागरिक, मित्रराष्ट्रहरू तथा विकास साझेदारहरूको सद्भाव रहेको बताइन्। उनले भनिन्, “नेपालले जेन–जीको चाहनाबमोजिम बनेको यो सरकारमार्फत सुशासनका मापदण्ड र पारदर्शी शासनको अभ्यास विश्वसामु देखाउनेछ, र हामी आफ्नो म्यान्डेट समयमै पूरा गर्नेछौँ।”
प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली श्रमिकहरू, विद्यार्थी र व्यवसायीहरूलाई राष्ट्र विकासको अभिन्न हिस्सा भएको बताउँदै खाडी मुलुक र मलेसियामा काम गर्ने नेपालीहरूको हकहित सुरक्षामा सरकारले विशेष ध्यान दिइरहेको बताइन्। उनले नियोगहरूलाई नेपाली श्रमिकका समस्या समयमै समाधान गर्न, सेवा प्रवाह चुस्त र प्रविधिमैत्री बनाउन, र दीर्घकालमा नेपालमै रोजगारीका अवसर सिर्जना गर्न सहकार्य गर्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले हालको राष्ट्रिय अवस्थालाई विश्वव्यापी राजनीतिक र आर्थिक अस्थिरताको सन्दर्भसँग जोड्दै भनिन्, “हामी अहिले विश्व राजनीतिक अस्थिरता र सम्भावनाको सङ्गममा छौँ। एकातिर भूराजनीतिक प्रतिस्पर्धाले अनिश्चितता बढाएको छ भने अर्कातिर विश्व समुदाय दिगो विकास र समावेशी प्रविधिको नयाँ युगमा प्रवेश गरिसकेको छ। यस्तो परिस्थितिमा नेपालजस्ता मुलुकका लागि चुनौतीसँगै अवसर पनि देखिएका छन्।”

उनले नियोगहरूलाई नेपालको हितका लागि सक्रिय र प्रभावकारी कूटनीति सञ्चालन गर्न निर्देशन दिँदै मित्रराष्ट्रहरू, क्षेत्रीय सङ्गठन र बहुपक्षीय संस्थाहरूसँग सहकार्य बढाउन आग्रह गरिन्। प्रधानमन्त्रीले नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न सबै नियोगले आफ्नो क्षमता र स्रोतको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिइन्।
आन्दोलनपश्चात् नेपालको पर्यटन क्षेत्रमा परेको आघात उल्लेख गर्दै उनले हाल स्थिति सामान्य भइसकेको, पर्यटन, व्यापार र लगानीका गतिविधि पूर्ववत् गतिमा फर्किएका र अब नेपाल विश्व समुदायका लागि सुरक्षित गन्तव्य भएको सन्देश सबैलाई दिनुपर्ने बताइन्। उनले आन्दोलनका क्रममा विदेशी पर्यटकहरूलाई कुनै नोक्सानी नभई बरु सहयोग र सुरक्षाको व्यवहार देखाइएको भन्दै “अतिथि देवो भव:” को नेपाली संस्कृतिको प्रदर्शन विश्वसामु गर्वको विषय भएको टिप्पणी गरिन्।
प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानमा पारदर्शी स्रोत परिचालन गर्न सरकारले थालेको प्रयासको प्रचार–प्रसार गर्न पनि नियोगहरूलाई आग्रह गरिन्। उनले भनिन्,“सरकारले आधिकारिक कोषको माध्यमबाट मात्र सहयोग सङ्कलन गर्ने नीति लिएको छ ताकि समानान्तर र अपारदर्शी ढङ्गमा स्रोत दुरुपयोग नहोस्।”
विदेशमा रहेका नेपालीहरूको अधिकार र सुरक्षासम्बन्धी मुद्दामा प्रधानमन्त्रीले गम्भीर ध्यानाकर्षण गराउँदै भनेकी छिन्, “सयौँ नेपाली विदेशी जेलमा छन्, सयौँको ज्यान गुमिसकेको छ र क्षतिपूर्तिका लागि परिवारहरू भौँतारिरहेका छन्। यस्तो अवस्थामा नियोगहरूले आफ्नो सेवा प्रवाहलाई अझै चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्छ।” उनले उद्धार, शव फिर्ता र क्षतिपूर्तिसँग सम्बन्धित कन्सुलर सेवाहरू अनलाइन प्रणालीमार्फत सहज बनाउन र यसको प्रचारप्रसार बढाउन निर्देशन दिइन्।
भिजिट भिसाको दुरुपयोग, बिचौलियाको शोषण र श्रम आप्रवासनका समस्यामा सरकार सक्रिय रहेको बताउँदै उनले नियोगहरूबाट ठोस सुझाव र सहयोगको अपेक्षा गरिन्।
विश्व परिवेशको सन्दर्भमा उनले थपिन्, “हामीले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै आर्थिक कूटनीति सशक्त बनाउनुपर्छ, सौम्य शक्ति अर्थात् ‘सफ्ट पावर’ को आधारस्तम्भहरू (हाम्रो संस्कृति, सहिष्णुता र श्रमशीलता) लाई विश्वसामु उजागर गर्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले भनिन्, “हामी इतिहासको एक महत्त्वपूर्ण कालखण्डमा उभिएका छौँ। अहिलेको आवश्यकता हो, आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्दै सुशासन, पारदर्शिता र जबाफदेहितासहितको शासन सुनिश्चित गर्नु। आम निर्वाचनमार्फत जेनजी पुस्ताको चाहनाअनुसारको परिवर्तन आत्मसात् गर्दै अघि बढ्न हामी सक्षम हुनेछौँ।”
परराष्ट्र मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले विदेशस्थित सबै दूतावास र नियोगहरूलाई पूर्ण सहयोगको आश्वासन दिँदै देश र जनताको सेवालाई केन्द्रमा राखी कार्यमा गति दिन आग्रह गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई गरेको सम्बोधन :
यहाँहरू सबैलाई थाहै छ गत भाद्र २३ र २४ को जेन – जीपुस्ताको बलिदानीपूर्ण आन्दोलनबाटसृजितयस विशिष्ट परिस्थितिमा हामी आज भर्चुअल माध्यमबाट जोडिएका छौं। आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ। सयौं घाइतेहरू अझै पनि उपचाररत हुनुहुन्छ।जेन – जीपुस्ताको आन्दोलनले हामीलाई वास्तवमै एउटा नयाँ धरातलमा उभ्याएको छ। उनीहरूका अपेक्षाहरू सम्बोधन गर्न हामी अहोरात्र खट्नुपर्ने समय आएको छ। हामी अवसर र चुनौतीहरूको सम्मुखमा खडा भएका छौं। चुनौतीहरूको सामना गर्दै देशलाई लोकतन्त्र र समतामूलक समृद्धिको मार्गमा बलियोसँग उभ्याउने जिम्मेवारी यो सरकारलाई आइपरेको छ।
वर्तमान सरकारको काँधमा५ मार्च २०२६ (२०८२ फागुन २१) मा आम निर्वाचनसम्पन्न गर्ने जिम्मेवारी रहेको छ। निर्वाचनको मिति आउन अब ५ महिना भन्दा पनि कम समय बाँकी छ। साथै,नयाँ पुस्ताले हामीबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सृजना र चुस्त एवम् प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेका छन्। यी अपेक्षा अप्राप्य अपेक्षा पनि होइनन्। सार्वभौम जनताले आफूद्वारा अनुमोदित सरकारबाट सुशासनको माग गर्नु सर्वथा स्वाभाविक विषय हो।
यो सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएपनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम मानक स्थापना गर्ने गरी काम गर्न म प्रतिवद्ध छु। यही प्रतिवद्धताका साथ तपाईहरू सबैले आफ्नो कार्य सम्पादन गर्नुहुनेछ। आफ्नो कर्तव्य र इमानमा सम्झौता गर्ने कुनै पनि प्रकारको व्यवहारलाई सहन गरिने छैन।
जेन-जीको चाहनाबमोजिम गठित वर्तमान सरकारलाई नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको छ। छिमेकी राष्ट्रहरू भारत र चीन सहित सबै मित्रराष्ट्रहरू, विकास साझेदारहरू लगायत सबैको सद्भाव र समर्थन रहेको परिप्रेक्ष्यमा जेन-जीको चाहनाबमोजिम वर्तमान सरकारले आफ्नो म्यानडेट समयमै सफलतापूर्वक सम्पन्न गर्ने कुरामा म सबैलाई विश्वस्त गराउन चाहन्छु।
हाल लाखौं नेपाली युवा दिदीबहिनी र दाजुभाईहरू रोजगारी, अध्ययन, जागिर, पेशा लगायतका कामका सिलसिलामा संसारका विभिन्न मुलुकमा हुनुहुन्छ। देशमा भएको यति ठूलो परिवर्तनमा उहाँहरूको योगदान, साथर सहयोग रहेको छ, र अपेक्षा पनि उत्तिकै रहेको छ।
खाडीमुलुकहरू र मलेशियामा उल्लेख्य संख्यामा नेपालीहरूले काम गर्नुहुन्छ। उहाँहरूको हकहितको सुरक्षा एवं अधिकार र मागहरू प्रति हामी संवेदनशील हुनुपर्दछ। तत्कालका लागि नियोगहरूबाट उहाँहरूका समस्याहरू समयमै प्रभावकारी ढंगले समाधान गर्न र सेवा प्रवाह अझ चुस्तदुरूस्त र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने देखिन्छ भने दीर्घकालमा नेपालमै रोजगारीका अवसरहरू सृजना गरीसबै मिलेर यो देशको विकासमा लाग्नुको विकल्प छैन।
जेन – जीपुस्ताका मागहरू राजनीतिक, आर्थिक लगायत समग्र शासकीय प्रबन्धसँग सम्बन्धित छन् र ती दूरगामी प्रकृतिका समेत रहेका छन्। ती मागहरूपूरा गर्ने अत्यन्त ऐतिहासिक र अभूतपूर्व अवसर सृजना भएको छ।गत २०८२ भदौ २७ गते मेरो नेतृत्वमा गठित यो अन्तरिम सरकारको प्रमुख लक्ष्य भनेकै सुशासनका स्तम्भलाई सुदृढ पार्नुर आगामीआम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो।नेपालको लोकतान्त्रिक मार्गलाई मजबुत बनाउने यही नै अहिलेको अनिवार्य आवश्यकता हो।
नेपाल अहिले एक निर्णायक राजनीतिक संक्रमणको मोडमा छ। यो बेलामा परराष्ट्र मन्त्रालय लगायत अन्तर्गतका निकायहरूले खेल्नुपर्ने भूमिका ठूलो छ। यस सन्दर्भमा म खासगरी पाँचवटा महत्वपूर्ण विषयहरूमा यहाँहरूले विशेष ध्यान केन्द्रित गर्नुहुनआग्रह गर्दछु:
१.पहिलो, नेपालमाभएको यति ठूलो आन्दोलन, परिवर्तनका लागि नागरिकको चाहना र अन्तरिम सरकारको प्राथमिकताका बारेमा यहाँहरू कार्यरत र सहप्रमाणिकृत मुलुकका सरकारी निकाय लगायतका सबै सरोकारवालाहरूलाई जानकारी गराउन आवश्यक देखिएको छ।
२. दोश्रो हो ५ मार्च २०२५ मा हुने आम निर्वाचन। लोकतन्त्रको मुख्य आधार नै स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन हो। यस विषयमा वर्तमान सरकार दृढ र प्रतिबद्ध छ। यहाँहरूको कार्यक्षेत्रका सरकारी निकाय,अन्तर्राष्ट्रिय संस्था र साझेदारहरूसँग यस विषयमा जानकारी र आवश्यक समन्वय जरुरी छ। कुनै मित्रराष्ट्रबाट खास प्राविधिक लगायत अन्य सहयोग लिनुपर्ने अवस्थामा हामीले छुट्टै र छिट्टै यहाँहरूलाई जानकारी गराउने छौं। यस बाहेक निर्वाचनताका अन्तर्राष्ट्रिय प्रचलन अनुरूप गरिने निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा पनि निर्वाचन आयोगले आवश्यक तयारी शुरू गरेको छ। यी विषयमा सम्बन्धितसँग सम्पर्क र समन्वयमा बस्नुपर्ने हुन्छ।विदेशमा अस्थायी रुपमा रहेका नेपाली नागरिकहरुले निर्वाचनमा मतदान गर्न पाउने विषयमा गृहकार्य भइरहेको छ। उनीहरुलाई कसरि निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्ने बारेमा सूचना संकलन तथा सुझाबको अपेक्षा गरेका छौं।
३. तेस्रो, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष(Physical Infrastructure Reconstruction Fund)स्थापना गरेको छ। यस प्रकारको आधिकारिक कोषसञ्चालनबाट स्रोतको सही, पारदर्शी र समुचित उपयोग हुने र समानान्तर र अपारदर्शी ढङ्गको स्रोत संकलन र दुरुपयोग हुन नदिने उद्देश्य राखिएको छ।सबै नियोगहरूलाई बैंक खाता नम्बर सहितको जानकारी उपलब्ध गराइसकिएको छ। यस विषयमा नियोगहरूबाट प्रचारप्रसार आवश्यक छ।
४. चौथो, आन्दोलनपश्चात नेपालको पर्यटन क्षेत्रमा आघात परेको छ। पर्यटनको उच्च सिजनको महिना अक्टोबरमा पूरा क्षमताको ७० प्रतिशतको हाराहारी हुनुपर्ने होटल बुकिङ्गहरू हाल ३० प्रतिशतको हाराहारीमा झरेको छ। यस सम्बन्धमा हाल नेपालमा परिस्थिति सामान्य भइसकेको र पर्यटन, व्यापार, लगानी लगायतका आर्थिक गतिविधिहरू पूर्ववत रूपमा सञ्चालनमा आइसकेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन अत्यावश्यक भएको छ।
साथै, आन्दोलनका क्रममा कुनै पनि विदेशी पर्यटकलाई लक्षित नगरिएको र बरु उनीहरूलाई सहयोग गरिएको दृष्टान्तहरूबाट असहज परिस्थितिमा पनि अतिथि देवो भवः को विशिष्ट नेपाली संस्कृति प्रदर्शन भएको विषय पनि स्मरणीय छ।
५. पाँचौं, हाल लाखौं नेपाली नागरिकहरू कामका सिलसिलामा विदेशमा रहेको विषय मैले अघि नै उल्लेख गरिसकेको छु। विदेश जाने क्रम बढेसँगैत्यहाँ रहेका नेपालीहरूसँग सम्बन्धित कामहरू बढेका छन्। उनीहरूलाई आवश्यक सेवा प्रवाह प्रभावकारी बनाउनु र उनीहरूको सम्मान, मर्यादा र हकहितको सुरक्षा गर्नु अत्यावश्यक छ। हाल सयौं नेपालीहरू विदेशी जेलमा छन, सयौंको ज्यान गुमेको अवस्था छ। क्षतिपूर्तिका लागि परिवारहरू भौतारिरहेको दुःखद अवस्था रहेको छ। विदेशमा रहेका नेपालीहरू र नेपालमा रहेका उनीहरूका परिवारले मन्त्रालय र अन्तर्गतका विभागहरू र नियोगहरूबाट चुस्त, पारदर्शी र प्रभावकारी सेवा प्रवाहको अपेक्षा राखेका छन्। जेन-जी आन्दोलनपश्चात कुशल, तटस्थ, पारदर्शी, उत्तरदायी, निष्पक्ष, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह र कार्यसम्पादनमा सबैको अपेक्षा बढेको छ। हामी सार्वजनिक र कानूनी उत्तरदायित्वबाट पन्छिन मिल्ने अवस्था छैन।
विदेशमा अन्य सेवाका अतिरिक्त उद्धार, शव झिकाउने, क्षतिपूर्ति लगायतका कन्सुलर सेवाहरू स्थानीयस्तरमै सबैले घरबाटै सहजै प्रयोग गर्न सकिने गरी अनलाईन प्रणालीको विकास गरिएको परिप्रेक्षमा यसको उच्चतम प्रयोगका लागि प्रचारप्रसार र सचेतना बढाउनुपर्ने आवश्यकता छ। तसर्थ, यी लगायतका विषयको उचित सम्बोधन, समन्वय र नियमित प्रतिवेदनका लागि नियोग प्रमुखहरूले आवश्यक प्रबन्धमिलाउनुहोला।
समस्याहरू अरू पनि छन्। भिजिट भिषाको दुरूपयोगबाट उत्पन्न समस्या लगायत अन्य निकायसँग समन्वय गनुपर्ने विषयमा मन्त्रालय र विभागहरू सक्रिय छन्। रोजगारीको सिलसिलामा विदेश जाने नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विचौलियाको शोषणबाट बचाउन आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्दछ। यस विषयमा नियोगहरूबाट पनि ठोस सुझावको अपेक्षा गरिएको छ।
महामहिमज्यूहरू,
हालको हाम्रो राष्ट्रिय परिस्थितिसँगै विश्व मामिला र व्यवस्था नियाल्दा हामीले के देखेका छौं भनेआजको विश्व राजनीतिक तथा आर्थिक अस्थिरता र सम्भावनाको संगम बनेको छ। एकातिर, विभिन्न खाले भूराजनीतिक प्रतिस्पर्धा रद्वन्द्वले विश्वव्यापी अनिश्चितता सिर्जना गरिरहेका छन् भने अर्कातिर, विश्व समुदाय दिगो विकास, जलवायु न्यायर समावेशी प्रविधिको नयाँ युगमा प्रवेश गरिसकेको छ। सबै देशहरू विकास, प्रविधि, क्षमता र साधनस्रोतमा समान छैनन्। तसर्थ चुनौतीहरू त छन् नै तर नेपालजस्ता देशका लागि नयाँ अवसरहरू पनि देखिएका छन्। त्यसकारण राष्ट्र हितलाई केन्द्रमा राखी हामीले अझ प्रभावकारी कूटनीति सञ्चालन र सक्रियता प्रदर्शन गर्नु अपरिहार्य देखिन्छ।
अतिकम विकसित राष्ट्रबाट आगामी बर्ष स्तरोन्नति हुने लगायत दिगो विकासका लक्षहरू हासिल गर्न हामीले मित्रराष्ट्रहरूसँग रहिआएको सहयोगात्मक सम्बन्धलाई अझै बलियो बनाउँदै एवं बहुपक्षीय र क्षेत्रीय संगठनहरूसँगको सहकार्यलाई बढाउँदै परस्पर लाभदायी सहयोग,सहकार्य, दिगो लगानी र साझा समृद्धितर्फ अघि बढ्नुपर्ने देखिन्छ। बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न साधन र स्रोतले भ्याएसम्मका नेतृत्वदायी जिम्मेवारीहरू लिने र नेपालको सकारात्मक छवि बढाउँदै जानुपर्छ।
हालैमात्र इलाम लगायतका जिल्लाहरूमा बाढीपहिरोबाट धेरै क्षति पुगेको सन्दर्भमा बर्षेनी नेपाल जस्ता राष्ट्रले बेहोर्नुपर्ने यस प्रकारका प्राकृतिक प्रकोपहरूसँग जुध्न, जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषहरूबाट लाभ लिन र वित्त, साधनस्रोत र प्रविधिसँग जोडिएका विषय केन्द्रित (issue-based) छलफलहरूमा समन्वयात्मक र प्रभावकारी तयारी सहित सहभागी भई परिणाममा देखिने गरी नेपालको हित प्रवर्द्धन गर्नु आवश्यक छ।
त्यसैगरी, एकातिर नेपालको आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर सौम्य शक्ति (Soft Power) का आधारस्तम्भहरूको पहिचान र प्रवर्द्धनका माध्यमबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा र छवि अभिवृद्धि गर्न सार्वजनिक कूटनीति सबल बनाउँदै लैजानुपर्ने देखिन्छ। साथै, श्रम आप्रवासन र गैरआवासीय नेपालीसँग सम्बन्धित विषयहरूको कानूनी, नीतिगत र कार्यकुशलताका माध्यमबाट उचित सम्बोधन हुनु पनि जरुरी देखेको छु।
यी सबै काम प्रभावकारी र परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभागहरू र नियोगहरूको क्षमता बढाउँदै लैजानुपर्ने देखिन्छ। हाम्रा नियोगहरूलाई साधनस्रोत सम्पन्न बनाउँदै लैजानुपर्ने त छँदैछ, भएको साधनस्रोतको समुचित उपयोग गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।
अन्त्यमा, हामी इतिहासको एक महत्वपूर्ण कालखण्डमा उभिएका छौं। आ-आफ्नो भूमिका र जिम्मेवारीलाई प्रभावकारी रूपमा बहन गरेर हामी अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो। सुशासन र प्रभावकारी सेवा प्रवाहका साथसाथै आम निर्वाचनका माध्यमबाट जेन – जीपुस्ताको चाहनाबमोजिमको परिवर्तनलाई आत्मसाथ गर्ने यस ऐतिहासिक जिम्मेवारीमा हामी अवश्य सफल बन्नेछौं। यस दिशामा नियोगहरूको महत्वपूर्ण भूमिका छ। देश र जनताको सेवालाई केन्द्रभागमा राखेर पहिलेको भन्दा बढी जिम्मेवारी बोध र सेवाभावले नियोगको कार्यलाई गतिमय बनाउनुहोला।प्रधानमन्त्री र अहिले परराष्ट्र मन्त्री समेतको हैसियतले यहाँहरूलाई मेरो पूर्ण सहयोग रहिरहनेछ।
धन्यवाद।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.