काठमाडौं – ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले २२ वर्ष पूरा गरेको छ। विभिन्न मुलुकमा छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै उनीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्थापना गरिएको हो।
अग्रजहरूको अथक प्रयास र समर्पणका कारण देश–विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बनेको दाबी सङ्घले गरेको छ। स्थापनाको २२ वर्षमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गर्दै सङ्घले छरिएका नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्न सफलता हासिल गरेको उल्लेख पनि गरेको छ।
सङ्घका अनुसार हालैको असहज परिस्थितिको अन्त्यका लागि सङ्घ वैधानिक सर्वोच्चता कायम गर्दै एकता र सहकार्यका दिशामा अघि बढिरहेको छ। फरक धारमा रहेका साथीहरूलाई समेत समेट्दै बृहत् एकताको वातावरण बनाउन अधिकतम लचकता अपनाएको सङ्घले उल्लेख गरेको छ।
सङ्घमा देखिएका असहमतिहरू आपसी संवादबाट समाधानको नजिक पुगेको दाबी गर्दै अध्यक्ष डा. बद्री केसीले दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनदेखि १२औँ महाधिवेशनको सङ्घारमा आइपुग्दा सबै गैरआवासीय नेपालीको भावना ‘पुनः एकता र एकढिक्का सङ्घ निर्माण’ तर्फ केन्द्रित भएको बताए। उनका अनुसार, विभाजनका रेखाहरू मेटाउँदै बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु नै अहिलेको साझा म्यान्डेट हो।
इतिहासमै पहिलो पटक पदलोलुपताले तीन-तीन जना अध्यक्ष बने। कार्यकाल भागबन्डा गरेर पुर्वअध्यक्षकाे बिल्ला भिरे। त्यसयता सङ्घ स्थापनाकाे २२ वर्षमा अस्तित्व नै धरापमा परेको छ।
सङ्घका अनुसार, छलफलका क्रममा फरक धारमा रहेका समूहसँग गत वैशाखमा गरिएको भनिएको महाधिवेशनको संरचनालाई अभिलेखीकरण गर्ने, ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सहमतिमा ५ सदस्यीय स्टेरिङ कमिटी गठन गरी तीन महिनाभित्र नियमित १२औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्तावमा सहमति नजिकिएको छ। उक्त कमिटीमार्फत एमआइएस प्रणाली पुनः खुला गर्ने लगायतका विषयमा पनि सहमति भएको सङ्घले जनाएको छ।
तर विधानतः नमिलेका केही विषयमा अझै छलफल जारी रहेकाले, “जहिले ती विषयमा सहमति हुन्छ, त्यही क्षण हामी एकताको प्रक्रियामा अघि बढ्छौँ,” डा. केसीले बताए। उनले फरक मत राख्ने साथीहरूलाई संवादका लागि पुनः आह्वान पनि गरे।
अबको योजना १२औँ महाधिवेशनको तयारी गर्ने र गैरआवासीय नेपाली सङ्घलाई अझ सबल, समावेशी र उत्तरदायी संस्थाको रूपमा स्थापित गर्नेमा केन्द्रित रहनेछ। विवाद देखिएका केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि पारस्परिक संवादका आधारमा एकता कायम गर्ने तयारी भइरहेको छ।
स्थापनाकाे २२ वर्षमा गैरआवासीय नेपाली भने छिन्नभिन्न बनेका छन्। पदलोलुपताले सङ्घको पहिचानमाथि नै धक्का लागेको छ। इतिहासमै पहिलो पटक पदलोलुपताले तीन-तीन जना अध्यक्ष बने। कार्यकाल भागबन्डा गरेर पुर्वअध्यक्षकाे बिल्ला भिरे। त्यसयता सङ्घ स्थापनाकाे २२ वर्षमा अस्तित्व नै धरापमा परेको छ।
स्थापनाको २२ औँ वर्षगाँठको अवसरमा सङ्घले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नागरिकता सुनिश्चित गर्ने कानुनी बाटो खुलेको र यसको कार्यान्वयनका लागि निरन्तर पहल भइरहेको जनाएको छ। सङ्घले मताधिकार सुनिश्चितताका लागि सरकारसँगको संवादले पनि सकारात्मक दिशा लिएको जनाएको छ।
एनआरएन नेपाल डेभलप्मेन्ट फन्ड सञ्चालनको अन्तिम चरणमा पुगेको र त्यसका लागि सरकारले नौ वटा ऐन संशोधन गरेर सहजीकरण गरेको सङ्घले जनाएको छ। ठुला लगानीकर्ता मात्र होइन, साना तथा मझौला लगानीकर्ताहरू पनि देशमा लगानी भित्र्याउने तयारीमा छन्।
गैरआवासीय नेपालीहरूले जलविद्युत, बैङ्किङ, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी बढाउँदै लगेका छन्। आर्थिक मात्र होइन, बौद्धिक लगानीका क्षेत्रहरूमा पनि संस्थागत प्रयास भइरहेका छन्। सङ्घमार्फत दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने अभियान निरन्तर चलिरहेको छ।
नेपाल सरकार, रिटर्नी फेडरेशन नेपाल र अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँगको सहकार्यमार्फत सङ्घ श्रमिकमैत्री संस्थाका रूपमा पनि उभिएको छ। आप्रवासन र वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सङ्घ सक्रिय छ।
पशुपतिनाथ र स्वयम्भूमा विशेष पूजाआजा हुँदै विश्वभर रहेका नेपालीहरूले गैरआवासीय नेपाली दिवस धूमधामका साथ मनाइरहेका छन्। अध्यक्ष डा. बद्री केसीले भनेँ, “गैरआवासीय नेपाली सङ्घलाई आजको अवस्थामा ल्याउन प्रत्येक गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था र सञ्चार क्षेत्र सबैको योगदान छ। हामी सबैको संयुक्त प्रयासले आजको सफलता सम्भव भएको हो।”
उनले सबै गैरआवासीय नेपाली र सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भने, “हामी हरेक हातको साथप्रति कृतज्ञ छौँ। तपाईँहरूको साथ, सहयोग र विश्वासकै कारण यो यात्रा सफल भएको हो।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.