निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेस-एमालेमा महाधिवेशन र नेतृत्व सङ्कटले तनाव

कांग्रेस-एमालेमा महाधिवेशन र नेतृत्व सङ्कटले तनाव

282
SHARES

काठमाडौं — मुलुकको राजनीतिक दिशा जेनजी आन्दोलनपछि अनिश्चित बन्दै गइरहेको बेला यसअघिका सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तीव्र राजनीतिक छलफलमा जुटेका छन्। आगामी निर्वाचन र पार्टीभित्रको नेतृत्व सङ्कटको समाधानबारे दुवै दल गम्भीर तयारीमा छन्।

तीन दिनदेखि नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निरन्तर छलफल भइरहेका कारण असोज २६ गते दिनको १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछि सारिएको छ। नयाँ मितिअनुसार बैठक अब असोज २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू साथै सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कांग्रेसले जनाएको छ।

एमालेको सचिवालय बैठक भने अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ। शुक्रवार रातिसम्म बैठक लामो चलेको र अध्यक्ष ओलीले स्वास्थ्यका कारण आराम गर्नुपर्ने भएपछि बैठक स्थगित गरिएको एमालेले जनाएको छ।

एमालेको पछिल्लो सचिवालय बैठकमा अधिकांश सदस्यहरूले तत्काल अर्ली महाधिवेशन बोलाउन अध्यक्ष ओलीमाथि दबाब दिएका थिए। पार्टीभित्रको असन्तुष्टि र वैचारिक मतभेदका कारण अहिले अधिकांश सचिवालय सदस्य ओलीको विकल्प खोज्नुपर्ने पक्षमा खुलेर उभिएका दाबी गरिएको छ।

बैठकमा महासचिव शङ्कर पोखरेलले “एमालेको पक्षमा जनलहर बढेको छ, कार्यकर्तामा उत्साह छ, र अध्यक्ष ओली अझ लोकप्रिय बन्दै गइरहेका छन्” भन्ने रिपोर्टिङ गर्दा, अर्का सचिवालय सदस्यहरूले व्यङ्ग्य गर्दै “महासचिव बोल्दै हुनुहुन्छ कि ल्यापटप?” भनेर प्रश्न गरेका थिए। पार्टीभित्र समर्थन घट्दै गएपछि अध्यक्ष ओली विभिन्न रणनीतिबाट स्थिति सम्हाल्न खोज्न लागेका एमाले स्रोतले बताएको छ।

कांग्रेसमा महाधिवेशन र नेतृत्व विवाद

कांग्रेसमा पनि नेतृत्व र सङ्गठनात्मक विवाद चर्किएको छ। नेता डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न सुझाव दिएका छन्। उनका अनुसार, पार्टीको नियमित महाधिवेशन आगामी मङ्सिरभित्र सम्पन्न गर्न नेतृत्वले निर्णय लिन ढिला गर्नुहुँदैन।

कोइरालाले मङ्सिरभित्रै महाधिवेशनको मिति तय हुनेमा आफू विश्वस्त रहेको बताउँदै भने, “अब ढिला गर्नु हुँदैन, पार्टीलाई नयाँ ऊर्जाका साथ अघि बढाउने वातावरण बनाउनु जरुरी छ।”

कांग्रेसभित्र अहिले नियमित वा विशेष महाधिवेशनबारे तीव्र मतभेद छ। जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिका कारण तत्काल महाधिवेशन गर्नुपर्ने एक पक्षको माग बढ्दो छ। तर, विधि र प्रक्रियागत कारण देखाउँदै अर्को पक्षले तत्काल सम्भव नभएको बताउँदै रक्षात्मक र ढिलो गर्ने पक्षमा उभिएको छ।

शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि यही मतभेदका कारण निष्कर्षमा पुग्न सकेन। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, “बैठकमा नेतृत्व, सङ्गठन र आगामी रणनीतिबारे ठोस सहमति बन्न सकेन।”

सभापति देउवा पनि जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा कुटपिटमा परेपछि उपचार र विश्राममा रहेका थिए। उनी अब असोज २८ गते बस्ने बैठकमा सहभागी हुने तयारीमा छन्। बैठकले पार्टीको राजनीतिक एजेन्डा स्पष्ट पार्ने महतले बताए।

विद्यार्थी सङ्गठनको दबाब

नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्दै नेतृत्व परिवर्तन र सङ्गठनात्मक सुधारका मागसहित नाराबाजी गरेको छ।

उनीहरूले “हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर”, “परिमार्जन बिनाको महाधिवेशन अमान्य छ”, “नेपाली कांग्रेसको विधान परिवर्तन गर”, “कि सरकार कि पार्टी, एक व्यक्ति एक पद” भन्ने लेखिएका प्लेकार्ड बोकेका थिए।

नेविसंघले युवा नेतृत्वलाई मुख्यधारमा ल्याउन र वर्तमान नेतृत्वले पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने माग गरेको छ।

समाचार शेयर गर्नुहोस्
282
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.