निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वोच्चको निर्णय : नियमित मुद्दाको म्याद, हदम्याद नगुज्रने

सर्वोच्चको निर्णय : नियमित मुद्दाको म्याद, हदम्याद नगुज्रने

288
SHARES

काठमाडौं – जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि रोकिएको रिट दर्ता तथा सुनुवाइ कार्य असोज २८ गतेदेखि पुनः सुरु हुने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सो मितिदेखि रिट दर्ता र सुनुवाइ प्रक्रिया नियमित रूपमा अघि बढाउने निर्णय गरेको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले असोज २८ गतेदेखि निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार हालसम्म सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक प्रकृतिका मुद्दा मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा ढुङ्गामुढा, आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए। ती घटनाबाट अदालतका इजलास कक्ष, अभिलेख शाखा, फाइल कक्ष र प्रधानन्यायाधीशको कार्यकक्षसहितका भवनहरू पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

घटनापछि सर्वोच्च अदालतको प्रशासनिक र न्यायिक कार्य सम्पूर्ण रूपमा अवरुद्ध बनेको थियो। अहिले पनि अदालतले अस्थायी रूपमा टेन्ट र त्रिपालमुनि इजलास बसेर सेवा सञ्चालन गर्दै आएको छ।

पर्याप्त संरचना, उपकरण र कागजात पुनःव्यवस्थापन नभएको अवस्थामासमेत अदालतले सेवा नियमित रूपमा सुचारु गर्ने निर्णय गरेको सूचना अधिकारी पाण्डेले बताए।

उनका अनुसार सर्वोच्चको निर्णय अनुसार अब नियमित मुद्दातर्फको म्याद तथा हदम्याद नगुज्रने व्यवस्था मिलाइएको छ, जसले अदालतको प्रशासनिक निरन्तरता सुनिश्चित गर्नेछ।

पाण्डेले भने, “अदालतले कठिन परिस्थितिमा पनि न्याय प्रवाह नरोकिने सुनिश्चित गरेको छ। असोज २८ गतेदेखि सर्वसाधारणले आफ्ना रिट तथा अन्य निवेदन दर्ता गर्न सक्नेछन्।”

जेनजी आन्दोलनपछिको यो निर्णयलाई न्यायिक प्रणाली पुनर्स्थापनाको दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। सर्वोच्चले अदालत परिसरमा भएको क्षतिको मूल्याङ्कन तथा मर्मत कार्य पनि आन्तरिक रूपमा सुरु गरेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
288
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.