काठमाडौं – नेकपा एमालेले मङ्सिरको अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बहस चलिरहेका बेला सो निर्णयलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ।
एमालेको केन्द्रीय सचिवालय बैठकले मङ्सिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो। तीन दिनदेखि जारी पदाधिकारी बैठकमा तीव्र छलफलपछि सचिवालयले उक्त निर्णयलाई औपचारिकता दिएको हो।
बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिँदै भने, “मङ्सिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय भएको छ, यसका मिति र स्थान केन्द्रीय कमिटीले निर्धारण गर्नेछ।”
ज्ञवालीका अनुसार, सचिवालय बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ। बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग अघि सारेको छ। उनले भने, “संसद् पुनःस्थापनाबाट नै अहिलेको समस्याको निकास मिल्न सक्छ।”
एमालेले हालको सरकार प्रतिगमनको बाटोमा लागेको ठहर गर्दै संसद् पुनर्स्थापनाका पक्षमा राजनीतिक दलहरूबीच एकजुट आवश्यक रहेको निष्कर्ष निकालेको छ। ज्ञवालीले भने, “हामी प्रतिगमनविरुद्ध साझा निचोडमा पुगेका छौँ, अब यो विषय केन्द्रीय कमिटीमा लैजानेछौँ।”
उनका अनुसार, यही असोज २९, ३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा प्रतिनिधिसभा विघटन, निर्वाचनको वातावरण, सुरक्षा अवस्था र पार्टी महाधिवेशनसम्बन्धी एजेन्डा पेस गरिनेछ।
सरकारको तयारी र चुनावको सम्भावनाबारे बोल्दै ज्ञवालीले भने, “सरकार चुनावका लागि तयार छैन। प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएको छैन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन्, चौकीहरू पुनःस्थापना भएका छैनन्, यस्तो अवस्थामा कसरी चुनाव सम्भव हुन्छ?”
उनले आरोप लगाए, “राष्ट्रपतिले निर्वाचन सम्पन्न गर्न कार्यादेश दिए पनि सरकारले राजनीतिक दलहरूलाई निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडाइरहेको छ। सुरक्षाको जोखिमका बेला नेताहरूका सुरक्षाकर्मी फिर्ता गरिएका छन्। प्रहरीका हतियार लुट्ने र चौकी ध्वस्त पार्ने अपराधीहरू गृहमन्त्रीकै निर्देशनमा रिहा हुँदा सुरक्षा सङ्कट थपिएको छ।”
एमालेका अनुसार, दलहरूले निर्बाध रूपमा गतिविधि गर्न नसक्ने अवस्था बनाइएको छ, जसका कारण निर्वाचनमा जाने वातावरण छैन। ज्ञवालीले भने, “सरकारले पहिले विश्वसनीय आधार सृजना गरोस्, त्यसपछि मात्र चुनावको बारेमा विचार गर्न सकिन्छ। अहिले चुनाव गराउने सरकारको इच्छाशक्ति देखिँदैन।”
पार्टीभित्र नेतृत्व परिवर्तनको विषयमा सोधिएको प्रश्नमा ज्ञवालीले भने, “नेतृत्वबारे छलफल भएको हो, तर अध्यक्षको राजीनामा माग्ने अनावश्यक कुरा बाहिर आएको हो। हामी महाधिवेशनमा जाने निर्णयमा छौँ, जहाँ सम्पूर्ण नेतृत्वको मूल्याङ्कन हुनेछ।”
पार्टीभित्र लामो समयदेखि नेतृत्वमा पुस्ता परिवर्तनको माग उठ्दै आएको छ। हालका निर्णयहरूलाई ओलीको उत्तराधिकारीको खोजी सुरु भएको सङ्केतका रूपमा पनि हेरिएको छ।
ज्ञवालीले भने, “महाधिवेशन हाम्रो लोकतान्त्रिक प्रक्रिया हो। नेतृत्व र नीतिबारे अन्तिम निर्णय प्रतिनिधिहरूले गर्नेछन्।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.