काठमाडौं – पुराना राजनीतिक दलका नेताहरूप्रति नागरिकको वितृष्णा चरम अवस्थामा पुगेको बेला देशभर फैलिएको जेनजी आन्दोलनले नयाँ आशा र ऊर्जाको सन्देश दिएको छ।
पुराना दलहरूको वर्चस्व, नेताहरूको सत्ता–स्वार्थ र भ्रष्ट राजनीतिक संस्कारबाट आजित नागरिकहरू अहिले जेनजी आन्दोलनपछि ती दलहरूको पत्तासाफ हुनेमा ढुक्क देखिएका छन्। उनीहरू अब पुराना दलहरूको छाया पनि देख्न नपरोस् भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म निरन्तर आवाज उठाइरहेका छन्।
तर जनतामाझ अहिले अर्को चिन्ता पनि बढ्दै गएको छ, कतै फेरि तिनै पुराना नेताहरूको रजाइँ जेनजी आन्दोलनभित्रै त चल्ने होइन?
फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारले पुराना राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग वार्ता सुरु गरेको छ। यतिखेर सक्कली र नक्कली जेनजी छुट्याउन मुस्किल परेको छ।
जेनजीका केही प्रतिनिधिहरू आगामी निर्वाचनमा स्वतन्त्र रूपमा सहभागिताको तयारी गर्दै छन् भने केही समूहहरू फरक राजनीतिक दृष्टिकोण र रणनीतिका साथ अघि बढिरहेका छन्।
जेनजी आन्दोलनभित्रका फरकफरक समूहका फरकफरक माग र योजना छन्। कतिपय समूहहरूले नयाँ दल गठन गरेर चुनावमा जाने तयारी गरेका छन् भने केहीले पुरानै दलभित्र सुधारको सम्भावना देखिएकासँग सहकार्य गरेर अघि बढ्ने धारणा राखेका छन्।
जेनजी आन्दोलनका प्रतिनिधि संविधान प्रसाईँका अनुसार, “जेनजीकै छुट्टै राजनीतिक दल गठन गरेर चुनावमा जान नसकिए पनि पुराना दलहरूभित्रका सुधारवादी तत्त्वसँग हातेमालो गरेर अघि बढ्न सकिन्छ।”
उनले सहिद परिवारप्रति सरकारले गरेको बेवास्ताप्रति पनि कडा प्रतिक्रिया जनाउँदै भने, “१०–१५ लाख दिएर टार्ने कुरा आन्दोलनको अपमान र मजाक हो।”
जेनजी नेतृ तनुजा पाण्डेले भने नयाँ दल खोल्ने घोषणा गर्नेहरूसँगै पुराना दलभित्रका युवाहरू पनि अगाडि आउनुपर्ने बताइन्। उनको भनाइमा, “पुराना दलका सुधारवादी युवाले जेनजीको मर्म बुझेर परिवर्तनको यात्रामा सहभागी हुनुपर्छ।”
जेनजीका अर्का प्रतिनिधि रक्षा बमले भने हाल आफूहरू आन्तरिक छलफलमै रहेको जनाइन्। उनका अनुसार, “चुनावमा स्वतन्त्र हैसियतले जाने कि कुनै दलमार्फत भन्नेबारे आन्तरिक रूपमा रणनीति तय गर्ने तयारी भइरहेको छ।”
नागरिकका आँखा अहिले जेनजी आन्दोलनतर्फ केन्द्रित छन्, तर उनीहरूका मनमा पुरानै नेताको पुनरावृत्तिको डर अझै पनि बाक्लै छ।
नेतृत्व बदलिए पार्टीको गति र मति दुवै बदलिन्छ
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन प्रमुख दलका शीर्ष नेताहरूलाई तत्काल पार्टी नेतृत्वबाट बिदा गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ससम्मान बिदा गर्नुपर्ने माग गरेका हुन्।
उनले भने, “इफ, बट केही नभनी तीनै नेताहरूसँग अब बिदा भन्नुपर्ने बेला आएको छ, नेतृत्व बदलिए पार्टीको गति र मति दुवै बदलिन्छ।”
तर, थापाकै पार्टीभित्रका जेनजी पुस्ताले उनलाई समेत सवाल गरेका छन्, “महामन्त्री पद त्यागेर साधारण सदस्य भएर नयाँ पुस्तासँगै किन उभिन सकिँदैन?” उनीहरूले गगन थापा र विश्वप्रकाश शर्मालाई समेत नयाँ पुस्ताको पक्षमा साधारण सदस्य भएर काम गर्न आग्रह गरेका छन्।
थापाले भने जेनजीहरूसँग संवाद आवश्यक रहेको उल्लेख गर्दै देश भ्रष्टाचारमुक्त भएको देख्न आफूहरू पनि उतिकै आतुर रहेको बताए।
यही सन्दर्भमा कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबीचको बहस चर्किएको छ। पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी र पूर्वपदाधिकारीहरूको परामर्शमा नेता शेखर कोइराला निकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा देखिएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय छन्। जिल्ला सभापतिहरू भने केन्द्रको मात्र नेतृत्व परिवर्तनले समस्या हल नहुने धारणा राख्दै छन्।
देशमा सुशासन स्थापनाका लागि अग्रसर नयाँ पुस्ताको साझा अभियानका रूपमा रहेको जेनजी समूहले नेपाली कांग्रेस पार्टीमा आन्तरिक सुधार, विधान संशोधन र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न सार्वजनिक अपिल गरेको छ।
जेनजी समूहका युवाहरूले भदौ २३ र २४ गतेको प्रदर्शनमा सहादत प्राप्त गरेका साथीहरूलाई साँचो श्रद्धाञ्जली त्यही हुनेछ जब देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्न सकिनेछ भन्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, हरेक घर र हरेक दलभित्र जेनजी पुस्ता उपस्थित छन्, र तिनीहरू भिन्न ठाउँमा रहेर पनि एउटै साझा मुद्दामा एक र अभिन्न रहन चाहन्छन्।
कांग्रेसभित्रको जेनजी समूहले भनेको छ, “लोकतान्त्रिक प्रणालीले नागरिकको जीवनमा तब मात्र परिवर्तन ल्याउन सक्छ जब यसलाई शासनको मात्रै होइन, आत्मानुशासनको पद्धतिका रूपमा आत्मसात् गरिन्छ।”
७ वटै प्रदेश र विभिन्न समुदायका १९ जना युवाहरूले एकैसाथ कांग्रेसलाई अपिल गर्दै भनेका छन्, “मुलुकमा भएको परिवर्तनलाई गम्भीर रूपमा आत्मसात् गर्दै आफैभित्र परिवर्तनको सहज र तीव्र मार्ग रोज्न हामी कांग्रेससँग अपिल गर्दछौँ।”
उनीहरूले आगामी केन्द्रीय समितिको बैठकले विधान संशोधनको ढोका खोलेर पार्टीको सबै तहमा प्रतिस्पर्धामार्फत जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने जोड दिएका छन्। साथै, फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्दै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्ने अपेक्षा राखेका छन्। अपिलमा भनिएको छ, “सबै बदलिऔँ, सबै मिलेर देश बदलौँ।”
राप्रपामा महाधिवेशनको अल्टिमेटम
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले मङ्सिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति तोक्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका छन्। काठमाडौँमा भएको जबरा पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिर १८ गते सकिँदैछ, त्यसअघि नै महाधिवेशनको मिति तोक्नुपर्छ, नत्र कार्यसमिति अवैध हुन्छ।”
भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गर्नुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ। जबराले सङ्घीयता र गणतन्त्र खारेज गरी देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने एजेन्डालाई अघि सार्नुपर्ने पनि बताएका छन्।
राप्रपाको नियमित महाधिवेशन आउँदो मङ्सिरमा हुने तय भए पनि जबरा समूहले समयमै मिति घोषणा गर्न दबाब बढाएको छ।
यसरी पुराना दलहरूभित्रको असन्तोष र नयाँ पुस्ताको उभारबीच जेनजी आन्दोलन देशको राजनीतिक रूपान्तरणको केन्द्रबिन्दु बन्न पुगेको छ। नागरिकहरू अझै प्रतीक्षामा छन्, के यो आन्दोलनले साँच्चै पुरानो राजनीतिक संस्कारलाई विस्थापन गर्नेछ, कि फेरि पुरानै मुखहरू नयाँ नारा लिएर फर्किनेछन्?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.