काठमाडौं — नेपाली युवाको बल र देशभक्त जनताको साहसमा सम्पन्न भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी क्रान्ति पछिको सन्दर्भमा जेनजी युनाइटेडले एक वक्तव्य जारी गर्दै नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल र युवा नेता बालेन्द्र शाहप्रति विशेष धन्यवाद र कृतज्ञता प्रकट गरेको छ।
वक्तव्यमा भनिएको छ, “नेपालीहरू कुनै पनि प्रकारको दमनको प्रतिरोध गर्न सक्ने साहसी राष्ट्र हुन् भन्ने कुरा फेरि प्रमाणित भएको छ। जेनजीहरूले सुरु गरेको र आम नागरिकको साथ पाएको उक्त नागरिक क्रान्तिले नेपालको इतिहासमा एउटा बेग्लै सम्मानित स्थान ओगटेको छ। यो परिवर्तन सम्भव बनाउन सेनाको संयमित भूमिका र युवाको अग्रगामी सोच निर्णायक रह्यो।”
जेनजी युनाइटेडका केन्द्रीय संयोजक किरण विकद्वारा हस्ताक्षरित वक्तव्यमा सेनाका प्रमुख अशोक सिग्देलप्रति विशेष आभार व्यक्त गरिएको छ। वक्तव्यमा भनिएको छ,“नेपाली सेनाले जनताको इच्छा अनुरूप संविधानको पालना गर्दै जटिल समयमा उचित समन्वयकारी भूमिका खेलेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। विशेषगरी सेनापति अशोक सिग्देलज्यूले अन्योलताका बीच पनि नागरिक सर्वोच्चताको सिद्धान्त अनुरूप आफ्नो व्यक्तिगत सुझबुझ प्रयोग गरी अराजक अवस्थाको सही ह्यान्डलिङ गर्नुभएको प्रशंसायोग्य छ।”
जेनजी युनाइटेडले सेनापतिको विवेकपूर्ण निर्णयले तत्कालीन राजनीतिक अन्योल अन्त्यतर्फ अग्रसर गराएको र देशमा स्थायित्व ल्याउने आधार तयार गरेको बताएको छ। वक्तव्यमा उल्लेख छ, “उहाँको अडानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको घटना लोकतान्त्रिक मूल्य र जनभावनाको सम्मानको प्रतीक हो।”
त्यसैगरी, वक्तव्यमा युवा नेता बालेन्द्र शाहको योगदानको पनि विशेष प्रशंसा गरिएको छ। जेनजी युनाइटेडले भनेको छ,“जेनजी आन्दोलनको क्रममा उत्पन्न अन्योलताका बीच प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सही दिशानिर्देश गर्ने र आन्दोलनलाई क्रान्तिमा बदल्न बलियो अडान लिनु भएका युवा नेता श्री बालेन्द्र शाहलाई जेनजी युनाइटेड धन्यवाद ज्ञापन गर्दछ।”
सङ्गठनले शाहको नेतृत्वले देशभरका युवालाई जागृत, सङ्गठित र शान्तिपूर्ण आन्दोलनमा सहभागी गराएको उल्लेख गर्दै लेखेको छ, “उहाँको प्रेरणाले जेनजी आन्दोलनले विश्वव्यापी आकार ग्रहण गर्यो र नेपालको सन्देश विश्वका युवाहरूसम्म पुगेको छ।”
वक्तव्यमा जेनजी युनाइटेडले आन्दोलनमा सहिद भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरेको छ। साथै भनिएको छ,“त्यतिबेला जेनजी आन्दोलनले उत्पन्न गरेको, आम नागरिकमा पर्न गएको केही असहजता प्रति क्षमाप्रार्थी छौँ।”
सङ्गठनले प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि धन्यवाद व्यक्त गर्दै लेखेको छ,“आदरणीय प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको माग अनुसार सरकारको नेतृत्व लिई भ्रष्टाचार छानबिन र भदौ २३ गतेको आम नरसंहारको छानबिन गर्ने म्यान्डेट लिई मन्त्रिपरिषद् सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्दछौँ।”
अन्त्यमा, जेनजी युनाइटेडले सबै जेनजी समूह, आन्दोलनमा संलग्न नागरिक र पुराना राजनीतिक दलहरूसमेतलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ,“जेनजी आन्दोलनको म्यान्डेट अनुसार सरकारले घोषणा गरेको फागुन २१ गतेको आम चुनावलाई हामी सहर्ष स्वागत गर्दछौँ र सो चुनावमा उत्साहपूर्वक सहभागिता जनाउने प्रतिबद्धता गर्दछौँ।”
वक्तव्यको अन्त्यमा जेनजी युनाइटेडले जोड दिएको छ, “सेनाको अनुशासन, युवाको नेतृत्व र संविधानको भावना एकैसाथ अघि बढे भने मात्र नयाँ नेपाल निर्माण सम्भव छ। हामी सबै मिलेर ‘युनाइटेड जेनजी’ क्रान्ति पछिको नेपाल बनाउने अभियानमा हातेमालो गर्न तयार छौँ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.