निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विपिन जोशी जीवित नरहेको पुष्टि, हमासको आरोप इजरायलमाथि

विपिन जोशी जीवित नरहेको पुष्टि, हमासको आरोप इजरायलमाथि

सबै प्रयासहरू अन्ततः पीडादायी समाचारमा परिणत

372
SHARES

काठमाडौं – पढ्दै कमाउँदै कार्यक्रमका लागि इजरायल पुगेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेका अनुमान अन्ततः असत्य साबित भएको छ। दुई वर्षअघि प्यालेस्टिनी सशस्त्र समूह हमासले अपहरण गरी बन्धक बनाएको जोशीको मृत्यु भएको पुष्टि भएको छ। नेपालले गरेको कूटनीतिक प्रयास जोशी बन्धक बनेको स्थानसम्म पुग्न नसक्दा, उनी जीवितै फर्कने आशा टुटेको हो।

हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले सोमबार विज्ञप्ति जारी गर्दै विपिनसहित चारजना बन्धकको इजरायली हवाई आक्रमणका क्रममा मृत्यु भएको जनाएको छ। बन्धक बनाएको दुई वर्षसम्म जोशीबारे मौन रहँदै आएको हमासले युद्ध विरामपछि मात्रै मृत्यु भएको पुष्टि गर्दै दोष इजरायलमाथि लगाएको हो।

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा बन्धक बनाइएका विपिन जोशी कञ्चनपुरका बासिन्दा हुन्। उनी पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल पुगेका थिए। युद्ध सुरु भएपछिको शुरुआती आक्रमणमा उनी सम्पर्कविहीन बनेका थिए, र पछि हमासको कब्जामा परेका हुन् भन्ने पुष्टि भएको थियो।

युद्ध विरामपछि हमासले २० जना जीवित बन्धकलाई इजरायल पठाए पनि, विपिन त्यस सूचीमा थिएनन्। त्यसपछि हमासले विपिनको मृत्यु भएको जानकारी दियो।

हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा विपिन जोशीसँगै इजरायली नागरिक गाई इलोज, योसी शाराबी, र ड्यानियल पेरेट्जका शव इजरायललाई बुझाउने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इजरायलले जोशीको मृत्युबारे प्रमाण माग गरेपछि मात्र हमास शव बुझाउन राजी भएको हो।

इजरायलले पहिलो चरणमा प्राप्त गर्न लागेका चारजना मृतकको सूचीमा विपिनको नाम समावेश गरिएको छ। इजरायली सरकारले मृतकहरूप्रति सम्मान व्यक्त गर्दै शवहरू तोकिएको अस्पतालमा पठाइने जनाएको छ। केही दिन पछि मात्रै विपिनको शव नेपाल ल्याइने भनिएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले भने बन्दीहरूको रिहाइ तथा शव हस्तान्तरण प्रक्रियाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ “इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि पहिलो चरण अन्तर्गत बन्दी आदान–प्रदान भइरहेको छ। उक्त मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको लर्न एन्ड अर्न कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको थियो। तर आज प्राप्त सूचनाअनुसार, रिहा हुने सूचीमा उनको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ।”

विज्ञप्तिमा भनिएको छ, इजरायलको स्थानीय समय अनुसार बिहान ७:३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरूबीच भर्चुअल बैठक आयोजना गरेको थियो। सो बैठकमा जोशीको नाम रिहा हुने सूचीमा नरहेको पुष्टि गरिएको थियो।

परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरूको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्दै जाने भनेको छ।

नेपाल सरकारले विगत दुई वर्षमा विपिन जोशीको सकुशल उद्धारका लागि इजरायल, अमेरिका र अन्य मुलुकहरूसँग कूटनीतिक पहल गर्दै आएको थियो। तर ती सबै प्रयासहरू अन्ततः पीडादायी समाचारमा परिणत भएका छन्।

सन् २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणपछि जोशीसहित २५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। हमासको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो।

समाचार शेयर गर्नुहोस्
372
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.