काठमाडौं — पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा विरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई मुद्दा दर्ता भएको जानकारी दिएको हो।
अदालतका अनुसार, महरामाथि भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) र सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम मुद्दा दायर गरिएको छ। उनले सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको र भन्सार छलेको आरोप लागेको हो।
अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार, सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका महराविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ। सो बहसपछि उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्ने आदेश अदालतले दिनेछ।
महरामाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुनलाई विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ। सो घटनासँग सम्बन्धित प्रमाणका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुनको तस्करी प्रकरणमा संलग्नताका आधारमा महरालाई पूरक अभियोगपत्र मार्फत मात्र प्रतिवादी बनाइएको हो।
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले समेत महरालाई उक्त प्रकरणमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले भेपमा सुन ल्याउने गिरोहका प्रमुख चिनियाँ नागरिक दाओजिन वाङसँग महराको ‘कनेक्शन’ रहेको पुष्टि गर्दै, सङ्गठित तस्करीमा प्रत्यक्ष संलग्नता देखिएको ठहर गरेको थियो।
स्रोतका अनुसार, महराले तत्कालीन समयमा आफ्नो प्रभाव प्रयोग गरी विमानस्थल भन्सारमा तस्करहरूलाई सहज बनाएको र त्यसको बदलामा आर्थिक लाभ लिएको आरोप छ।
सुन तस्करीको यो ठूलो प्रकरणमा महरा बाहेक अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा रहेका छन्। पूर्वसभामुख महरा यसअघि पनि सोही प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका थिए। उनी माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वकालमा पक्राउ परेका थिए, तर पछि हाजिरी जमानीमा रिहा भएका थिए।
नेपालमा पछिल्ला वर्षहरूमा सुन तस्करीसँग जोडिएका उच्चस्तरीय राजनीतिक व्यक्तिहरूको संलग्नता विवादको केन्द्रमा आएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.