काठमाडौं — देशमा जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको एक महिना पुगेको छ। एक महिनाको अवधिमा प्रधानमन्त्री कार्कीले आफूसहित ८ जनाको मन्त्रिपरिषद् गठन गरेकी छन्।
मन्त्रिपरिषद् सानो र छरितो बनाउने उनको सार्वजनिक योजनाअनुसार अब थप ३ जना मन्त्री नियुक्त हुने तयारी भइरहेको छ। ती नयाँ मन्त्रीहरूमा जेनजी आन्दोलनका प्रतिनिधि समावेश गर्नुपर्ने माग तथा दबाब प्रधानमन्त्री कार्कीमाथि बढ्दै गएको छ।
नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीले आफूसँगै ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्। परराष्ट्र मन्त्रालय आफूसँगै राखेकी कार्कीलाई विपिन जोशीको मृत्युसम्बन्धी विषय सार्वजनिक गर्न कठिनाइ भइरहेको छ।
देशभर राजनीतिक अन्योल छाएको छ। पुराना दलहरू जुरमुराएका छन्। सत्ता र शक्ति कब्जा गर्ने प्रयत्नमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सडकमा उत्रिएका छन्। उनका समर्थकहरू ‘पञ्चायत ढलेदेखि उहिल्यैको राणाकाल जस्तो शासन ल्याउने’ तयारीमा जुटेका छन्।
पूर्वराजा र उनका निकटवर्तीहरूले राजनीतिक दलका नेताहरूलाई सत्तोसराप गर्दै वर्तमान जेनजी सरकारलाई समेत विवादमा तान्ने प्रयास गरिरहेका छन्। नेपाली नागरिकलाई विदेशीको बिल्ला भिराउने कोसिसमा पूर्वराजाका समर्थकहरू अहिले पनि श्री ५ महाराजाधिराजकै सानमानको अपेक्षामा सडक तताइरहेका छन्।
एक जना वंशजका रूपमा नेपाली नागरिकता लिएकी टाशीमाथिको विवादले नागरिकताको विषयलाई पनि पुनः राजनीतिक रङ्ग दिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन राजावादीहरूले गरेको भन्ने वक्तव्य पनि सार्वजनिक भइरहेको छ। यहाँसम्म कि वर्तमान सरकारले तिब्बती शरणार्थीलाई मन्त्री बनाउन लागेको आरोप समेत लगाइरहेका छन् पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले। देशको अस्थिरतामा खेलिरहेका ती शक्ति समूहहरू पुनः राजतन्त्रको पुनर्स्थापनाको रटान लगाइरहेका छन्।
तीन दशक सत्ता सम्हालेका राजनीतिक दलहरूले अहिलेको जेनजी सरकारसँग वर्षौँ लाग्ने कामको तत्काल परिणाम मागिरहेका छन्। जेनजी आन्दोलनपछि च्याउझैँ उम्रिएका समूहहरूको फरक–फरक मागका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ‘फलामको चिउरा चपाउनु’ सरह कठिन भइरहेको छ।
कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा आएका नामहरू पनि विवादित बनेका छन्। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमिव्यालीकी २५ वर्षीया टाशी ल्हाजोमको नाम सार्वजनिक भएसँगै राजावादी पार्टी राप्रपाका पूर्वसांसद ज्ञानेन्द्र शाहीले गरेका टिप्पणीले विवाद बढाएको छ।
लिमिव्यालीमा पुर्खादेखिको बसोबास रहेको र वंशजको नागरिकता लिएकी टाशी ल्हाजोम जेनजी आन्दोलनको प्रतिनिधि पात्र मानिन्छिन्। उनी मन्त्री बन्ने चर्चामा आएपछि शाहीले प्रमाणबिना सार्वजनिक रूपमा हावा कुरा गर्दै तिब्बती शरणार्थीको बिल्ला भिराइदिए। टाशी भारतको धर्मशालामा तिब्बती स्कुलमा अध्ययन गरेकी, विदेशी दूतावासमा अस्थायी रूपमा काम गरेकी र ‘फ्री तिब्बत’ अभियानकी कार्यकर्ता भएको भनिदिए।
तर टाशीकाे गाउँ लिमिव्याली वडा नं. ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार शाहीले झुटो र आधारहीन आरोप लगाएका हुन्। उनले भने, “राज्यको नजरमा नपरेको हुम्लाको टाढाको गाउँबाट मन्त्री बन्ने चर्चामा रहेकी टाशीमाथि यस्तो आरोप आउँदा हामी अचम्मित भएका छौँ।” तामाङका अनुसार प्रतिनिधिसभाका सांसद शाहीको बुझाइ नै गलत दिशामा गएको छ।
सामाजिक सञ्जालमा पनि शाहीको वक्तव्यलाई व्यापक आलोचना गरिएको छ। यद्यपि उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छैनन्।शाहीको आरोपलाई सामाजिक स्तरमा ‘नक्कली राष्ट्रवाद’ भनिँदै आलोचना गरिएको छ। यो आरोपले टाशीलाई भन्दा पनि शाहीकै बदनाम बनाएको देखिन्छ। वडा अध्यक्ष तामाङले भने, “शाहीले होस गुमाएर नेपाली नागरिकलाई विदेशीको बिल्ला भिराउने काम गरेका छन्।”
राजनीतिमा हावा कुराको खपत बढाउने काममा शाही एक्ला छैनन्। राजावादी, विभिन्न नामका खाओवादी, भगुवावादी, भडुवावादी समूहहरूले पनि जेनजी आन्दोलनलाई बदनाम गराउने प्रयास गरिरहेका छन्। एक जना वंशजका रूपमा नेपाली नागरिकता लिएकी टाशीमाथिको विवादले नागरिकताको विषयलाई पनि पुनः राजनीतिक रङ्ग दिएको छ। वडा अध्यक्ष तामाङ पनि अहिले काठमाडौं आइपुगेका छन् र वास्तविकता बुझाउने पहल गरिरहेका छन्।
पुराना राजनीतिक दलहरूले विभिन्न बखेडा निकालेर जेनजी आन्दोलनलाई नै बदनाम गराउने दाउ थालेका छन्। कार्की नेतृत्वको अन्तरिम सरकारले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने अभियानमा ठोस कदम चाल्न नसक्दा पुरानै दलहरूले पुनः जेनजीको नाममा रजगज गर्ने मौका खोजिरहेका छन्।
भदौ २४ को आन्दोलनपछि सडकबाट हटाइएका ती दलहरू अहिले जेनजीको मुखुण्डो लगाएर युवापुस्तालाई बदनाम गराउन सक्रिय छन्। आन्दोलनको भावना अनुरूप अन्तरिम सरकार नचल्दा जेनजी आन्दोलनभित्र असन्तुष्टि फैलिएको छ। पुराना दलका कार्यकर्ताले भने घुसपैठ गरी विभिन्न समूह गुट–उपगुट बनाएर जेनजी आन्दोलनलाई कमजोर पार्ने रणनीति बनाइरहेका छन्।
तीन दशक सत्तामा रहेर देशमा ‘लुटतन्त्र’ मच्चाउनेहरूले अहिले पनि नयाँ तरिकाले फाइदा उठाउने बाटो खोज्न थालेका छन्। जेनजी आन्दोलनभित्र पनि आपसी असमझदारी र बेमेल देखिँदैछ। यस्तो अवस्थामा पुराना दलहरू पुनः टाउको उठाइरहेका छन्।
भोटेकोशी गाउँपालिकामा जेनजी नामको कम्पनीले शेयर हत्याएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित स्थानीय समूहले ‘भोटेकोशी जेनजी ग्रुप’ नाममा भोटेकोशी पावर कम्पनीलाई १० प्रतिशत शेयर माग्दै आयोजनाको काम एक महिनासम्म अवरुद्ध गरेका थिए।
४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजनामा ‘भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड’ नामक स्थानीय कम्पनीले १० प्रतिशत शेयर निःशुल्क माग गरेको थियो। अन्ततः भोटेकोशी पावर कम्पनी र जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडबीच शेयर खरिद–विक्रीका आधारमा सहमति भएसँगै आयोजना पुनः सञ्चालनमा आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पू शेर्पाले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र) ले ‘जेनजी रेड टास्क फोर्स’ नै गठन गरेको छ। माओवादी केन्द्र निकट युवाहरूको यो टास्क फोर्सको नेतृत्व अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमल्सिनालाई दिइएको छ।
तिमल्सिनाका अनुसार, टास्क फोर्सको उद्देश्य व्यक्तिवाद र वर्षौँदेखि पार्टी कब्जा गर्ने प्रवृत्तिविरुद्ध अभियान चलाउनु हो। पार्टीभित्रको विकृति हटाउने र नेतृत्व परिवर्तनको बहसलाई संस्थागत गर्न यो समूह सक्रिय हुनेछ।
यसैगरी नेकपा एमालेले पनि युवा सङ्घलाई सक्रिय पारेर जेनजी आन्दोलनलाई कमजोर पार्ने र गलत साबित गर्ने प्रयास थालेको छ।
देश राजनीतिक सङ्क्रमणको घुम्तीमा उभिएको बेला जनताको आशा सुशासन र जबाफदेहिताको छ। तर पुरानै शक्ति केन्द्रहरू नयाँ परिवेशमा पुनः जरा गाड्ने प्रयासमा छन्। यस्तो अवस्थामा प्रधानमन्त्री कार्की नेतृत्वको सरकार निर्णायक कदम चाल्ने वा पुरानै दलहरूको दबाबमा परिने दोबाटोमा उभिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.