निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलनको ३४ दिनपछि देउवा सार्वजनिक, उपचारका लागि सिंगापुर जाने

जेनजी आन्दोलनको ३४ दिनपछि देउवा सार्वजनिक, उपचारका लागि सिंगापुर जाने

269
SHARES

काठमाडौं – निवासमै कुटाइ खाएर घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ३४ दिन पछि सार्वजनिक भएका छन्। देउवा कांग्रेस केन्द्रीय समितिको बैठक मार्फत सार्वजनिक भएका हुन्। बैठकमा सहभागी हुन मङ्गलवार देउवासँगै देउवा पत्नी आरजु राणा पार्टी कार्यालय सानेपा पुगेका हुन्।

बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले गत भदौ २३ र २४ गते भएको आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरे। भदौ २४ गतेको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा गरे। राष्ट्रपतिको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को सङ्कट रोकिएको देउवाको भनाई छ।

लिखित सम्बोधनका क्रममा सभापति देउवाले नेपालको संविधान जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन भएको पनि उल्लेख गरे।

सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोके पनि शान्ति सुरक्षाको ग्यारेन्टी नभएकाले यथास्थितिमा निर्वाचनमा जान नसकिने बताए। देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिङ्गापुर जाने तयारीमा छन्। अब बस्ने बैठकहरू कार्यवाहक सभापति खड्कालेनै सञ्चालन गर्नेछन्।

देउवाले सम्बोधन लगत्तै केन्द्रीय कार्यसमितिको बैठक भने स्थगित गरिएको छ। अर्को बैठक असोज ३० गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। देउवाले कार्यसमिति बैठकमा लिखित मन्तव्य राखे।

देउवाले राखेका लिखित मन्तव्य :


१) गत भाद्र २३गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ।

भाद्र २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू र राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर डेरा, सञ्चार गृह लगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो। यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवतः यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ।

हाम्रो पार्टीको केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका कार्यालय र करिब १ सय २५ जना नेता साथीहरूको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ। नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीवारिको गणेशमान सिंह निवास र ललितपुर बाँडेगाँऊस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत भएको छु। त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हात हतियार लुट्ने र नागरिकको निजी सम्पत्ति माथि तोडफोड लुटपाट र आगजनी गरिएको छ। यी दुवै दिनका घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु।

भदौ २४ गतेको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्ट्रपति रामचन्द्र पौडेललाई यस बैठक मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को सङ्कट रोकिएको छ।

२) जेनजीले देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनु पर्छ भन्ने मेरो धारणा छ। उहाँहरूको मुलुक प्रतिको चासो र चिन्ताको सम्बोधन गर्नै पर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ।

तर यो अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वतःस्फूर्तभन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेका छन्। यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ। यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटा भन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। देशमा सबै महत्त्वपूर्ण अङ्गहरूको मनोबल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अङ्ग वा निकायको मनोबल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नु पर्दछ।

साथीहरू,


३) विगत ८० वर्षमा नेपाली कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठुलो र मियो पार्टीका रूपमा रहँदै आएको छ।

देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त नेपाली काँग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गरेन। जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजता तर्फ पुर्‍याउने नेपाली कांग्रेसको विशेषताले नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रूपमा स्थापित गरी रह्यो।

लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आन्दोलन हुन् नेपाली काँग्रेसले ठिक राष्ट्रिय एजेन्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्‍याएको छ।

अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरि फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु। त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ। यस बैठकबाट हामीले नेपाली काँग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्न पुष्टि गर्नु पर्दछ। विद्यमान अवस्थामा मुख्यरुपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उचित मार्ग दर्शन गर्नु पर्नेछ।

साथीहरू,

४) नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो। देशमा सङ्कट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकताबद्ध हुनु पर्दछ। अहिले हाम्राबीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुचि, हित–अहित वा लाभ हानीका सबै विषय गौण हुन्। म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु- विषय वस्तुमा व्यापक छलफल गरौँ, एकमतका साथ निर्णयमा पुगौँ र ठोस ढङ्गले निर्णयको कार्यान्वयन गरौँ।

साथीहरू,

५) पार्टीको आन्तरिक जीवन, आगामी १५ औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने“घरमा सधैँ एकै जना मुली रहँदैन” पार्टीमा पनि हमेसा एकै जना सभापति रही रहँदैन। जहाँसम्म मेरो विषय छ – मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनी सकेको छु। आगामी १५ औँ महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन।

६) देशको वर्तमान विषम परिस्थितिमा नेपाली काँग्रेसले आफूलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ। संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ। जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि, स्वतन्त्र, निष्पक्ष र भय रहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्वशर्तका रूपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन। सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो । यसतर्फ सरकारको ध्यान जाओस्। सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन। यस अवस्थामा काँग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ। मुलुकमा सङ्कट आएका बेला त्यसको निकास पनि नेपाली काँग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात् गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौँ।

साथीहरू,

७) तपाईँहरूलाई थाहा नै छ म किशोर अवस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि जीवन पर्यन्त सङ्घर्ष गरेको व्यक्ति हुँ। म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन। धेरै खालका दुख, कष्ट, जेल नेल खाएर आएको व्यक्ति हुँ। सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन। मन, वचन र कर्ममा एकै उद्देश्य थियो- राष्ट्र, राष्ट्रियता र लोकतन्त्र।

मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरूको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ। मैले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको छु। देशमा सङ्कट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु, अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु। मैले सदैव साथीहरूबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु। साथीहरूका प्रति मेरो पनि त्यत्तिकै प्रेम भाव र समर्थन छ।

मैले नेपाली कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयास गरे। चाहे पार्टीभित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरूमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियान नै चलाए। म यस काममा गर्व पनि गर्न चाहन्छु।

मैले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो। त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए। तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईँहरूलाई अवगत नै छ।

सामाजिक कुरीतिको रूपमा रहेको कमैया मुक्ति, छुवाछुत मुक्त नेपालदेखि सामाजिक रूपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महसुस हुन्छ। नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ। नेपालमा भूमि माथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागु गरेको हुँ। यसकै जगमा अहिले हदबन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो।

सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११ औँ संशोधन गरेर पैतृक सम्पत्ति माथि महिला र पुरुषको हक स्थापित गरेको हुँ। दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ।

मुलुकको आर्थिक रूपान्तरणमा डिपार्चरको रूपमा रहेको मूल्य अभिवृद्धि कर लागु गरेर कर प्रणालीलाई वैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्वकालमा सुरु भएको हो। प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा काम गर्दा केही कमीकमजोरी पनि भए होला तर मैले सकभर नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरे। केन्द्रीय कार्यसमितिका निर्णयहरू सबै सर्वसम्मत भएका छन्। सरकारमा हुँदा भएका पदीय जिम्मेवारी पनि सरसल्लाहमै भएका छन्। सकभर सबै साथीहरूलाई पार्टीको निर्णय प्रक्रियामा सहभागी गराएको छु।

८) गत भाद्र २४ गते सिङ्गो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो। म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्‍यो तपाइहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो।

तपाईँहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु। मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउन सक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।

यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरू माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टीमाथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ।

म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहने छु।

हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो विश्वास छ। नेपाली काँग्रेसले आफूलाई एकताबद्ध बनाएर देश सामु उपस्थित चुनौतीको सामना गर्नु छ ।

राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको यस घडीमा पार्टी भित्र एकता कायम राख्नु परेको छ । यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ। देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरूसँग पनि वार्ता संवाद गर्नुछ।

मेरो स्वास्थ्यका कारणले म पार्टीका उप-सभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु। वहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ।

समाचार शेयर गर्नुहोस्
269
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.