काठमाडौं – इजरायलमा दुई वर्षअघि हमासको आक्रमणका क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको हत्या भएको पुष्टि भएको छ। जोशीको शव हाल इजरायलस्थित नेपाली दूतावासको समन्वयमा नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इजरायलको राष्ट्रिय शव परीक्षण केन्द्रमा गरिएको डिएनए परीक्षण अनुसार, विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिरै भएको पुष्टि भएको हो।
इजरायली अधिकारीहरूले शव पहिचान गरेपछि उक्त जानकारी अन्तर्राष्ट्रिय रेडक्रस मार्फत नेपाल सरकारलाई उपलब्ध गराइएको थियो। परीक्षणले विपिनको प्राकृतिक मृत्यु नभई हत्या भएको स्पष्ट देखाएको दूतावासले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, तेल अभिभस्थित नेपाली दूतावासले इजरायली अधिकारीहरूसँग निरन्तर समन्वय गर्दै विपिनको शव नेपाल पठाउने तयारी गरिरहेको छ। दूतावासका अनुसार, शव कहिले पठाइने भन्ने मिति अझै निश्चित नभए पनि इजरायल सरकारले नै शव पठाउने जिम्मेवारी लिएको छ।
सो विषयमा परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका महानिर्देशक ईडन बार टालसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा बार टालले विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरे।
नेपाली दूतावासका प्रतिनिधिहरूले तेल अभिभस्थित राष्ट्रिय शव परीक्षण केन्द्र पुगेर शव पहिचानको थप पुष्टि गरेका थिए। दूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
दुई वर्षअघिदेखि बेपत्ता
कञ्चनपुरका विपिन जोशी इजरायलको पढ्दै कमाउने कार्यक्रमअन्तर्गत गएका विद्यार्थीमध्येका एक हुन्। सन् २०२३ अक्टोबर ७ मा हमासको आकस्मिक आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।
विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षमा विभिन्न तहबाट प्रयासहरू जारी राखेको मन्त्रालयले जनाएको छ। तर, सन् २०२५ अक्टोबर १३ मा इजरायली सेनाले इजरायली तथा नेपाली अधिकारीहरूसँग भएको भर्चुअल बैठकमा विपिनको नाम रिहा हुने बन्दीहरूको सूचीमा नभएको र उनको अवस्था “अज्ञात” रहेको जानकारी दिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।
उनले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताए।
उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्य तथ्य पत्ता लगाइनेछ। न्याय दिलाउन, र परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा तथा सुविधा सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक पहल निरन्तर गर्नेछ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.