मन्त्री बन्न टासी र रक्षाको झगडा, बदनाम बालेन

मन्त्री बन्न टासी र रक्षाको झगडा, बदनाम बालेन

390
SHARES

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा सहभागी हुन टाशी ल्हाजोम र रक्षा बमबीच भिडन्त भएको छ। यो विवाद सामाजिक सञ्जालबाट सुरु भएर मिडियामा समेत समाचार र टिप्पणीहरूको माध्यमबाट ट्रायलको रूपमा फैलिएको छ।

टाशीको नागरिकता विवाद बाहिर आएको छ भने रक्षाको सिंहदरबार जल्दाको तस्बिर भाइरल बनेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा टासीको नाम फाइनल भइसकेको थिएन, तर उक्त मन्त्रालयमा रक्षाको पनि दाबी थियो।

प्रधानमन्त्री कार्कीसँगको छलफलमा सहभागी एक जेनजी प्रतिनिधिले पहिचानसँग भने, “अघिल्लो दिन मन्त्री बन्नेहरूको सूचीमा टाशीको नाम सार्वजनिक गरियो, भोलिपल्टै नागरिकता विवादमा तानियो।”

नागरिकता विवादमा तानिएसँगै टाशीको गाउँका वडा अध्यक्ष पाल्जोर तामाङ हाल काठमाडौं आएका छन्। उनी टाशीको नागरिकता विवादको बहानामा सिङ्गो लिमी बासिलाई शरणार्थी बनाउने काम नगर्न अनुरोध गर्दै आएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा टाशी र रक्षाको भिडन्तकै कारण मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको जेनजी प्रतिनिधिले दाबी गरेका छन्। उनका अनुसार जेनजीले सिफारिस गरेकालाई नै मन्त्री बनाउनु पर्ने दबाब प्रधानमन्त्री कार्कीलाई दिइएको छैन। तर नाम नै सिफारिस भएपछि प्रधानमन्त्री कार्कीलाई दबाब भने परेको छ।

स्रोतको दाबी अनुसार, प्रधानमन्त्री कार्की टाशीलाई मन्त्री बनाउन चाहन्छिन् भने गृह मन्त्री ओमप्रकाश अर्यालको इन्ट्रेस्ट रक्षालाई मन्त्री बनाउने छ। टाशी र रक्षाको एउटै मन्त्रालयमा दाबी राख्नुको मुख्य कारण भने समाज कल्याण परिषद् मार्फत प्राप्त हुने अनुदान र सहयोग हो, स्रोतले पहिचानसँग बताएको छ।

टाशी र रक्षाको झगडामा तेस्रो जेनजी प्रतिनिधिले प्रवेश गरेका छन्। सुदूरपश्चिमकी बादी समुदायकी उर्मिला चौधरीको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा प्रस्ताव भएको स्रोतले जनाएको छ। जेनजी प्रतिनिधिको दाबी अनुसार, वर्तमान सरकारलाई विवादमा तान्ने योजना अनुसार टाशीको नागरिकताको कुरा बाहिर ल्याइएको हो।

टाशी र रक्षा दुबैलाई उर्मिलाको नाममा सहमति जनाएर आफ्नो दाबीबाट पछि हट्न दबाब परेको छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको मुख्य कारण यही टाशी र रक्षाको झगडा भएको स्रोतले दाबी गरेको छ।

तर, महिला मन्त्री बन्ने चर्चामा रहेकी रक्षा बम भने मन्त्रिपरिषद्लाई पूर्णता दिने विशेषाधिकार प्रधानमन्त्री सुशीला कार्कीसँग रहेको बताउँछिन्। उनले आफूहरूले मन्त्रीमा दाबी गरेर मात्र मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्नु सत्य नभएको बताइन।

त्यस्तै, जेनजी आन्दोलनपछि काठमाडौं महानगरका प्रमुख बालेन शाह बदनाम भएका छन्। आन्दोलनअघि हाइहाइ पाएका बालेन, आन्दोलन पछि सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाको केन्द्र बनेका छन्। उनीमाथि अमेरिकन एजेन्टसँगको संलग्नताको आरोपसमेत फैलिएको छ।

जेनजी आन्दोलनका प्रतिनिधिहरूको विश्लेषण अनुसार, बालेनलाई आन्दोलनले घाटा पुर्‍याएको छ। जेनजीले एमाले अध्यक्ष केपी ओली बाहेक सबै दलका शीर्ष नेतृत्वसँग संवाद जारी राखेको छ।

दलहरू भदौ २४ गतेको आन्दोलनलाई आतङ्ककारीको संज्ञा दिन पाए, पुनः सत्ता र शक्तिको रजगजमा पुग्न सक्ने योजना बनाइरहेको जेनजी प्रतिनिधिहरूले जानकारी दिएका छन्।

राजनीतिक दलहरूले जेनजीका नाममा आतङ्क नै मच्चाउन खोजेको जानकारी पाएको जेनजी प्रतिनिधिहरूले बताए। दलहरू अझै सत्ता र शक्तिमा फर्कने दाउ हेरेर बसेको पाइएको उनीहरूले बताए। उनीहरूले एमाले अध्यक्ष ओलीसँग नभेटे पनि एमालेका अन्य नेताहरूलाई भने भेटेर छलफल गरेको बताए।

सरकारको अलमल, जेनजी आन्दोलन नै बदनाम हुने डर

समाचार शेयर गर्नुहोस्
390
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.