निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाली वस्तुको अमेरिकी बजार खोज्दै अर्थमन्त्री खनाल

नेपाली वस्तुको अमेरिकी बजार खोज्दै अर्थमन्त्री खनाल

256
SHARES

काठमाडौं – विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले भेटवार्तामा व्यस्त बनेका छन्। संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा अर्थमन्त्री खनालले छलफल जारी राखेका छन्।

अर्थमन्त्री खनालले “नेपाल व्यापारिक सुविधा कार्यक्रम” (एनटिपीपी) को म्याद थप गर्न आग्रह गरेका छन्। अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशका सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग(जाइका)का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए।

जापान सहयोग नियोगका प्रतिनिधिसँग बिपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ।

अर्थमन्त्री खनालले बुधवार नै अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया प्रशान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे।

सो अवसरमा नेपाल राष्ट्र बैङ्क ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैङ्कहरूको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्क प्रसाद पाण्डेयले निकालेको विज्ञप्ति लेखिएको छ। सो अवसरमा नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति थियो।

समाचार शेयर गर्नुहोस्
256
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.