काठमाडौं – प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई जगन्नाथदेवलस्थित कारागार कार्यालय सुनधारा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।
विद्युतीय चुरोट (इ–सिगरेट) मार्फत सङ्गठित रूपमा सुनको भन्सार चोरी र पैठारीमा संलग्न भएको अभियोगमा पक्राउ परेका महरा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका हुन्।
अदालतको आदेशमा भनिएको छ, “महराले चिनियाँ नागरिक दावाजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक–व्यावसायिक सरहको सम्बन्ध राख्दै, मिलेमतोमा अवैध रूपमा सुन भन्सार छली ल्याउने कार्यमा संलग्न भएको प्रमाण देखिएको छ।”
अनुसन्धान प्रतिवेदनअनुसार महराले प्रयोग गर्ने, उनका छोरा र पत्नीले प्रयोग गर्ने मोबाइल नम्बरबाट पनि पटक–पटक दावाजिन वाङसँग सम्पर्क भएको प्रमाण फेला परेको छ।
२०७९ साल फागुन २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले नियन्त्रणमा लिइएका विद्युतीय चुरोट ७३० थानको न्यूनतम मूल्य ५ लाख ११ हजार रुपैयाँ कायम गरेको थियो। उक्त सामानलाई अवैध माध्यमबाट आएको ठहर गर्दै भन्सार कार्यालयले जफत गर्ने निर्णय गरेको थियो।
अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई आरोपित कसुरमा निर्दोष देखिने अवस्था नरहेको ठहर गर्दै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो।
अभियोग अनुसार महरासँग ८ करोड ५५ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।
यसअघि पनि महरा भ्रष्टाचार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। सन् २०१९ मा संसद् सचिवालयकी एक कर्मचारीले लगाएको यौन दुर्व्यवहारको आरोपपछि उनी सभामुख पदबाट राजीनामा दिन बाध्य भएका थिए। महरालाई डिल्लीबजार कारागारमा राखिएको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.