काठमाडौं – राजनीतिक दलहरूमा जबरजस्ती नेतृत्व परिवर्तनको शृङ्खला सुरु हुने सङ्केत देखिएको छ। जेनजी आन्दोलनबाट बढारिएका दलहरूले आगामी मङ्सिर महिनामा नेतृत्व फेर्ने मिति तोकेका छन्। आन्दोलनले हल्लाएको राजनीतिक जगमा दलहरू आन्तरिक आत्मसमिक्षा र नयाँ पुस्तालाई अवसर दिने दबाबमा पुगेका छन्।
सबभन्दा आत्तिएका नेतामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परेका छन्। एक दशकअघि राज्यविरुद्ध हतियार उठाएर उदाएका प्रचण्ड अहिले आफ्नै पार्टीमा ‘कू’ गरेर सबै समिति भङ्ग गर्दै मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा जुटेका छन्। उनले महाधिवेशन आयोजक समितिको संयोजकका रूपमा आफूलाई अघि सारेका छन्।
सिंहदरबारभित्रै भएको आक्रमण, बहालवाला प्रधानमन्त्रीलाई ज्यान जोगाउन भाग्नुपर्ने अवस्था, प्रधानमन्त्रीमा नियुक्त हुने आशामा रहेका नेताहरूको योजनामा आएको उल्टो परिणाम, र लोकतन्त्रको नेतृत्व गर्ने नेपाली कांग्रेसका सभापतिसमेत निवासमै कुटपिटको सिकार हुनुपर्ने घटना,यी सबैले प्रचण्डलाई गहिरो धक्का पुर्याएको छ। सशस्त्र युद्धबाट खुलेआम राजनीतिमा प्रवेश गरेका प्रचण्डले दुई दशकपछि फेरि डर र असुरक्षाको अनुभूति गरेका छन्।
प्रधानमन्त्रीको कुर्सीमा पुग्नका लागि मरिहत्ते गर्ने नेतामध्ये प्रचण्ड पनि एक हुन्, जसको विरोध नयाँ पुस्ता (जेनजी आन्दोलन)ले गर्दै आएको थियो। आन्दोलनले प्रचण्डलाई मात्र होइन, पुराना दलहरूलाई नै आत्मसमिक्षाको अवस्थासम्म पुर्यायो।
२०६२/६३ को जनआन्दोलन एक–दुई दिनमा सकिएको थिएन, तर त्यसले देशको संरचना नै परिवर्तन गर्यो। त्यसैबेला जसरी प्रचण्डले अन्तरिम व्यवस्थापिकामा स्वतः प्रवेश पाए, अहिले पनि नागरिक सरकारमा आफ्नो भूमिका खोज्ने प्रयासमा देउवा, ओली र प्रचण्ड तीनै नेताहरू रहे।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनका प्रतिनिधिसँगको वार्तामा सबै दलका एक–एक जना सदस्य समेटेर नयाँ मन्त्रिपरिषद् गठन गर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा पनि यो कुरा सार्वजनिक रूपमा खुलाएकी छन्।
उनलाई अहिले जस्तो छटपटी र राजनीतिक असुरक्षा सायद कहिल्यै अनुभव भएको थिएन। दशकौँको सशस्त्र सङ्घर्ष र सत्ताको केन्द्रमा पुगिसकेका प्रचण्ड अब बिस्तारै ‘सुरक्षित अवतरण’ खोज्नुपर्ने अवस्थासम्म पुगेका छन्।
प्रचण्डले महाधिवेशन आयोजक समिति आफ्नै संयोजकत्वमा गठन गरेका छन्,अध्यक्ष प्रचण्डबाट संयोजक प्रचण्डमा झरेका छन्।
यद्यपि, अहिलेको राजनीतिक अवस्थाले उनलाई पुरानै हैसियतमा फर्कन कठिन बनाएको छ। सिङ्गो माओवादी पार्टीका लागि पनि २०६४ सालको जनमत दोहोर्याउनु लगभग असम्भव देखिएको छ। भदौ २३ र २४ गतेको आन्दोलनपछि आत्तिएका प्रचण्ड अहिले पार्टीभित्रै असन्तुष्ट समूहको सामना गरिरहेका छन्। मङ्सिरमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने पक्का देखिएको छ। पार्टीभित्रका नेताहरूले प्रचण्ड अब सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना न्यून रहेको अभिव्यक्ति दिएका छन्।
एक समय ‘सुप्रिमो कमान्डर’ र देशको प्रधानमन्त्रीको रूपमा उच्च सम्मान प्राप्त गरेका प्रचण्डको सान र प्रभाव अहिले घटेको छ। तर, यही अवस्थामा माओवादीले आगामी फागुन २१ गते हुने निर्वाचन सामना गर्नुपर्नेछ।
जेनजी आन्दोलनअघि ‘एक्लै भिड्छु’ भन्ने दाबी गरेका प्रचण्ड अहिले राजनीतिक सहकार्यका लागि जोडी खोज्दै हिँड्न थालेका छन्,उनको राजनीतिक यात्रा फेरि निर्णायक मोडमा पुगेको छ।
माओवादी जनयुद्धका सारथिमध्ये डा. बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका प्रायः नेताहरूले पहिले नै प्रचण्डको साथ छोडिसकेका छन्। अब बाँकी रहेका पुराना सहकर्मीहरूले पनि साथ नदिने अवस्था देखिँदा प्रचण्ड गम्भीर चिन्तामा परेका छन्।
उनलाई अहिले जस्तो छटपटी र राजनीतिक असुरक्षा सायद कहिल्यै अनुभव भएको थिएन। दशकौँको सशस्त्र सङ्घर्ष र सत्ताको केन्द्रमा पुगिसकेका प्रचण्ड अब बिस्तारै ‘सुरक्षित अवतरण’ खोज्नुपर्ने अवस्थासम्म पुगेका छन्।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले जस्तै सहजै नेतृत्व सुम्पेर ‘राजनीतिक अवकाश’ लिने पात्र वा उत्तराधिकारी भने प्रचण्डले अझै भेटेका छैनन्। यही कारण, उनको आगामी राजनीतिक दिशाबारे माओवादीभित्र नै अन्योल र असमञ्जस देखिन थालेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.