निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेतृत्व छोड्दा फुर्तीफार्ती सकिने ओलीको चिन्ता

नेतृत्व छोड्दा फुर्तीफार्ती सकिने ओलीको चिन्ता

302
SHARES

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहजै नेतृत्व हस्तान्तरण गर्ने मुडमा छैनन्। उनले महाधिवेशनको मिति तोकिएकाले प्रक्रियामा सहभागी हुने मनसाय प्रस्तुत गरेका छन्। माओवादी केन्द्रजस्तै मङ्सिर महिनामै महाधिवेशन गर्ने तयारी भइरहेको एमालेमा ओलीले ‘केन्द्रीय कमिटीले भनेमा सम्मानका साथ पद छोड्ने’ चुनौतीसमेत दिएका छन्।

जेनजी प्रदर्शनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर सैनिक ब्यारेकमा लुक्न पुगेका ओली अहिले अध्यक्ष पद छोड्न स्वेच्छाले सक्ने अवस्थामा छैनन्। उनको प्रमुख चिन्ता भनेको अहिलेसम्मको राजनीतिक सान र प्रतिष्ठा गुम्ने हो। पार्टीभित्र वफादार देखिएका केन्द्रीय सदस्यहरूलाई उनले बोल्ने पहिलो पालो दिएका छन् भने नेतृत्व परिवर्तनको आवाज उठाउने अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेलजस्ता नेताहरूलाई अन्तिममा राखेका छन्।

मौखिक प्रतिवेदन पेस गरेका ओली अहिले पनि पार्टीभित्रको सत्ता र शक्ति गुमाउन चाहँदैनन्। उनी जेनजी आन्दोलनलाई ‘चोरहरूको आन्दोलन’ को संज्ञा दिँदै व्यङ्ग्यात्मक टिप्पणी गर्छन्। हाटहुट, लाटलुट गर्ने, फेन्टा र कोकाकोला चोरेर हिँड्नेहरूले देश बनाउने होइन भन्ने उनको अभिव्यक्ति थियो। ओलीका अनुसार एमाले नै देश विकास गर्ने मुख्य शक्ति हो। उनले आफू स्वेच्छाले सरकारबाट हटेको नभई हटाइएकै दाबी दोहोर्‍याए।

गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा नाम मुछिएपछि ओलीमाथि नै छानबिनको माग उठ्दै आएको छ। उनले जेनजी आन्दोलनलाई ‘यो आन्दोलन भ्रष्टाचार नियन्त्रणका लागि होइन, मलाई बदनाम गर्नकै लागि गरिएको हो’ भन्ने तर्क अघि सारेका छन्। सुशासन कायम गर्ने नारा दिएर राज्य स्रोतबाट व्यक्तिगत लाभ हुने निर्णयहरू गर्दै जान थालेपछि आक्रोशित बनेको जेनजी आन्दोलनलाई बदनाम गराएर संसद् पुनर्स्थापना मार्फत सत्तामा फर्कने योजना उनले पार्टी पङ्क्तिमा सुनाए।

जेनजी पुस्ताले अघि सारेको आन्दोलनलाई ओलीले हिजो सत्तामा हुँदा जस्तै राज्य संयन्त्रको प्रयोग गरी दमन गर्ने शैलीमै अब पार्टी पङ्क्ति उतारेर निहुँ खोज्ने तयारी सुनाए। अनुहारमा प्रधानमन्त्री हुँदाको चमक हराए पनि, ओलीले आफ्नो राजनीतिक अस्तित्व जोगाउन जेनजी आन्दोलनलाई निरन्तर बदनाम गर्ने अभिव्यक्ति दिइरहेका छन्।

ओलीले एमालेको सरकारलाई २०५४ सालदेखि नै अनुचित ढङ्गले हटाइँदै आएको उदाहरण दिएका छन्। “नौ महिनाभन्दा बढी टिक्न दिएनन्,” ओलीले भने, “मैले दुई पटक संसद् विघटन गरेको संविधानसम्मत थियो, अहिलेको विघटन असंवैधानिक हो।” सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश दिने सुनाए उनले।

उनले जेनजी आन्दोलनको मागलाई ‘सामाजिक सञ्जाल खोल्ने’ विषयमा सीमित रहेको भन्दै यसको राजनीतिक औचित्यमाथि प्रश्न उठाउँदै आएका छन्। तर, पार्टीभित्रका नेताहरूले यो तर्कलाई अस्वीकार गर्दै ओली अब पत्यारलाग्दो कुरा गर्न छाडेको निष्कर्ष निकालेका छन्। यही कारण, पार्टीभित्रै ओलीप्रति असन्तुष्टि बढ्दै गएको छ। ओलीले भने “फेसबुकमा लेखिएको आधारमा म पद छोड्दिन, तर केन्द्रीय कमिटीले निर्णय गरे म सम्मानपूर्वक बिदा हुनेछु।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी नेतृत्व छोडेको भोलिपल्ट ओलीले पहिलो पटक पार्टी केन्द्रीय कमिटीले निर्णय गरे खुशीसाथ पद त्याग गर्न तयार रहेको बताएका हुन्। उनले पार्टीको केन्द्रीय कमिटी र मङ्सिरमा तोकिएको महाधिवेशनको निर्णयअनुसार अघि बढ्ने बताए।

आफू र एमालेलाई मन नपराउनेहरूले नै जेनजी आन्दोलनको मौका छोपेर पार्टी कार्यालय र निजी घरमा आगजनी गरेको दाबी गर्दै ओलीले आफूलाई ‘कसैले बोक्न नपर्ने’ व्यङ्ग्यात्मक जवाफ दिए।

पार्टी नेतृत्व छोड्न दबाब बढेपछि ओलीले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाललगायतका नेतालाई ‘घर फर्कन’ आग्रह गरेका छन्। “अर्काको पिँढीमा बास बसाैं भनेर झाेलीतुम्बा बाेकेर हिड्दै छन्,” भन्दै उनले ती नेताहरूलाई घर फर्कन आग्रह पनि गरे।

त्यसका लागि आफू बाधक भएको प्रायश्चित भने ओलीले गरेका छैनन्। उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ।

यसअघि चितवनमा भएको महाधिवेशनमा भिम रावललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका थिए। तर, पछि उनीसँग प्रतिस्पर्धा गरेका रावललाई ओलीले पार्टीबाटै निष्कासन गरेका थिए।

राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन–तीन मिनेटका दरले धारणा राखेपछि शुक्रवार ओलीले जवाफ दिने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
302
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.