काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् ११४६ को शुभारम्भसँगै देशमा असमानता अन्त्य, स्वाभिमानपूर्ण जीवन र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित ‘शंखधर साख्वाः प्रतिमामा माल्यार्पण तथा सम्मान समारोह’मा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा भएको युवाको बलिदानप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिन्।
उनले भनिन्, “२०८२ भदौ २३ र २४ गते देशभर भ्रष्टाचारविरुद्ध उठेको जेनजी आन्दोलनमा कलिला युवाहरूको अनाहकमा ज्यान गएको र सयौँ घाइते भएका घटनाले मलाई अत्यन्त दुःखित बनाएको छ। म उनीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
उनले त्यस आन्दोलनको बलमा बनेको नागरिक सरकारले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको उनले बताइन।
सरकारले निष्पक्ष निर्वाचन गराउने विषयमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ रहने विश्वास व्यक्त गर्दै उनले नेपाल संवतको आधिकारिक कार्यान्वयनमा पनि ठोस कदम चालिने बताइन्।
“सरकारी कार्यालयमा नेपाल संवत् प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित मन्त्रालयमार्फत निर्देशन दिनेछु,” उनले भनिन्, “नेपाल राष्ट्र बैङ्कद्वारा निष्कासन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्न सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाइनेछ।”
समारोहमा शंखधर साख्वाःको ऐतिहासिक योगदान स्मरण गर्दै प्रधानमन्त्री कार्कीले नेपालको मौलिक इतिहास, राष्ट्रियता र सामाजिक एकता जोगाउन सबैले सामूहिक रूपमा काम गर्नुपर्ने बताइन्। “शंखधर साख्वाःले देखाउनुभएको मार्ग समाजमा स्वाभिमान, समानता र स्वतन्त्रता स्थापित गर्ने प्रेरणा हो,” उनले भनिन्, “व्यक्तिगत वा दलगत हितभन्दा माथि उठी राष्ट्रिय हितमा एक भएर लागे मात्र राष्ट्रिय अभीष्ट पूरा हुन्छ।”
प्रधानमन्त्री कार्कीले नयाँ वर्ष नेपाल संवत् ११४६ को अवसरमा सबैमा “न्हू दंया भिंतुना” भन्दै शुभकामना व्यक्त गरिन्। उनले नयाँ वर्षले नेपाली समाजमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिका नयाँ आयाम थपोस् भन्ने कामना गरिन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.